खानेपानीको चरम अभाव भोगेका बासिन्दालाई घरघरमा धारा
डडेल्धुरा : खानेपानीको चरम अभाव रहेको गाउँमा घरघरमा पानीको धारा जडान हुँदा स्थानीय हर्षित भएका छन्। जिल्लाको अमरगढी नगरपालिका-८ को डकले लटाउली गाउँका बासिन्दाले वर्षौंदेखि खानेपानीको चरम अभाव भोग्दै आइरहेका थिए।
खानेपानीको अभावमा काकाकुल अमरगढी नगरपालिका-८ डकले लटाउली गाउँमा हाल एक घर एक धारा सञ्चालनमा आएपछि स्थानीय हर्षित भएका हुन्। आर्थिक वर्ष २०७६/७७ यता यी गाउँमा खानेपानी पुर्याउन करिब पौने दुई करोड रकम खर्च गरिएको कार्यालय प्रमुख हंसबहादुर थापाले जानकारी दिए।
उनका अनुसार चालु आर्थिक वर्षमा १६ लाख रुपैयाँ लागतमा एक घर एक धारा खानेपानी सम्पन्न हुँदैछ। यहाँका ८० घरधुरीका धाराहरूमा गत वर्षदेखि नै पानी सञ्चालन गरिएको छ। यस आर्थिक वर्षमा उक्त काम सम्पन्न भए समुदायमा पानी पर्याप्त हुने खानेपानी डिभिजन कार्यालयले जनाएको छ।
डडेलधुरा लिफ्ट खानेपानी योजना उग्रताराअन्तर्गत सोलारबाट साढे सात सय मिटर उचाइमा पानी तानिएको छ। यस योजनाको लम्बाइ दुई किलोमिटर छ। २०७७ सालमा ३६ लाख रुपैयाँबाट योजनाको सुरुवात गरिएको उपभोक्ता समितिका अध्यक्ष श्याम साँकीले जानकारी दिए। त्यसयता यस वर्षको रकम जोड्दा पौने दुई करोड पुगेको उनले बताए। यस वर्ष चौकीदार भवन निर्माण गर्न मात्रै बाँकी रहेको र खानेपानी पूर्ण रूपमा सुचारु भएको उनले जानकारी दिए।
करिब एक सयको हाराहारीमा घरधुरी रहेका गाउँमा दुई चार धारा हुँदा खानेपानीको समस्या भोग्दै आएका स्थानीयका घर घरमा धारा निर्माण गरिएका छन्। एक घर एक धारा निर्माण योजनाअन्तर्गत चालु आर्थिक वर्ष २०८१/८२ मा मात्रै खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय डडेल्धुराले १५ करोड रकम खर्च गरिरहेको छ।
पहिले वडा नं. ७ को पोखरा खानेपानी योजनाको उग्रतारा मन्दिरमा रहेका दुई धारा, मन्दिरकै नाउलो र गाउँ घरका नाउलाबाट ५० लिटरका ग्यालेन बोक्दै आधा घण्टा बढी हिँडेर पानीको जोहो गर्नुपर्ने बाध्यता थियो। वडा नं. ८ का वडाध्यक्ष नरबहादुर साँकीले भने, ‘आधा घण्टा बढी हिँडेर धौ धौ पानीको जोहो गर्नु परेको थियो। धूपकालमा नाउला पनि सुक्ने भएकाले छिमेकी गाउँका नाउलाबाट पानीको जोहो गर्नुपर्ने बाध्यता थियो। गत वर्षदेखि भने घर घरमै धारा निर्माण गरी पानी सञ्चालन गरिँदा पानीको समस्या टरेको छ।’
यस्तै, अमरगढी ३ को डोटी क्षेत्र काडे गाउँमा पनि एक घर एक धारा सञ्चालनमा ल्याइएको छ। घटाल कालाखाया खानेपानी योजनाअन्तर्गत काडे गाउँका ९० घरधुरीमा खानेपानी सञ्चालन गरिएको हो। चालु आर्थिक वर्षमा २० लाख रुपैयाँ लागतमा योजना सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष गणेश सेटीले जानकारी दिए।
पहिले गाउँमा १० धारा मात्रै रहेको बताउँदै उनले भने, ‘एक धारामा पाँचदेखि १० परिवारले खाने पानी भर्नुका साथै गाईवस्तु, सरसफाइका लागि लाइन बस्नुपर्ने बाध्यता थियो। अहिले घर घरमै धारा निर्माण भएका छन्। उपभोक्ता सबैलाई सहज भएको छ।’
प्रतिक्रिया दिनुहोस !