कोशीको बजेट अधिवेशन आजदेखि सुरु हुँदै
विराटनगर : कोशी प्रदेशसभाको बजेट अधिवेशन आज (आइतबार)देखि सुरु हुँदैछ। यो प्रदेशसभाको बर्खे एवं सातौं अधिवेशन पनि हो।
प्रदेशसभाका कार्यवाहक सचिव गौतमराज अमात्यले सातौं अधिवेशनको पहिलो बैठक प्रदेशसभा भवनमा दिउँसो २ बजेबाट सुरु हुने बताए। बैठकको सुरुवातमा कोशीका प्रदेश प्रमुख परशुराम खापुङको कार्यालयबाट प्राप्त पत्र बाचन गरिने जानकारी अमात्यले दिए। त्यसपछि प्रदेशसभमा प्रतिनिधित्व गर्ने राजनीतिक दलले आ–आफ्नो धारणा राख्ने छन्।
सरकारले ल्याएको प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८२ प्रदेशसभा बैठकमा टेबुल हुने अमात्यले बताए। कोशीमा नेकपा (एमाले) नेतृत्वमा नेपाली कांग्रेससहितको सरकार छ। प्रदेश सरकारको कामकारबाहीप्रति पछिल्लो समय कांग्रेसले असन्तुष्टि जनाउँदै आएको छ।
हालसम्म प्रदेशसभाले ल्याइएको ८३ मध्ये ६० वटा विधेयक प्रमाणित भइसकेका छन्। पछिल्लोपटक गतवर्ष फागुन २८ मा पर्यटन वन तथा वातावरण मन्त्रालयको कोशी प्रदेश प्रदेश वातावरण संरक्षण ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ र भौतिक पूर्वाधार विकास मन्त्रालयको प्रदेश भवन ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणित भएको थियो।
प्रदेश सरकारको वैशाख २४ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको बर्खे अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख खापुङसमक्ष सिफारिस गरेको थियो। सरकारको सिफारिसका आधारमा प्रदेश प्रमुखले प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन्।
प्रतिक्रिया दिनुहोस !