असुरक्षित बन्दै कर्णालीका सडक :एक वर्षमा १ हजार १९७ सवारी दुर्घटना, १३५ जनाको मृत्यु
वीरेन्द्रनगर : कर्णाली प्रदेशमा आर्थिक वर्ष २०८२/०८३ मा सडक दुर्घटनाको संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा २३ प्रतिशतले वृद्धि भएको छ । दुर्घटनाका कारण हुने मृत्युदरमा भने ३ प्रतिशतले कमी आएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख एसपी मुकुन्दप्रसाद रिजालले बताए ।
उनले गत आर्थिक वर्षको कार्यप्रगति सार्वजनिक गर्दै आव २०८२/०८३ मा प्रदेशभर १ हजार १ सय ९७ वटा सवारी दुर्घटना भएको बताए । ती दुर्घटनामा १ सय ३५ जनाको मृत्यु भएको छ भने २ हजार ३ सय ७ जना घाइते भएका छन् । अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा १ हजार ८६ वटा दुर्घटनामा १ सय ३९ जनाको मृत्यु र २ हजार ८ जना घाइते भएका थिए ।
कार्यालयका प्रमुख रिजालका अनुसार दुर्घटनाको संख्या बढ्नुका पछाडि सवारी साधनको तीव्र वृद्धि, ग्रामीण तथा जोखिमयुक्त सडकमा सवारी पहुँच विस्तार, ट्राफिक जनशक्तिको अभाव, सडक सुरक्षा पूर्वाधारको कमी तथा प्राविधिक रूपमा कमजोर सवारी साधन प्रमुख कारण रहेका छन् । गत आर्थिक वर्षको तुलनामा प्रदेशमा सवारी दर्ता करिब १६ दशमलव २७ प्रतिशतले बढेकाले पनि दुर्घटनाको जोखिम बढेको उनले बताए ।
प्रहरीका अनुसार दुर्घटनाको कारण विश्लेषण गर्दा तीव्र गति सबैभन्दा ठूलो चुनौतीका रूपमा देखिएको छ । कुल दुर्घटनामध्ये करिब ६२ प्रतिशत दुर्घटना तीव्र गतिका कारण भएका छन् । त्यसपछि अन्य कारण, चालकको असक्षमता, मादक पदार्थ सेवन, ब्रेक फेल, यान्त्रिक समस्या, ओभरटेक तथा मौसमजन्य कारणले दुर्घटना भएको तथ्यांक छ। चालकको लापरबाही, ट्राफिक नियमको पालना नगर्नु, राजमार्गमा छाडा चौपायाको समस्या र ओभरलोड पनि दुर्घटनाका प्रमुख कारण रहेको प्रहरीको भनाई छ ।
सवारी साधनका आधारमा हेर्दा मोटरसाइकल सबैभन्दा बढी दुर्घटनामा संलग्न देखिएको छ । आर्थिक वर्ष २०८२/०८३ मा भएका दुर्घटनामध्ये करिब ४७ प्रतिशतमा मोटरसाइकल संलग्न रहेको प्रहरीको तथ्यांकमा छ । त्यसपछि जिप, कार, अटो, टेम्पो, ट्र्याक्टर, बस, ट्रक तथा अन्य सवारी साधनको संलग्नता रहेको छ । दुई पाङ्ग्रे सवारीको अत्यधिक प्रयोग, असुरक्षित यात्रा, चालकको अनुभवको कमी तथा मोबाइल फोन प्रयोग गर्दै वा मादक पदार्थ सेवन गरेर सवारी चलाउने प्रवृत्तिका कारण मोटरसाइकल दुर्घटना बढी भएको प्रहरीको भनाई छ ।
जिल्लागत हेर्दा सुर्खेतमा सबैभन्दा बढी ६ सय ९० वटा दुर्घटना भएका छन् । त्यसपछि रुकुम पश्चिम, दैलेख, सल्यान र जाजरकोट रहेका छन् । सबैभन्दा कम दुर्घटना मुगुमा १७ वटा मात्रै भएको तथ्यांकले देखाएको छ । सुर्खेतमा राष्ट्रिय राजमार्ग, व्यापारिक गतिविधि, तीव्र सहरीकरण र सवारी चाप उच्च भएकाले दुर्घटना बढी भएको विश्लेषण गरिएको छ । मुगुमा सडक सञ्जाल सीमित, जनसंख्या र सवारी साधन कम भएकाले दुर्घटना न्यून रहेको हो ।
ट्राफिक कारबाहीतर्फ भने आर्थिक वर्ष २०८२/०८३ मा कारबाही संख्या र राजस्व दुवै घटेका छन् । अघिल्लो वर्षको तुलनामा कारबाही संख्या २३ प्रतिशत तथा राजस्व करिब २० प्रतिशतले घटेको कार्यालयले जनाएको छ । यसलाई ट्राफिक नियम पालनामा सुधार, ई–चलान प्रणालीको कार्यान्वयन, जनचेतनामूलक कार्यक्रमको प्रभावकारिता तथा ट्राफिक प्रहरीको सक्रियताले सुधारको संकेत देखिएको एसपी रिजालले बताए ।
उनका अनुसार जनचेतना अभिवृद्धिका लागि प्रदेशभर ८ हजार २ सय ७८ पटक विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ । ती कार्यक्रमबाट ५ लाख ६९ हजारभन्दा बढी नागरिक प्रत्यक्ष लाभान्वित भएका छन् । विद्यालय, सार्वजनिक यातायात, चालक तथा सहचालक, व्यवसायी, पैदलयात्री र समुदायलाई लक्षित गरी ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ । दुर्घटना न्यूनीकरणका लागि कार्यालयले विभिन्न सुधारात्मक अभियान सञ्चालन गरेको जनाएको छ ।
सुरक्षित कर्णाली अभियान अन्तरगत प्रहरीले अतिरिक्त सिट हटाउने, कालो सिसा र स्टिकर हटाउने, प्रयोजनविपरीत प्रयोग भएका निजी सवारीमाथि कारबाही गर्ने, राडर गनमार्फत गति मापन, मादक पदार्थ तथा लागूपदार्थ सेवन परीक्षण, चालक अनुमति पत्र परीक्षार्थीलाई ट्राफिक शिक्षा, विद्यालय बसको यान्त्रिक परीक्षण, चालक तथा सहचालकको स्वास्थ्य परीक्षण, ब्ल्याक स्पटमा चेतनामूलक बोर्ड स्थापना, महिला अटो चालकसँग अन्तरक्रिया, रक्षात्मक ड्राइभिङ तालिम तथा सडक सुरक्षासम्बन्धी विभिन्न अभियान सञ्चालन गरिएको छ ।
कर्णाली प्रदेशमा हाल करिब ९ हजार ६ सय ८७ किलोमिटर सडक सञ्जाल, २ सय १५ जना ट्राफिक प्रहरी र ४० हजार ९ सय ५६ दर्ता भएका सवारी साधन छन् । सीमित जनशक्ति र चुनौतीपूर्ण भौगोलिक अवस्थाबीच पनि दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापन तथा नागरिकमा सडक सुरक्षा सचेतना अभिवृद्धि गर्न निरन्तर प्रयास भइरहेको प्रहरीको भनाई छ ।
प्रतिक्रिया दिनुहोस !