महाकालीमा भत्किएको गाइडबन्ड बनाउँदै नेपाली सेना

महाकालीमा भत्किएको गाइडबन्ड बनाउँदै नेपाली सेना
महाकाली नदीमा नेपाली सेनाले गाइडबन्ड (बाँध) स्थान । तस्बिर : महादेव अवस्थी

महेन्द्रनगर : गत वर्ष बाढीले क्षति गरेको महाकाली चार लेन पुलसँगै बनेको गाइडबन्ड (बाँध) निर्माणको काम नेपाली सेनाले सुरु गरेको छ । गत वर्ष भदौमा आएको बाढीले दुई सय मिटर गाइडबन्ड (बाँध) भत्काएपछि पुनः निर्माण हुन सकेको थिएन । बाढीले बाँध भत्काएर महाकाली नदी बस्तीतर्फ सोझिएपछि महाकाली पुल, पुलको पहुँच मार्ग र आसपासका बस्तीसमेत जोखिममा परेपछि जिल्ला विपत् व्यवस्थापन समितिले विपत् संकटग्रस्त क्षेत्र घोषणाका लागि गृहमन्त्रालयलाई सिफारिस गरेको थियो ।

 सोही सिफारिस अनुसार जेठ ६ गतेको मन्त्रिपरिषद्को निर्णयले महाकाली नदी किनारको गाइडबन्ड भत्केको क्षेत्रलाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गरी नेपाली सेनामार्फत काम गराउने निर्णय गरेको थियो । सोहीअनुसार नेपाली सेनाले गाइड बन्डसँगै महाकाली नदीलाई च्यानलाइजेसनको काम सुरु गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ । 

निर्देशनालयका अनुसार पुल आयोजनाको स्वीकृत डिजाइन अनुसार महाकाली नदीमा भत्किएको दुई सय ६५ मिटर गाइडबन्ड (बाँध) र २६ सय मिटर महाकाली नदीलाई बीच भागमा बगाउने गरी च्यानलाइजेसनको काम सेनाले गर्ने छ । अहिले महाकाली नदीमा पहिलो चरणमा दुई सय जनाको जनशक्ति खटिएको छ । दोस्रो चरणमा थप जनशक्ति खटाउने तयारी रहेको निर्देशनालयले जनाएको छ । सेनाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग समन्वय गरी महाकाली पुल आसपास रहेका नदीजन्य पदार्थ व्यवस्थापन गर्ने जनाएको छ ।

गत वर्ष भदौमा महाकाली नदीमा आएको बाढीले महाकाली नदीमा बनेको चार लेनको पुलसँगै निर्माण भइरहेको पोखरीको गाइडबन्ड (बाँध) भत्काएको थियो । उक्त गाइडबन्ड निर्माणका लागि सुरुमा ठूलो ढुंगाको प्रयोग गर्ने डिजाइन बनाइएको थियो । तर ठूलो ढुंगा नपाइएपछि कंक्रिट र तारजालीमा ढुंगा भरेर गाइडबण्ड बनाउने डिजाइन बनाइएको हो । 

तर उक्त डिजाइन ढिलो गरी स्वीकृत भएपछि हालसम्म भेरियसन नहुँदा काम हुन नसकेको महाकाली पुल आयोजनाका इन्जिनियर दुर्गादत्त अवस्थीले जानकारी दिए । ‘सरकारले विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेपछि नेपाली सेनाको टोलीले काम सुरु गरेको छ’, उनले भने, ‘सेनाले भत्किएको बाँध निर्माण र नदी च्यानलाइजेसनको काम गर्छ ।’ भत्किएको बाँध समयमा निर्माण हुन नसकेपछि आसन्न जोखिमलाई मध्यनजर गरी विपत् संकटग्रस्त क्षेत्र घोषणा गरिएपछि नेपाली सेनाले काम सुरु गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताए ।

‘नेपाली सेनाले काम सुरु गरेको भए पनि अहिले उपकरणको अभाव छ’, उनले भने, ‘सडक विभागलगायत अन्य निकायबाट उपकरण ल्याउने तयारी भइरहेको छ ।’ उनले एक डेढ महिनाभित्रमा काम सम्पन्न गर्ने गरी काम भइरहेको बताए । गाइडबन्ड र च्यानलाइजेसनका लागि १९ देखि २९ करोड बजेट खर्च हुने अनुमान गरिएको छ ।

महाकाली नदीमा निर्माण भएको आठ सय मिटर पुलको दुवैतर्फ २७ सय मिटर लम्बाइ र ६ सय मिटर चौडाइका पोखरी निर्माणाधीन छन् । पक्की पुल, पहुँच मार्ग र गाइडबन्डलगायतको गरी ९५ प्रतिशत काम भइसकेको छ  । अब दुई सय मिटर पहुँचमार्ग कालोपत्रसँगै गाइडबन्डको काम मात्रै बाँकी छ  ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.