पोखरियामा बन्दै ‘मधेस माटो पार्क’
वीरगन्ज : पर्साको पोखरिया नगरपालिका–९ मा ‘मधेस माटो पार्क’ निर्माणका लागि शनिबार शिलान्यास गरिएको छ। शनिबार जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउत र मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संयुक्त रूपमा उक्त पार्कको शिलान्यास गरेका हुन्।
मधेस प्रदेश सरकारले उक्त पार्कमा हाल बाउन्ड्री वाल (पर्खाल) र मुख्य प्रवेशद्वार निर्माणका लागि चालु आर्थिक वर्षको बजेटमा १ करोड रूपैयाँ बिनियोजन गरिसकेको छ।
पोखरियामा निमर्माण गर्न थालिएको ‘मधेस माटो पार्क’लाई मधेसको एकता, पहिचान र गौरवको प्रतीकका रूपमा विकास गर्ने लक्ष्य लिएको अध्यक्ष राउतले बताए।उनका अनुसार, उक्त पार्कमा मधेस प्रदेशका १३६ वटै पालिकाका ऐतिहासिक, सांस्कृतिक र पहिचान झल्काउने धार्मिक एंव ऐतिहासिक स्थलबाट संकलन गरिएको माटो स्थापना गरिनेछ। अध्यक्ष राउतले केही वर्षअघि सञ्चालन गरेको ‘माटो यात्रा’ अभियानअन्तर्गत मधेस प्रदेशका विभिन्न ठाउँको माटो संकलन गरेका थिए। त्यही माटोलाई पार्कमा स्थापित गरिने बताइएको छ।
शिलान्यास कार्यक्रममा मधेस प्रदेशका वन तथा वातावरण मन्त्री त्रिभुवन साह, जनमत पार्टीकासंगठन विभाग प्रमुख डा. जयकान्त राउत, पोखरिया नगगरपालिकाका मेयर प्रदुमन चौहान, पूर्वसांसद हरिनाारायण रौनियार, डिभिजन वन कार्यालय पर्साका प्रमुख मन्जुर अहमद लगायतकाको पनि उपस्थिति थियो।
प्रतिक्रिया दिनुहोस !