भृकुटीमण्डपमा बारपाक फोटो प्रदर्शनी सुरु
काठमाडौं : फोटो पत्रकार प्रकाश चन्द्र तिमिल्सेनाले खिचेका तस्बिरहरूको प्रदर्शनी भृकुटीमण्डपमा सुरु भएको छ। बिहीबार नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले 'बारपाक फोटो प्रदर्शनी' उद्घाटन गरेका छन्।
उद्घाटनपछि सांसद थापासहित संसद्को राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडा, कांग्रेस केन्द्रीय सदस्य नानु बास्तोला,नेपाल पर्यटन बोर्डका सिइओ दिपक जोशी, नाडाका पूर्वअध्यक्ष कृष्ण दुलाललगायत अन्य आगन्तुकहरूले तस्बिर प्रदर्शनी अवलोकन गरेका थिए।
भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको डबलीमा सुरु भएको प्रदर्शनी शनिबारसम्म चल्नेछ। प्रदर्शनी उद्घाटन गर्दै महामन्त्री थापाले गोरखाको बारपाक सबैले सम्झिने ठाउँ बनेको बताए। फोटो प्रदर्शनीले बारपाकलाई देशविदेशमा चिनााउन थप मद्धत पुग्ने उनको अपेक्षा छ।
नेपाल पर्यटन बोर्डका सिनियर अफिसर सुदन सुवेदीले बोर्डको ह्यासट्याग फोटो नेपाल अभियानअन्तर्गत बारपाक फोटो प्रदर्शनी आयोजना भएको जानकारी दिए। यसबाट गोरखालाई काठमाडौंसँग जोड्न मद्धत पुग्ने उनको अपेक्षा छ।
बोर्डका निर्देशक सुनिल शर्माले तस्बिरले जीवन बोल्ने बताउँदै तस्बिर प्रदर्शनीले बारपाकको बारेमा धेरै कुरा बोल्ने धारणा व्यक्त गरे। फोटो पत्रकार तिमिल्सेनाले भूकम्पको १० वर्षमा बारपाकमा देखिएको परिवर्तन तथा पुनर्निर्माण गर्दाका चुनौतीलाई दस्तावेजीकरण गरिएको जानकारी दिए। २०७२ वैशाख १२ गते बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पपछिको भयावह अवस्था, बारपाकको आर्थिक अवस्था तथा सामाजिक भोगाइसँग सम्बन्धित ६० वटा फोटोहरू प्रदर्शनमा राखिएका छन्।

बारपाक सुलिकोट गाउँपालिकाको आयोजनामा भएको फोटो प्रदर्शनीको प्रवर्द्धकको रूपमा नेपाल पर्यटन बोर्ड रहेको छ। अर्घाखाँची सिमेन्ट, कृषि विकास बैंक र ग्लोबल आइएमई बैंकको सहयोग रहेको फोटो प्रदर्शनीको मिडिया पार्टनरको रुपमा नेपाल फोटो लाइब्रेरी रहेको छ।
प्रदर्शनीमा राखिएका सम्पूर्ण तस्बिर बारपाक सुलिकोट गाउँपालिकालाई हस्तान्तरण गर्ने घोषणा फोटो पत्रकार तिमिल्सेनाले गरेका छन्। ती तस्बिर गाउँपालिकाले बारपाकमा निर्माण गरिरहेको भूकम्प संग्रहालयमा राखिने छ।
प्रदर्शनीको मुख्य उद्देश्य फोटोमार्फत भूकम्प प्रतिरोधी संरचना बनाउन गरिएका प्रयासको प्रभावकारितालाई पुनः स्मरण गराउनु रहेको तिमिल्सेनाले बताए। यसका साथै फोटो प्रदर्शनीले पुनर्निर्माणपछि बारपाकको अवस्थालाई देश-विदेशसम्म पुर्याउन प्रयास गरेको उनको भनाइ छ। प्रदर्शनीले बारपाकलाई पर्यटकीय गन्तव्यको रूपमा पनि विकास गर्न मद्धत पुग्ने उनले विश्वास व्यक्त गरे।
२०७२ सालको भूकम्पपछि बारपाक पुगेर त्यहाँको विनाश क्यामेरामा कैद गरेका उनी हरेक वर्षजस्तो त्यहाँ पुगेका थिए। त्यही क्रममा विगत १० वर्षमा त्यहाँ देखिएको परिवर्तनलाई फोटो प्रदर्शनीमार्फत स्थानीय र सरोकारवालाहरूलाई देखाउने प्रयास गरेको उनले बताए।
प्रतिक्रिया दिनुहोस !