राजमार्गमा वर्षाको त्रास, नागरिकको सडकमै बास
नवलपुर : आइतबार राति नारायगढबाट बर्दिया हिँडेका हेटौंडाका उमेश रिजाल गिरुवारी खोलाको पुल भाँचिएपछि सडकमै रात काट्न बाध्य भए। उनीसहित सयौं यात्रु अलपत्र परे। वैकल्पिक मार्ग थाहा पाएका केही यातायातका साधनबाहेक अधिकांश आइतबार राति डन्डा, चोरमारा, अरूण खोलालगायतका स्थानमा रोकिए। रिजालले भने, ‘वर्षा सुरु नहुँदै यो हालत छ, वर्षा सुरु भएपछि के हुने होला ?’ यो मार्ग भएर हिँड्ने यात्रुले पाउन सक्ने सम्भावित दुःखले त्रास बढेको उनको भनाइ छ।
‘दाउन्नेमा अहिले पनि ३ घण्टा लाग्छ, वर्षा सुरु भएपछि त्योबाटो हिँडिसाध्य हुँदैन, यसमा राज्यले गम्भीर भएर सोच्नुपर्छ’, उनले भने। उनले दिनरात नभनी काम गरेर राजमार्गमा एकतर्फी भए पनि कालोपत्रे गर्न आग्रह गरे। आइतबार चोरमारा स्थित गिरुवारी खोलामा पुल भाँचिएपछि यातायात सञ्चालनमा निकै कठिनाइ भएको थियो।
वैकल्पिक मार्ग भएर यात्रा गर्न प्रहरीले आग्रह गरे पनि ठूला गाडीहरू मोड नपुग्दा जाममा फस्ने गरेका छन्। सोमबार दिउँसो गिरुवारी खोलामा डाइभसर्न बनाएर यातायात सञ्चालन गर्न खोजे पनि सहजरूपमा सञ्चालन हुन नसकेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता मधु नेपालले बताए। उनले भने, ‘पूर्वबाट पश्चिम जाने गाडीलाई चोरमारा नजिकै खोलामा डाइभर्सन बनाएर सञ्चालन गरेका छौं, पश्चिमबाट पूर्व आउनेले वैकल्पिक मार्ग प्रयोग गर्नुभएको छ। वर्षा भयो भने यो डाईभर्सन बगाउँछ र फेरि दुःख हुन्छ।’
उनका अनुसार दाउन्नेमा यातायात सञ्चालन भए पनि सडकका कारण यात्रुहरू लामो जाममा पर्ने गरेका छन्। नारायणढ बुटवल सडकअन्तर्गत नारायणगढदेखि दुम्कीबाससम्म अधिकांश एकतर्फी कालोपत्रे भए पनि जीर्ण बनिसकेका पुल भाँच्चिदा पटक–पटक समस्या आउने गरेको छ। चार महिना अघि भाँचिएको विनयी खोलाको पुलको विकल्प अहिलेसम्म निर्माण कम्पनीले दिएको छैन। विनयी खोलामा डाइभर्सन बनाएर यातायात सञ्चालन भए पनि वर्षा हुनासाथ डाईभर्सन बगाउने र यातायात अबरुद्ध हुने गरेको छ।
नवलपुरका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले विनयी खोलाको पुल तत्काल सकेर सुचारु गर्न निर्माण कम्पनीलाई आग्रह गरेको बताए। ‘हामीले प्राथमिकताका साथ पुलको काम गर्न भनेका छौं, वर्षा सुरु हुन अगाडि सक्छौं भनेका छन्। अहिले चोरमाराको पुल भाँचिएपछि थप समस्या भयो’, उनले भने।
उनले दाउन्नेमा पनि राति यातायात बन्द गरेर भए पनि वर्षासम्म काम सक्न आग्रह गरेको बताए। ‘वर्षामा यात्रुलाई असहज नहोस् भनेर हामीले नियमित अनुगमन गर्ने र निर्देशन दिने काम गरिरहेका छौं, निर्माण कम्पनीका तर्फबाट वर्षा अगाडि नै यातायात सञ्चालन सहज गराउन लागेको भनाइ आएको छ,’ पाण्डेले भने। नारायणगढ बुटवल सडक आयोजनाका प्रवक्ता इन्जिनियर शिव खनालले वर्षा अगाडि विनयी खोलामाथिको पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आउने बताए। उनले भने, ‘विनयीको काम दु्रत गतिमा अगाडि बढेको छ, वर्षा अगाडि सकिन्छ, चोरमाराको पुल दुई हप्ताभित्र मर्मत हुन्छ।
त्यसपछि अलिक सहज हुन्छ।’ उनले दाउन्नेको समस्या पनि वर्षामा समाधान हुने बताए। ‘पूरै कालोपत्रे त हुँदैन, कल्भर्ट निर्माण सकेर ग्रेवल गरेपछि गाडी चिप्लने फस्ने समस्या हट्छ।’ वर्षामा यात्रुलाई दुःख नहोस् भनेर प्राथमिकताका साथ काम भइरहेको उनले बताए।
नारायगढ बुटवल सडक विस्तारको काम सुरु भएको ६ वर्ष पूरा भयो। २०७९ साउन २२ मा सडक विस्तारको काम सम्पन्न गर्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिसँग २०७५ माघ २४ गते सम्झौता भएको थियो। सोही सम्झौताअनुसार २०७५ साल चैतमा प्रधानमन्त्री केपी शर्मा ओलीले बाटोको शिलान्यास गरेका थिए।
तर, ६ वर्षमा पूर्वीखण्डमा झन्डै ६५ प्रतिशत मात्र काम सकिएको इन्जिनियर खनालले बताए। पश्चिमखण्डमा पनि सोही हाराहारीमा भौतिक प्रगति भएको उनको भनाइ छ। ३ वर्ष अगाडि नै सम्झौता अनुसार बाटो निर्माण गरिसक्न पर्ने भए पनि पटक–पटक म्याद थपेर काम गरिँदै आइएको छ। यो सडकलाई दुई खण्डमा विभाजन गरी ठेक्का गरिएको छ । ११३ किमी सडकमध्ये ७० किमी ४ लेन, २९ किमि ४ लेनसहित दुवैतर्फ ६-६ मिटरको सर्भिस लेन, दाउन्नेमा १४ किमि ३ लेनको सडक हुनेछ । बीचमा ६४ वटा पुल र ४६२ वटा कलभर्टलगायत संरचना निर्माण गर्नुपर्ने सम्झौतामा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस !