नेपालका नयाँ पिढी अत्यन्त प्रतिभाशाली : प्रधानमन्त्री ओली
जनकपुरधाम : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको नयाँ पिढी अत्यन्त प्रतिभाशाली रहेको बताएका छन्। मंगलबार जनकपुरधामको महेन्द्रनारायण निधि संस्कृति कला केन्द्रमा राजर्षि जनक विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहमा सम्बोधन गर्दै उनले बालबालिकाहरूमा प्रचूर सम्भावना देखेको बताए।
'उनीहरूलाई कर गरेर कुनै खास विषय अध्ययन गराउनुभन्दा उनीहरूले रोजेको विषय पढ्न दिन पाउने अवसर अभिभावकले दिनुपर्छ। यस विश्वविद्यालयबाट दीक्षान्त प्राप्त गरेका विद्यार्थीहरूले आफूमा विश्वास राख्नुपर्छ कि हामी विश्वका कुनै पनि विश्वविद्यालयका विद्यार्थीभन्दा कम छैनौं। किनकि यो ज्ञान भूमि हो,' उनले भने।
सो अवसरमा विश्वविद्यालयका कुलपति प्रधानमन्त्री ओलीले ८६ जना विद्यार्थीलाई दीक्षित गरेका थिए। स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण १ सय १४ विद्यार्थीमध्ये ८६ जनाले दीक्षान्त समारोहमा सहभागिताको लागि आवेदन दिएका थिए। त्यसैगरी विश्वविद्यालयका चार जना टपर, विभिन्न संकाय तथा शैक्षिक कार्यक्रममा उत्कृष्ट हुने १०/१० विद्यार्थीलाई गोल्ड मेडलसमेत प्रदान गरिएको छ।
सन् २०१८, २०१९ र २०२० ब्याचका स्नातक तहमा टपरमा क्रमशः प्रिया कर्ण, दीक्षाकुमारी मण्डल र ज्योती चौधरीलाई पदक प्रदान गरिएको हो। २०२० को स्नातकोत्तर तहमा विश्वविद्यालय टप गर्नेमा रश्मीकुमारी भएकी छन्।
विश्वविद्यालयका सहकुलपतिका रूपमा रहेका मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले मधेसका छोरीहरू शैक्षिक क्षेत्रमा अब्बल रहेको कुरा यसै दीक्षान्त समारोहबाट पनि प्रष्ट भएको बताए। यहाँ छोराहरूभन्दा बढी छोरीहरूले पदक पाएका छन्। 'यसले मधेसमा छोरीहरूको शैक्षिक स्तर निकै उच्च रहेको कुरा स्पष्ट गर्छ। अहिले पनि यहाँ छोराछोरीलाई पढाउनमा विभेद् गरिएको जसलाई निरुत्साहित गर्नु अति आवश्यक छ,’ मुख्यमन्त्री सिंहले भने, 'मधेसमा साक्षरता दर बढ्न नसक्नु चिन्तनीय छ। यसका लागि तीनै तहको सरकारको समन्वय र सहकार्यको आवश्यकता छ।’
संघीय सरकार मातहतको यस विश्वविद्यालयमा हालः चार संकायका १३ वटा शैक्षिक कार्यक्रम सञ्चालनमा रहेको छ। जसमा एमफिल, एमबीए, बीबीए, बीडीबीएम, बीई सिभिल, बीआईटी, बीसीए, बीएस्सी सीएसआईटी, बीपीएच, बीएस्सी एमएलटी, बीएस्सी एजी, बीए एलएलबी र बीजेएमसी कक्षा सञ्चालनमा रहेको छ। हालः विश्वविद्यालय मातहत पाँचवटा आंगिक क्याम्पस छन् भने देशका ६८ वटा कलेजले सम्बन्धन लिएका छन्।
प्रतिक्रिया दिनुहोस !