हाडजोर्नी समस्या विकराल बन्दै
ममता थापा ्र काठमाडौं
समय अनुकूल फेरिएको कार्यालयमा टेबुलमा बसेर गर्ने कार्यशैलीले अधिकांशमा विभिन्न शारीरिक समस्याहरू बढ्दै गएको छ। कामको कारणले हुने मांशपेशीकोे समस्या रोग होइन तर यो संसारकै सबैभन्दा बढी आर्थिक भार पार्ने समस्या बन्दै गएको बताउँछन्, वरिष्ठ न्युरो फिजियो थेरापिस्ट डा.तेञ्जिङ नोर्बु लामा (पिटी)। विश्वव्यापी अध्ययनहरू हेर्दा पनि कार्यालयमा अनुपस्थित हुनुको कारण कम्मर र गर्दन दुखाइ सबैभन्दा बढी भएको उनले पुष्ट्याए।
उनका अनुसार विश्वव्यापी तथ्यांकले सबैभन्दा बढी खर्च यस्तै शारीरिक समस्यामा भएको देखिन्छ। करिब १० वर्षको अनुभवमा वरिष्ठ न्युरो फिजियो थेरापिस्ट डा. लामा क्लिनिकको ओपीडीमा हाडजोर्नीको समस्या लिएर आउनेमध्ये ७० प्रतिशत जति कम्मर÷ढाडको दुखाइ (ब्याकपेन) र गर्दन दुखाइ (नेक पेन) समस्याले आउने गरेको जानकारी दिन्छन्।
‘अधिकांश बिरामीहरू युवा र प्रौढ उमेर समूहको आउने गरेका छन्। यो भनेको धेरैजसो व्यापार, व्यवसाय र कार्यालयमा काम गर्नेहरू छन्। उनीहरूको जीवनशैली कार्यालयमा डेस्कमा काम गर्ने छ। उनीहरू डेस्कमा कम्प्युटर, ल्यापटप र मोबाइलमा धेरै समय एउटै ठाउँमा बसेर काम गने प्रवृत्तिले जीवनशैली झन् व्यस्त हुँदै गएका छन्। बैंकरहरू, लेखा, डिजिटल काम गर्ने र मिडियाकर्मीलगायत एकै ठाउँमा बसेर घन्टौं काम गर्नुपर्ने हुन्छ। उनीहरूमा कम्मर र गर्दन दुखाइको समस्या बढी देखिने र उपचारमा आउनेको संख्या बढ्न थालेको छ’, उनी भन्छन्, ‘मानिसको शरीर डाइनामिक हुन्छ। हामी दुईखुट्टे प्राणी भएकाले चलिराख्नु पर्ने हुन्छ। हामो शरीरको बनावटले गर्दा पनि एकै मुद्रा (पोजिसन) मा धेरैबेर बस्न सकिँदैन। त्यसका लागि कम्मरको मांशपेशीहरू, जोर्नीहरू र गर्दन पनि चलिराख्नु पर्ने हुन्छ। यो भनेको हाम्रो शरीरलाई पनि केही न केही ब्रेक चाहिन्छ। एउटा व्यक्तिले एक स्थानमा बसेर काम गर्दा ४५ मिनेटको अन्तरमा एकछिन् हिँड्डुल गरेर जीउ तन्याकतुनुक गर्नुपर्छ। तर, मिनेट–मिनेटको महत्व भएकाले एकनासै कुर्सीमा बसेर काम गर्ने प्रवृत्ति छ।
यसो हुँदा शरीरमा दुखाइ सुरु हुन्छ। कुनै केशमा हाडजोर्नीको बनावट कमजोर छ वा क्याल्सियम, भिटामीन डी जस्ता पोषणको कमी छ भने जोर्नी दुखाइ सुरु हुन्छ। यदि मासुहरू लचकदार (फ्लेक्जिवल) र स्वस्थ छैन भने मासुको दुखाइ सुरु हुन्छ।’ प्रायः जोर्नी र मासुको दुखाइ समानान्तर रूपमा आइरहने उनी बताउँछन्।
हिजोका मान्छे प्रकृतिसँग बढी नजिक थिए तर अहिलेको प्रविधिसँग मात्रै जोडिँदा शारीरिक समस्या निम्तिएकाले यसमा सुधार गर्नु जरुरी छ ।
डा. तेञ्जिङ नोर्बु लामा, वरिष्ठ न्युरो फिजियो थेरापिस्ट (पिटी)
