अन्नपूर्णमा ५ औं चरणको म्याराथन हुँदै, अन्नपूर्ण पदयात्रामा पर्यटनको घुइँचो
पोखरा : अन्नपूर्ण प्रथम हिमाल ८ हजार मिटरभन्दा उच्च हिमाल पहिलोपटक आरोहण भएको हिसाबले जेठो हिमाल हो । फ्रान्सेली नागरिक मौरिस हार्जोगले ७४ वर्षअघि ८ हजार मिटर अग्लो ( ८,०९१ मिटर) हिमाल पहिलोपटक अरोहण गरेर इतिहास रचेका थिए ।
सन् १९५० जुन महिनाको ३ तारिखमा हार्जोगले म्याग्दी जिल्लाको हालको अन्नपूर्ण गाउँपालिका नारच्चाङस्थित अन्नपूर्ण नर्थ बेसक्याम्पबाट अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेका थिए । अन्नपूर्ण प्रथम आरोहण भएको तीन वर्षपछि मात्र नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका एडमन्ड हिरालीले विश्वकै उच्च शिखर सगरमाथा (८ हजार ८ सय ४८ मिटर) मा झन्डा फराएका थिए । त्यही ऐतिहासिक दिनको सम्झनामा अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजनामा ५ औं संस्करणको अन्नपूर्ण म्याराथनको तयारी पनि गरेको छ । अन्नपूर्ण आरोहणको हिरक महोत्सव मनाउने क्रममा कास्कीतर्फका अन्नपूर्ण आधारशिविरको ४,१३० मिटर उचाइबाट सुरु भई घान्द्रुकमा आएर ४२.१९५ किलोमिटर म्याराथन टुंगिने संयोजक ललित गुरुङले जानकारी दिए ।
म्याराथनमा पुरुष र महिलातर्फ छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ । हालसम्म १० जना विदेशी धावकसहित ६० जनाले नाम दर्ता गराइसकेको आयोजकले बताएका छन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने धावकले क्रमशः १ लाख ५० हजार, १ लाख र ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
महिलातर्फ लगातार तीनपटक म्याराथनमा सहभागिता जनाउने धावकलाई प्रोत्साहन स्वरूप विशेष पुरस्कार दिइने आयोजकले जानकारी दिएका छन् । महिला र पुरुष दुवै समूहमा विदेशी सहभागीमध्ये प्रथम हुनेलाई विशेष पुरस्कार प्रदान गरिनेछ । कार्यक्रम सम्पन्न गर्न करिब ३८ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
यसैगरी, म्याग्दीको नारच्याङ्मा पनि अन्नपूर्ण दिवस मनाइने भएको छ । म्याग्दीतर्फको नर्थ अन्नपूर्ण आधारशिविरबाट हर्जोग र उनको टिमले ७४ वर्ष पहिले अन्नपूर्ण प्रथम हिमाल सफल आरोहण गरेका थिए । हर्जोगले म्याग्दी जिल्लाको हालको अन्नपूर्ण गाउँपालिका नारच्चाङस्थित अन्नपूर्ण नर्थ बेसक्याम्पबाट अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेका थिए ।
म्याग्दीमा हुने अन्नपूर्ण दिवसको विशेष कार्यक्रममा फ्रान्स, बेलायत, अमेरिका लगायत १२ देशका राजदूत, हर्जोगका परिवारसमते सहभागी हुने नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणि लामिछानेले जानकारी दिए । हर्जोग र उनको टिमले पहिलोपटक ८ हजार मिटर अग्लो हिमाल अरोहण गरेपछि नै अन्नपूर्ण पदयात्रा विश्वसामु प्रख्यात भएको हो । अन्नपूर्ण संरक्षण क्षेत्रमा भारतबाट आउने धार्मिक पर्यटक र पदयात्रा गर्न आउने विभिन्न देशका पर्यटक समेत गरेर पछिल्लो समयमा दुई लाखभन्दा बढी पर्यटक आउने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस !