दाजुको उमेर १६, बहिनीको २२ !
सिरहा : जटियाही गाउँकी मुनेसा खातुन पढेलेखेकी छैनन्। उनका २ छोरा र २ छोरी छन्। चारै जना छोराछोरीको जन्मदर्ता एकैपटक बनाउन उनी गाविस पुगिन्। श्रीमान् मोहम्मद इस्माइल र आफ्नो नागरिकतासहित अन्य कागजातको प्रतिलिपि पेस गरिन्। तत्कालीन गाविस पडरिया थारूटोल (हाल लहान नगरपालिका–१२)का सचिव (पञ्जीकरण अधिकारी)लाई छोराछोरीको जन्मदर्ता बनाइदिन आग्रह गरिन्।
सचिव लक्ष्मी घिमिरेले एकै मितिमा उनका चारै छोराछोरीको जन्मदर्ता गरिन्। तर, जेठो छोरा मोहम्मद ईशाकको जन्मदर्तामा जन्ममिति सही नलेखेपछि उनीहरूको परिवार १७ वर्षदेखि झमेलामा फसेका छन्। ईशाकको जन्म २०५६ पुस १५ गते भएकोमा सचिवले ०६६ पुस १५ गते जन्मदर्ता लेखेर मुनेसाको हातमा थमाइन्।
उनको छोरीहरू रहनाको जन्ममिति २०६० कात्तिक १९ गते, दुखशानाको २०६२ कात्तिक २६ र कान्छो छोरा इलियासमा २०६५ कात्तिक १७ गते जन्मदर्तामा जन्ममिति लेखेका छन्। सबैको जन्मदर्ता एकै मिति २०६६ पुस १९ गते गाविसबाट लिएका छन्। पति इस्माइल रोजगारीको क्रममा भारत गएका थिए। उनीहरूको जग्गा जमिन थिएन। गाउँ ब्लकको थोरै जग्गामा बसोबासका लागि घर मात्रै थियो। छिमेकीसँग झगडा बढ्न थालेपछि बसोबास गरेको घर पनि नजिकका आफन्तलाई सुम्पेर गाउँ छोडेर इस्माइलको मामा गाउँ साविक गाविस वस्तीपुर बसाइँ सरिन्। यहाँ छोराछोरीलाई विद्यालयमा पढ्न नामांकन गराउन जाँदा उमेरमा हेरफेर भएको थाहा पाइन्। ईशाकको जन्ममिति जन्मदर्तामा गलत लेखिएपछि उनी विद्यालय पढ्न पाएनन्। ‘मेरो पति केही वर्षपछि भारतबाट फर्केर आउँदा त्यही बेलादेखि छोराको जन्मदर्ता सच्याउन गाविस धाउन थाले तर, जन्मदर्ता बनाउने सचिव सरुवा भएर अन्य ठाउँ पुगिसकेका थिए। अर्को सचिवले सच्याउन नै मानेनन्,’ उनले भनिन्, ‘आफूहरूलाई कानुन बारेमा त्यति थाहा छैन। केही हुँदैन भनेर सच्याउन नै छोडे। अहिले दिनदिनै समस्यामा परेका छौं।’
पछि पडरिया थारूटोल र वस्तीपुर लहान नगरपालिकामा गाभिए। अहिले पडरिया लहान नगरपालिकाको वडा ११ र १२ भएको छ। वस्तीपुर १४ नम्बर वडा भएको छ। नगरपालिकाको वडा भएपछि पनि पटक–पटक धाउँदा पनि जन्मदर्ता नसच्याइ दिएको मुनेसाले बताइन््। गतवर्ष उनीहरू जटियाहीबाट बसाइँसराइ गरेर वडा १४ वस्तीपुर आए। त्यहीँ २ कठ्ठा जग्गा किनेर घर बनाए। ३ वर्षअघि छोरा इशाकको बिहे गरे। एक वर्ष पहिले ईशाकले पनि छोरा पाएका छन्। तर, इशाककै जन्मदर्तामा उमेर बिग्रेपछि नागरिकता बनाउन पाएका छैनन्। बच्चाको जन्मदर्ता पनि बनाउन पाएका छैनन्। ‘आफूले त दुःख भोगेँ भोगेँ तर, अहिले मेरो बच्चाले समेत दुःख भोग्दैछ,’ ईशाकले भने, ‘छोराको विहे दर्ता गर्न पाएको छैन। छोराको जन्मदर्ता नहुँदा बालपोषण भत्ता पाइएको छैन। चुनावमा मतदान गर्न पाउने त कुरै भएन।’
जन्मदर्तामा उमेर नपुगेका कारण नागरिकता, राहदानी बनाउन नपाएको उनले सुनाए। बीना नागरिकता रोजगारी गर्न पनि कठिनाइ भोग्नुपरेको उनले बताए। उनीहरूको जन्मदर्ता हस्तलिखित छ। अनलाइनमा दर्ता भएको छैन। तर, पनि अहिले वडाका सचिवले सच्याउन मानेका छैनन्। ‘नेता गुहारेँ, नगरपालिका गएँ, इलाका प्रशासन गएँ कतैबाट जन्मदर्ता सच्चिएन अब के गर्नु,’ इशाकले भने, ‘बहिनीहरूको बिहे गर्ने उमेर पुगिसक्यो। विहे गर्दा झन् उनीहरू पनि समस्यामा पर्ने भनेर सताइरहेको छ। आफूहरूको दुःख कुन सरकारले बुझिदिने खै ?’
पहिले भइसकेको जन्मदर्तामा जन्ममिति सच्याउन नमिल्ने लहान नगरपालिका–१४ वडासचिव पशुपति चौधरीले बताए। ‘पहिलेको सचिवले जन्मदर्ता बनाएको छ। त्यही सचिवले मात्रै सच्याउन मिल्छ। अहिले नयाँ सिस्टममा जन्मदर्ता बन्छ। कम्प्युटरमा अनलाइन गर्नुपर्छ। त्यसमा केही गर्न सक्दैनौँ,’ उनले भने, ‘माथिल्लो निकायबाट कुनै लिखित निर्देशन-आदेश भए मात्र आफूले सच्याउछौं।’ पहिलेको पञ्जीकरण अधिकारीको गल्तीले उनीहरूको परिवार दुःख पाएको उनको भनाइ छ। जानकारका अनुसार जन्मदर्र्तामा भएको त्रुटी सच्याउने अधिकार वडासचिवसँग हुन्छ तर, कानुनी झमेलामा फसिन्छ कि भन्ने डरले उनीहरू सच्याउन मान्दैनन्।
प्रतिक्रिया दिनुहोस !