ढाड (ब्याकपेन) : कम्मरले जिउको पूरै भागलाई लिएको हुन्छ। एउटै पोजिसनमा बस्दाबस्दै थिचिएर खिइँदै, च्याँतिँदै जान्छ। मेरुदण्डको हरेक हड्डीको बीचमा ग्याप हुन्छ। त्यो ग्यापमा कमलो बनावट हुन्छ। जुन चलायमान नभएपछि विस्तारै च्यातिँदै जाने र सुुरुमा ढाड दुख्ने, त्यसपछि विस्तारै नसा च्यापिएर कम्मरभन्दा तल र तीघ्राभन्दा तल दुख्छ। नसा च्यापिएपछि खुट्टा झमझमाउने, पोल्ने, लाटो हुने समस्या बढ्दै जान्छ।
काठमाडौंको त्रिपुरेश्वरस्थित काइरोप्राक्टिक एन्ड म्यानुअल थेरापी सेन्टर प्रालिका सञ्चालक तथा अध्यक्षसमेत रहेका डा.लामाले हालसम्म विभिन्न शारीरिक समस्या भएकालाई विशेष उपचार सेवाहरू उपलब्ध गराउँदै आएका छन्। गर्दन तथा ढाडको नशा च्यापिएको, मुख, मेरुदण्ड बांगिएको, विभिन्न बाथहरूको उपचार, पक्षघात तथा प्यारालाइसिस भएको, गर्दन, घुँडा, पाता पैतालाको दुखाइ भएको, बाल मस्तिष्क पक्षघात, हात खुट्टा झमझमाउने, पोल्ने र कमजोर हुने समस्या भएको, मेरुदण्डमा चोट लागेको, हाडजोर्नीहरू र नशाको अपरेसनपछि पनि निको नभएको रोगको सफल उपचार र हाडजोर्नी खिइएको, स्नायुसम्बन्धी समस्याहरू जस्तै पार्किन्सन, टाउकोमा चोटलगायतको उपचार उनले गर्दै आएका छन्।
ग्याजेट प्रयोगले बल्झिदै शारीरिक समस्या
अहिले बालबालिका खाना खाने बेलामा, पढ्ने बेलामा पनि मोबाइलबाटै गर्ने जस्ता बढी ग्याजेटको प्रयोगले बाहिर खेलकुदको क्रियाकलाप नहुँदा शारीरिक समस्या देखिन थालेको छ। यसो हुँदा अधिकांश बालबालिकाको शारीरिक विकास नभएको बताउँछन् डा. लामा। ‘बढी मोबाइल जस्ता ग्याजेट प्रयोगले बालबालिकाको उचाइ त बढ्छ। दिमाग पनि तेजिलो हुन्छ तर उनीहरूको जुन खालको बलियो शारीरिक बनावट हुनुपर्ने हो, त्यसो हँुदैन। जसले गर्दा उनीहरूलाई एकछिन काम गर्दा पनि
थकाइ लाग्छ।
यस्ता खाले समस्याले ८–९ वर्षको बच्चादेखि १६–१७ उमेर समूहको पनि उपचारमा आउने गरेको उनले जनाए। उनकाअनुसार सो उमेर समूहका ढाड र गर्दन दुखाइदेखि ढाडै बांगो हुने देखिएको छ। धेरै गृहकार्य दिँदा शारीरिक अभ्यास नहुँदा पनि यस्ताखाले समस्या देखा परेको उनको भनाइ छ। किताबको धेरै भारी बोकाउँदा, धेरै लेख्दा हात बाउँडिने समस्या पनि देखिएको छ।
हाडजोर्नी समस्या समाधानका उपाय
हाडजोर्नी समस्याबाट मुक्ति पाउन खानपान र जीवनशैली परिवर्तन जरुरी भएको डा. लामा सुझाव दिन्छन्। खानपान र बालबालिकालाई पढाइसँगै हिँड्डुल गर्ने बानी बसाल्नु जरुरी छ। हिजोका मान्छे प्रकृतिसँग बढी नजिक थिए तर अहिलेको प्रविधिसँग मात्रै जोडिँदा शारीरिक समस्या निम्तिएकाले यसमा सुधार गर्न जरुरी भएको उनी बताउँछन्।
‘आजकल हरेक पर्वमा केक काटेर विभिन्न जंक फुड खाएर मनाउने प्रचलन बढेको छ। यो कम गर्नुपर्यो। अहिले बच्चाहरूलाई खानपान र वातावरणका कारण धेरेमा थाइराइडको समस्या पनि छ। यसर्थ मिसावटहरूबाट टाढा हुनुपर्छ। यस्ता खान्कीले मांशपेशी, जोर्नीको भित्रि बनावटलाई असर गर्छ। जसले जोर्नीछिटो मक्किएर जाने, मासुहरू कमजोर हुने र धेरै शारीरिक दुखाइ हुने, निन्द्रा राम्रोसँग नलाग्ने, थकान धेरै हुने खालका समस्याहरू बढी आउँछ’, उनले भने।
कुन शारीरिक समस्यामा कस्तो थेरापी गर्ने ?
