भारतमा फैलिँदै कोरोना, नेपालमा कति छ जोखिम ?
काठमाडौं : छिमेकी देश भारतमा कोरोना (कोभिड-१९) फैलिँदै गएपछि नेपालमा पनि कोरोना संक्रमणको जोखिम बढेको छ। भारतमा कोरोना संक्रमण बढ्दै गएपछि नेपालमा पनि खुला सीमा नाकाका कारण जोखिम बढेको हो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भारतमा कोरोनाको संक्रमण बढी सकेपछि खुला नाकाका कारणले गर्दा नेपालमा पनि जोखिम बढेको बताए। भारतमा धेरै मात्रमा संक्रमण नदेखिएको उनले बताए।
प्रवक्ता बुढाथोकीले भारतमा कोरोना मात्रै नभइ कुनै पनि संक्रामक रोग फैलिसकेपछि नेपालमा ढिलोमा दुई हप्तामा संक्रमण आइसक्ने आकलन रहेको बताए। भारतमा पछिल्लो समय संक्रमण बढेको देखिएपछि मन्त्रालयले पनि त्यही अनुसार पूर्वतयारी गरिरहेको उनले बताए। उनले खुला नाका र हवाई नाकाको डेस्कमा रहेका स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको जानकारी दिए। नाका नजिक रहेका अस्पताल, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु अस्पताललाई पनि तयार अवस्थामा रहन भनेको बताए।
प्रवक्ता बुढाथोकीले भारतमा देखिएको कोरोना संक्रमण घातक नभएकाले आत्तिइहाल्नुपर्ने स्थिति नरहेको बताए। तर सजक भने रहनुपर्ने उनले बताए। उनले नेपालीले जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने बताए। उनले भीडभाडमा नजान, मास्क लगाउन, साबुन पानीले हात धुन, हात मिलाउनुको सट्टा नमस्कार गर्न सुझाव दिएका छन्। यसले गर्दा कोरोना मात्रै नभइ श्वासप्रश्वास र जनसम्पर्कबाट सर्ने रोगबाट पनि बच्न सकिने बताए।
प्रवक्ता बुढाथोकीले नेपालका प्रायः सबैले कोरोना खोप लगाइसकेकाले अहिलेको कोरोना भेरिएन्टबाट बच्न सकिने बताए। नयाँ भेरिएन्टलाई खोपले काम गर्ने भएकाले खोप लगाइसकेकाले आत्तिनु नपर्ने उनले बताए। तर, ज्येष्ठ नागरिक, बालबालिका, प्रतिरोधात्मक क्षमता कम भएकालाई संकमणबाट जोगाउनुपर्ने उनले बताए।
भारतबाट सीमा नाका हुँदै नेपाल आउनेहरूलाई नियमित परीक्षण गराउने काम भइरहेको प्रवक्ता बुढाथोकीले बताए।
प्रतिक्रिया दिनुहोस !