जिम्मेवार पत्रकारितामा नागरिक अपेक्षा

जिम्मेवार पत्रकारितामा नागरिक अपेक्षा
सांकेतिक तस्बिर।

पत्रकारिताको मर्म अँगाल्ने हो भने नागरिकका समस्या मात्रै होइन, समाजका विकृति, विसंगति, कुप्रथा, अन्याय, अत्याचार, भ्रष्टाचारहरूको मिहिन अनुसन्धान पनि गर्नुपर्छ।

भनिन्छ, सरकारले गरेको काम नागरिकसम्म पुर्‍याउने र नागरिकका समस्या, अप्ठेरा र गुनासाहरूलाई सरकारसम्म पुर्‍याउने सेतु नै पत्रकारिता हो । पत्रकारिताको मर्म अँगाल्ने हो भने नागरिकका समस्या मात्रै होइन, समाजका विकृति, विसंगति, कुप्रथा, अन्याय, अत्याचार, भ्रष्टाचारहरूको मिहिन अनुसन्धान गर्नुपर्छ । नागरिक र सरकारलाई यस्ता क्रियाकलापमा सजक रहन र कानुनी दायरा परिपालनमा घचघच्याउने काम पनि पत्रकारिताभित्रै पर्छ । केही समय पहिलेसम्म छापा माध्यम, रेडियो, टेलिभिजन र अनलाइन पोर्टलहरू मात्रै पत्रकारिताको मापदण्डभित्र पर्दथे ।

पछिल्लो समय नागरिक पत्रकारिताले समेत दायरा बढाउँदै लगेको छ । जसमा युट्युब, फेसबुक, ट्विटर इन्स्ट्रग्रामलगायत सामाजिक सञ्जालसमेत थपिएका छन् ।
जसले जे जसरी सम्प्रेषण गरे पनि एकै वाक्यमा भन्नुपर्दा समाजमा घटेका घटनालाई जस्ताको तस्तै नागरिक तथा सम्बन्धित निकाय समक्ष पुर्‍याउनु नै पत्रकारिता हो । पत्रकारिताको दायरा विस्तार भएसँगै पत्रकारले पनि आफ्नो पेसागत धर्म भुल्दै गएका छन् । जसरी समुन्द्रको छालले किनारा नाघेपछि विनाश निम्त्याउँछ, त्यसरी नै पत्रकारले पेसागत मर्यादा उल्लंघन गर्दा त्यसले समाजमा राम्रो परिणाम ल्याउने कल्पना गर्न सकिँदैन । समाजका घटना पनि राम्रोसँग छानबिन गरी आधिकारिक पुष्टि गरेर मात्रै नागरिक समक्ष पुर्‍याउनुपर्छ । जसरी न्यायाधीशले मुद्दा फैसला गर्दा दस अपराधी छुटे छुटुन् तर एक निर्दोसले सजाय नपाओस् भन्ने सिद्धान्त अनुसरण गर्छ, त्यसरी नै पत्रकारले पनि पहिले समाचार दिने नाममा हतार गरेर गलत समाचार सम्प्रेषण गर्नु हुँदैन । बरु दशवटा सही समाचार दिन ढिला होस् वा नदिइयोस् तर हतार गरेर समाचार सम्प्रेषण गर्दा गलत समाचार सम्प्रेषण नहोस् भन्नेमा चनाखो रहनुपर्छ ।

पत्रकारिताको क्षेत्रमा आज त्यही भइरहेको छ, जुन नागरिकले चाहेका छैनन् । लाइक, कमेन्ट, सेयर र सस्क्राइब बढाउने नाममा जस्ता समाचार पनि सम्प्रेसण हुन्छन् । सुने मात्रै पुग्छ, कपि पेसट गरिदिन पाए भयो, बुझ्न र पुष्टि गर्न आवश्यक ठान्दैनन् कि समय पुग्दैन कि समाचार सम्प्रेषणको सामान्य जानकारी नभएको हो थाहा छैन । क्षणिक लाभ, श्रणिक खुसी, क्षणिक आत्मा सन्तुष्टिका लागि कसैको, इज्जत, प्रतिष्ठा, तथा जिउज्यान माथि नै खेलबाड हुनेगरी अपुष्ट समाचार सम्प्रेषण गर्नु न पत्रकारिताको मर्मभित्र पर्छ न त पत्रकारको धर्मभित्र नै पर्छ ।

एकातिर पुष्टि नभएका समाचार सम्प्रेषण गर्दा नाम कहलिएका धेरै सञ्चार माध्यमहरू बदनाम भएको उद्धाहरण हाम्रै सामु छन् । अर्कोतिर राजनीतिक प्रतिशोधले पनि पत्रकार र पत्रकारिताप्रति जनअपेक्षा घट्दै गइरहेको छ । पत्रकारले आफ्नो शक्ति नेताको पाउमा तिलाञ्जली दिँदा स्वतन्त्र पत्रकारिताको नारा घन्काउँदै पत्रकार स्वयं चाहिँ आफैं कसैको मुठ्ठीभित्र निहित स्वार्थका लागि कैद भइरहेका छन् । कतै नातावाद, कतै कृपावाद, कतै धन लाभ त कतै पद लाभको आशाले पत्रकार स्वतन्त्र पत्रकार नभएर कसैको प्रवक्ता बनिदिँदा पनि पत्रकारिताको मर्म मर्दै गएको छ ।

राजनीतिक दलपिच्छेका भातृ संगठनका नाममा पत्रकारका संस्था, जात, जाति, धर्मका नाममा पत्रकारका संस्था, नेताका गुटअनुसारका पत्रकारका अलग्यै समूह । अनि, नागरिकले कसको समाचारमा भरोसा गर्ने ? पत्रकारबाट नागरिक र राज्यले के अपेक्षा गर्ने ? एउटा दलको छत्रछायामा रहेका, दानापानी खाएका पत्रकारले त्यही दलभित्रको विकृति, बेथिति माथि कसरी प्रश्न उठाउन सक्छ ? विपक्षीले गरेका राम्रा कामको प्रशंसा गर्दै समाचार सम्प्रेषण गर्न उसलाई नुनले बार लगाउँदैन र ? सत्य/तथ्य समाचार सम्प्रेषण नगर्दा र आफ्नो पक्षको राम्रा समाचार मात्रै अर्को पक्षको नराम्रो समाचार पस्किँदा त्यसले समाजमा राजनीतिक, सामाजिक, धार्मिक, तथा जातिय द्वन्द्व निम्त्याउन मलजल गर्न सक्दैन र ? जनमानसमा पत्रकारिताप्रति विश्वास गुम्दैन र ?

अझै ढिला भइसकेको छैन । त्यसका लागि सर्वप्रथम स्वतन्त्रताको आवाज उठाउने पत्रकार स्वयं स्वतन्त्र हुनुपर्छ । कसैको विचार वा वाद बोकिन्छ भने पत्रकारिता पेसालाई नै बदनाम गरेर यहि क्षेत्रमा लाग्नुपर्छ भन्ने छैन । पत्रकारिताबाटै अलग बसे राम्रो । तब मात्रै पत्रकारहरूले उठाएको स्वतन्त्रताको नाराले सार्थकता पाउँछ । कतै आबद्ध भएरै पत्रकारिता गरेको छ भने आफू आबद्ध संस्था, दल वा नेतालाई सुधार्न चाकडीको भाषा होइन, आलोचनाका शब्दहरू खर्चिनुपर्छ । त्यसले भलै आपूmलाई क्षणिक लाभ नमिल्ला तर आपूmले माया वा सम्मान गरेकाहरू त सुध्रन्छन्, बाटो बिराउन लागेको भए सही मार्ग पहिल्याउन उनीहरूलाई पनि सहज हुन्छ ।

हरेक आलोचना विरोध होइन, सुध्रने मौका हो भनेर आफ्ना नेता र संगठनलाई बुझाउन सक्नुपर्छ । विपक्षीले राम्रो काम गरेको देखियो वा सुनियो भने त्यसको समाचार पनि उच्च प्राथमिकताका साथ सम्प्रेषण गर्ने हिम्मत गर्नुपर्छ । कुनै व्यक्तिले गरेका भ्रष्टाचार, अनियमितता, वा अरू केही खराबीका कुरा समाचार बन्दैछन् भने सम्बन्धित व्यक्तिको उक्त समाचारप्रतिको भनाइका केही शब्द मात्रै राखिदिँदा पनि समाचारले न्याए पाउँछ । तर, यस्तो प्रचलन आजकल लोप हुँदै गइसक्यो । पत्रकार र पत्रकारिताबाट नागरिक समाजले निष्पक्ष समाचारको अपेक्षा गरेको हुन्छ । निष्पक्ष समाचारका लागि पत्रकार स्वतन्त्र हुन जरुरी छ ।

पत्रकार स्वतन्त्र हुनका लागि उसलाई लेखेर बाँच्ने वातावरण बनाइदिनुपर्छ । यो वातावरण बनाउने दायित्व स्थानीय सरकारदेखि प्रदेश सरकार हुँदै केन्द्र सरकारसम्मको पनि हो । सम्बन्धित सञ्चार गृहले समयमै पारिश्रमिक उपलब्ध गराउनुपर्छ । अनुगमन गर्ने निकायले पनि अनुगमनसँगै समयानुकूल तालिमको व्यवस्था मिलाउनुपर्छ । तब मात्रै नागरिकले अपेक्षा गरे अनुरूप निष्पक्ष समाचार सम्प्रेषण हुन्छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.