कार्यालयमा काम गर्नेहरूले बेलाबेलामा सर्ट ब्रेक लिनु जरुरी छ। कर्मचारीहरूलाई नियमित शारीरिक व्यायाम गर्ने बानिको विकास गराउनु आवश्यक भएकोमा उनले ध्यानाकर्षण गरे। ‘कर्मचारीलाई शारीरिक दुखाइ कम भए बिदा बस्ने समय कम हुन्छ र निरन्तर कामले परिणाम राम्रो ल्याउँछ। जस्तैः भारतको आईटी कम्पनीहरूमा अनिवार्य ब्याक स्पोर्टस् राखेको हुन्छ। कुनै अफिसले योगा, मेडिटेसन अनिवार्य गरेका हुन्छन्।
यसो गर्दा संस्थालाई पनि लाभ हुन्छ’, उनी भन्छन्, ‘सामान्यतया ३० वर्षपछि बुढेसकाल लाग्न सुरु हुन्छ। यो उमेरपछि छालाको स्वरूप परिवर्तन हुँदै जाने, कपालमा बदलाव, काम गर्ने क्षमता कम हुँदै जान्छ।’ यसकारण ताजगी राख्नका लागि मानवीय शरीरलाई अतिरिक्त भिटामिन, मिनरल, भिटामिन डी जस्ता सप्लिमेन्टदेखि अतिरिक्त व्यायाम आवश्यक पर्नेमा उनले जोड दिए। दिमाग र शरीरलाई स्वस्थ राख्न योगा, सर्ट ब्रेक व्यायाम जरुरी रहेको उनले बताए।
उपचारमा विशेष ३ पद्धति
हाडजोर्नी समस्याले आएका बिरामीलाई विशेषगरी ३ पद्धतिबाट उपचार गरिन्छ। फिजियो थेरापी (यसभित्र म्यानुअल, मस्कुलर स्कोलेटर र न्युरो थेरापी), काइरोप्राक्टिक थेरापीलगायत पर्छन्। यससँगै खानपान, जीवनशैली र आवश्यक सप्लिमेन्ट प्रयोग जस्ता विधि अपनाउन उनले सुझाव दिए। सडक दुर्घटनाअन्तर्गत धेरै बाइक दुर्घटना गर्नेहरू लामो समयसम्म उपचार गर्न आउने गरेको उनले बताए। यस क्रममा सल्यक्रिया, औषधि सेवन र फिजियोथेरापीको कम्बिनेसनले उपचार धेरै सफल भएको उनले बताए।
फेरिएको जीवनशैली र खानपानलाई मध्यनजर गरी स्वास्थ्यलाई ध्यान दिन डा. लामा अनुरोध गर्छन्। ‘सुगर, प्रेसर, क्यान्सर मात्रै रोग होइन, हाड, गर्दन, जोर्नी तथा मांशपेशी समस्या संसार भर नै विकराल भएकाले उच्च सजगता अपनाउन जरुरी छ,’ उनले सुझाव दिए।
प्रतिक्रिया दिनुहोस !