कर्णालीका छोरीहरू सुर्खेतमा
दैलेख : कर्णालीका छोरीहरूको अवस्था दयनीय छ। राष्ट्रिय जनगणना २०७८ का अनुसार कर्णालीमा ३९.९ प्रतिशत छोरीहरूको उमेर नपुग्दै बिहेवारी हुन्छ। प्रदेशका बालिकाहरूको शैक्षिक उपलब्धि निकै न्यून छ। यहाँका छोरीहरूले विभिन्न अवसरबाट वञ्चित रहँदै आएका छन्। बालविवाह, महिनावारी विभेद, लैंगिक तथा घरेलु हिंसा, यौन हिंसा, पितृसत्तात्मक परम्परा यहाँका छोरीहरूका लागि बाधक बनका छन्। यिनै परिदृश्यलाई मध्यनजर गर्दै कर्णालीमा छोरीहरूको सम्मेलन आयोजना गरिएको छ। कर्णालीका छोरीहरूलाई सशक्त बनाउँदै उनीहरूको क्षमता उजागर गर्ने, प्रदेशस्तरमा वकालत र पैरवी गर्न सक्ने छोरी सञ्जालको निर्माणका लागि सम्मेलन आयोजना गरिएको हो। सम्मेलनले अन्यायपूर्ण, विभेदकारी सामाजिक संरचनाको अन्त्य गर्ने र लैंगिक असमानताविरुद्ध संघर्ष गर्न र न्यायको पक्षमा आवाज उठाउन मद्दत गर्ने लक्ष्य राखिएको छ। ज्याति फाउण्डेसन र सामाजिक विकास मन्त्रालयले आयोजना गरेको सम्मेलन शनिबारदेखि सुरु भएको छ। प्रदेश राजधानी वीरेन्द्रनगरमा पहिलोपटक सम्मेलन आयोजना गरिएको हो।
तीन दिनसम्म सञ्चालन हुने सम्मेलनको कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले उद्घाटन गरेका छन्। त्यस अवसरमा मुख्यमन्त्री कँडेलले पर्याप्त चेतनाको अभावका कारण कर्णालीमा अझै पनि कुरीति, कुसंस्कार र अन्धविश्वास कायमै रहेको बताए। ‘सामाजिक रूपमा रहेका अन्धविश्वासलाई अझै हटाउन सकिएको छैन,’ उनले भने ‘कर्णालीको अवस्था बदल्न सबैंको सामूहिक प्रयासको आवश्यकता छ।’ कानुनी रूपमा विभेदलाई अन्त्य गरिएको भए पनि विभेदजन्य व्यवहारहरू कायमै रहेको मुख्यमन्त्री कँडेलको भनाइ छ। उनले कर्णालीका छोरीहरूलाई राजनीतितर्फ अग्रसर हुने आग्रह गरेका छन्। ‘राजनीति स्वाभिमानको यात्रा हो, राजनीति थाहा पाउनुभयो भने राम्रो हुन्छ,’ उनले भने।
कर्णालीका सभामुख नन्दा गुरुङले सोच र शैलीमा सकारात्मक परिवर्तन ल्याउन छोरीहरूको सम्मेलनले महत्वपूर्ण योगदान दिने बताइन्। ‘अब लैंगिक समानताको आधार निर्माणमा ध्यान दिनुपर्ने छ, छोरीहरू आत्मरक्षाका लागि हरेक समय सावधान रहनुपर्ने अवस्था पनि छ,’ उनले भनिन्। छोरी भएकै कारण अवसरबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गरिनुपर्ने उनको भनाइ छ। ‘छोरीहरूको शैक्षिक सशक्तीकरणमा जोड दिन सकियो भने उनीहरूलाई समाजमा आफूलाई सुरक्षित अनुभूति गर्नेछन्, कर्णालीका छोरीहरूको अधिकार, समानता र सशक्तीकरणसँगै शिक्षा, स्वास्थ्यका सवालमा सबैले हातेमालो गर्दै अघि बढ्नुपर्छ,’ सभामुख गुरुङको भनाइ छ।
कर्णालीका छोरीहरूलाई सचेत, सबल, सक्षम र आत्मनिर्भर बनाउन पहिलोपटक सम्मेलन गरिएको फाउन्डेसनका अध्यक्ष ज्योति कटुवालले बताइन्। ‘यो सम्मेलन कर्णालीका छोरीहरूको चेतना जागृत गर्ने र सामाजिक सन्देश प्रवाह गर्ने थलो हो,’ उनले भनिन्, ‘कर्णालीका छोरीहरूको सशक्तीकरणको एक गतिशील अभियान हो।’ कर्णालीका छोरीहरू आफैंमा कमजोर नभई अधिकार र अवसरबाट वञ्चित भएको कारण कमजोर देखिएको उनको भनाइ छ। ‘त्यही वास्तविकताको बोध गराउनु यस सम्मेलनको मूल ध्येय हो,’ कटुवालले भनिन्। कर्णालीका छोरीहरूलाई आफ्नो हक र अधिकार बोध गराउने र उनीहरूको जीवन रूपान्तरणको माध्यमबाट कर्णालीको भविष्यको मार्गचित्र कोर्ने प्रयास थालिएको हो।
सम्मेलनमा कर्णालीका ७९ वटा स्थानीय तहबाट दुई-दुई जना, सीमान्तकृत र लोपोन्मुख राउटे, राजी, बादी र बोटे समुदायबाट थप दुई-दुई जना गरी दुई सय बढी छोरीहरूको सहभागिता छ। आ–आफ्नो स्थानीय तह, क्षेत्र तथा समुदायको प्रतिनिधित्व गर्ने छोरीहरूले सम्मेलनमार्फत आफ्ना आवाजहरू साझा गर्न पाउनेछन्। सम्मेलनमा छोरीका मनका कुरा, प्रवचन तथा बहस कार्यक्रमहरू सञ्चालन हुनेछन्। ‘छोरीका मनका कुरा’ शीर्षकमा सहभागी छोरीहरूले आफ्ना भोगाइहरू सुनाउने छन्। सृजनशील छोरीहरूले आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर पनि पाउनेछन्।
प्रतिक्रिया दिनुहोस !