मधेश प्रादेशिक बायोमेडिकल इकाई स्थापना
जनकपुरधाम : मधेशमा प्रादेशिक बायोमेडिकल व्यवस्थापन इकाई स्थापना भएको छ। जनकपुरधामस्थित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा शुक्रबार इकाई स्थापना गरिएको हो।
मधेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंहले इकाईको उद्घाटन गरे। बायोमेडिकल व्यवस्थापना इकाईको उदघाटन गर्दै मन्त्री सिंहले स्वास्थ्य सेवा प्रणालीलाई गुणस्तरीय बनाउन बायोमेडिकल व्यवस्थापना इकाईले ठूलो सहयोग पुर्याउने बताए। प्रादेशिक बायोमेडिकल व्यवस्थापन इकाईले स्वास्थ्य सेवा प्रणालीलाई थप सुदृढ र प्रभावकारी बनाउनेमा मन्त्री सिंहले जोड दिए।
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र जनकपुरधामसँग सहकार्य गरी आर्थिक तथा प्राविधिक सहयोग पुर्याउने गरी निक साइमन्स इन्स्टिच्युट, बनेपाले मधेश प्रदेशमा प्रादेशिक बायोमेडिकल व्यवस्थापन इकाई स्थापना गरेको हो।
यो इकाईले प्रदेशभित्र रहेका स्वास्थ्य संस्थाहरुमा प्रयोग गरिने बायोमेडिकल उपकरणहरुको मर्मत, सम्भार र जाँच गरी मर्मत चक्रलाई सुनिश्चित गर्नुका साथै बायोमेडिकल उपकरणहरुको उचित व्यवस्थापन गरिने साइमन्स संस्थानका तालिम व्यवस्थापक डा. अर्पणा बिसि कलौनीले बताइन्।
प्रतिक्रिया दिनुहोस !