अस्पतालको अस्थायी भवन गाउँपालिकालाई हस्तान्तरण
काभ्रे : गत असोज महिनामा आएको रोशी खोलाको बाढीले बगाएको १० शय्याको अस्थायी भवन निर्माण गरेर गाउँपालिकालाई हस्तान्तरण गरिएको छ। जिल्लाको रोशी गाउँपालिका-१ फलामेसाँघुमा निर्माण सम्पन्नको अन्तिम चरणमा रहेको १० शय्याको आधारभूत अस्पतालको पक्की भवन असोजको बाढीले बगाएको थियो।
विश्व स्वास्थ्य संगठनको आर्थिक सहयोगमा निर्माण गरेको आधारभूत अस्पतालको अस्थायी भवन बुधबार गाउँपालिकालाई हस्तान्तरण गरेको हो। विश्व स्वास्थ्य संगठनले ४५ लाख लागतमा निर्माण गर्दै सुविधा सम्पन्न भवन (मेडिकल क्याम्प किट प्यानल वेस्ड)को अस्थायी अस्पताल भवन निर्माण गरी औषधीजन्य उपकरणहरूसहित पालिकालाई हस्तान्तरण गरेको हो।
विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. राजेश संभाजीराव पाण्डव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले रोशी गाउँपालिकालाई भवन हस्तान्तरण गरिएको थियो। उक्त अस्पतालले बेथानचोक गाउँपालिकाको तल्लो भेग, नमोबुद्ध नगरपालिका-९ र रोशी गाउँपालिका-१ देखि ४ सम्मको नागरिकहरूलाई सेवा दिँदै आएको थियो।
प्रतिक्रिया दिनुहोस !