लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम पारित
दाङ : लुम्बिनी प्रदेशमा नीति तथा कार्यक्रम पारित भएको छ। प्रदेश सरकारले लुम्बिनी प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज बहुमतबाट पारित भएको हो।
शुक्रबारदेखि प्रदेशसभामा नीति तथा कार्यक्रममाथि सैद्धान्तिक छलफल सुरु भएको थियो। प्रदेश सरकारले कृषि, उद्योग, पर्यटन, पूर्वाधार विकासलगायतका क्षेत्रलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम ल्याएको थियो।
जेठ ५ गते सदनमा प्रस्तुत भएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसदहरूले प्रदेशको विकासका लागि उत्कृष्ट भन्दै त्यसलाई बजेटमार्फत सम्बोधन गर्नुपर्ने सुझाव दिएका छन् ।
मुख्यमन्त्री चेतनारायण आचार्यले नीति तथा कार्यक्रमलाई पूर्ण कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे। ‘ नीति तथा कार्यक्रममाथि रचनात्मक सुझाव प्राप्त भएको छ। यहाँहरूले दिएका सुझावलाई भोलिका दिनमा सरकारको तर्फबाट, विषयगत मन्त्रालयमार्फत सम्बोधन गर्ने छौँ,’ उनले भने, ‘नीति तथा कार्यक्रम सरकारको दिशा निर्देशन गर्ने कार्यक्रम हो। आगामी आर्थिक वर्षको बजेटमा कार्यक्रमगत र आयोजनागत रूपमा सम्बोधनको विनियोजन विधेयक ल्याइनेछ ।’
मुख्यमन्त्री आचार्यले नीति तथा कार्यक्रम वास्तविक धरातलमा आधारित, कार्यान्वयन योग्य र विगतका योजनाहरूको विश्लेषण, साधन स्रोतको सीमा, अन्तरसम्बन्ध तथा तीन तहका सरकारबीचको समन्वय र साझेदारीको संवैधानिक दायरा मनन गरेर तयार पारिएको जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !