एमालेका विद्यार्थी नेतालाई प्रधानमन्त्रीले भने- गुटगत प्रवृत्ति राखे नेकपा एकीकृत समाजवादीजस्तो बनाउँछ
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अनेरास्ववियुलाई गुटगत प्रवृत्ति त्याग्न निर्देशन दिएका छन्। कीर्तिपुरमा आयोजित अनेरास्ववियुको महाधिवेशन सत्रमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गुटगत प्रवृत्तिले नेकपा एकीकृत समाजवादी जस्तो बनाउने बताए।
विद्यार्थी नेताहरूलाई मिलेर जान सुझाव दिँदै प्रधानमन्त्री ओलीले गुटको पछि नलाग्न ठाडो निर्देशन दिए। 'सकेसम्म मिलेर जानुस्। त्यो सकिँदैन भने मित्रवत् प्रतिस्पर्धा गर्नुस्। जितेर आए पनि नजिते पनि काम गर्नुस्। इन्डिभिजुअल हिंड्नुस्। तपाइँको कामको मूल्यांकन हुन्छ। गुट बनाएर हिंड्ने काम नगर्नुस्। गुट बनाएर हिंडेपछि माया पार्टीको होइन गुटमा हुन्छ। देशको भन्दा पनि गुटको माया लाग्छ। एकीकृत समाजवादी पार्टी भन्ने छ नि, त्यही गुटगत प्रवृत्तिले त्यो पार्टीलाई त्यहाँ पुर्यायो,' उनले भने।
दिउँसो टर्च बालेर पनि नभेटिने ठाउँमा पुर्याउने उद्घोष गरे पनि एकीकृत समाजवादी आफैं त्यस्तै अवस्थामा पुगेको प्रधानमन्त्रीको भनाइ छ। 'गल्तीको बाटो एक पाइला पनि नहिंड्नुस्। हिंड्नुभएको छ भने फर्किहाल्नुस्। एमालेले मेरो अनुहार हरेर, माया गरेर अध्यक्ष बनाएको होइन। इतिहास र आन्दोलनको नेतृत्व गरेका कारण अध्यक्ष बनाएको हो,' उनले भने।
उनले भीम रावलले पनि पार्टीका बारेमा कहिल्यै सकारात्मक कुरा नगरेको बताए। बाहिरबाट उल्टै पार्टीमा ढुंगा हान्ने काम गरेको उनको भाइ छ। 'भीम रावलले कहिल्यै पार्टीको बारेमा सकारात्मक कुरा गरेनन्। एकछिन पद बिना बस्न नसक्ने। आम्दानी चाहिने। एमाले हुँ पनि भन्ने बाहिरबाट ढुंगा पनि हान्ने। त्यसरी हुँदैन,' उनले भने।
प्रतिक्रिया दिनुहोस !