यार्सागुम्बाको वैज्ञानिक व्यवस्थापन
नेपाल प्राकृतिक स्रोत, साधन र सुन्दरताले भरिपूर्ण राष्ट्र हो । समग्र नेपालीको जीविकोपार्जन, विकास र प्रगतिमा यहाँ रहेका प्राकृतिक सम्पदाको उचित व्यवस्थापन र दिगो उपयोगको महत्त्वपूर्ण भूमिका रहन्छ । प्राकृतिक सम्पदाहरूमध्ये वनजंगल तथा यहाँभित्र पाइने अलौकिक तथा अद्वितीय जडीबुटी तथा गैरकाष्ठ वन पैदावरको महत्त्वपूर्ण स्थान रहेको छ । देशभित्र पाइने सूचीकृत करिब सात सय प्रजातिका जडीबुटीजन्य वनस्पति नेपाल र नेपालीको लागि मात्र होइन, समग्र जीवजन्तु, मानवजाति र विश्व समुदायलाई प्रकृतिको तर्फबाट अद्वितीय उपहार हुन् भन्दा अत्युक्ति नहोला ।
अपार सम्भावना बोकेको महत्त्वपूर्ण जडीबुटी र गैरकाष्ठ वन पैदावार देशको समग्र र समावेशी विकासका महत्त्वपूर्ण साधन हुन । बर्सेनि अबौं धनराशिका विभिन्न जडीबुटी र गैरकाष्ठ वन पैदावारहरू विदेश निकासी भइरहेका छन्् । देशका ग्रामीण एवं दुर्गम भेगका असंख्य नेपालीहरूको नगद आम्दानी एवं जीविकोपार्जनको प्रमुख आधार जडीबुटीको संकलन तथा बिक्री वितरणबाट अर्बौं धनराशि बर्सेनि भित्रिने गरेको छ । योमध्ये यार्सागुम्बा पनि एक हो । यार्सागुम्बालगायत अन्य महत्त्वपूर्ण जडीबुटीको बिक्री वितरणबाट दार्चुला, जुम्ला, गोरखा, लमजुङ तथा डोल्पाजस्ता जिल्लाहरूमा करोडौं रुपैयाँ बर्सेनि जिल्ला भित्रिने गर्दछ । अपार सम्भावना बोकेको जडीबुटी समग्र देशकै विकासमा महत्त्वपूर्ण साधन हुन्् । साथै यो हाम्रो देशको सम्पत्ति तथा प्रकृतिले दिएको उपहार हो ।
यार्सागुम्बा जाडोमा किरा र गर्मीमा घाँस बन्ने एक अनौठो प्रजातिको वनस्पति–जीव हो । आधा वनस्पति र आधा किराजस्तो हुन्छ । यार्सागुम्बा शक्तिवद्र्धक र दुर्लभ बहुमूल्य जडीबुटी हो । यार्सागुम्बा हाम्रो देशको हिमाल र पहाडी जिल्लाको लेकाली खर्क, पाटन तथा माडीमा पाइन्छ । यो जडीबुटीलाई दुई सय वर्षअगाडि चीनका तियान भन्ने विद्वानले शक्तिवद्र्धक बहुमूल्य जडीबुटी भनी प्रमाणित गरेका थिए । त्यसपछि यसको प्रयोग सुरु भएको भनाइ छ । यसको बजार, व्यापार र मूल्य अकासिँदो छ । अन्तर्राष्ट्रिय बजारमा यार्सागुम्बाको माग धेरै छ ।
नेपालमा पनि विगतभन्दा यसको संकलनको संख्या बढेको छ । विगत वर्षजस्तै यस वर्ष पनि यो संकलनको लागि वैशाखदेखि साउनसम्म मानिसहरू लेकको माडीपाटनतर्फ उकालो चढिसकेका छन्् । यो संकलनको उचित समय नै वैशाखदेखि साउनसम्म हो । यो संकलन ज्यादै कठिन एवं जोखिमपूर्ण हुन्छ । सो क्रममा लुटपाट भई अप्रिय घटनासमेत हुने गर्छन्् । यार्सागुम्बा संकलनको क्रममा चिसो र धपेडीका तथा लेक लागि संकलनकर्ता बिरामी भई ज्यानै समेत गुमाउँछन्् । मुख्यतः यार्सागुम्बा गोरखा, लमजुङ, रसुवा, म्याग्दी, मुस्ताङ, दार्चुला, बझाङ, जुम्ला, मुगु, डोल्पा आदि हिमाली जिल्लाहरूमा पाइन्छ । स्थानीय बासिन्दा एवं सोसम्बन्धी व्यापारीलाई यो राम्रो आम्दानी हुने व्यापार हो । नेपालको यो जडीबुटी ताइवान, हङकङ, सिंगापुर, तिब्बत आदि ठाउँमा निकासी हुन्छ । यो जडीबुटी प्रतिकेजी, ३ लाख (गुणस्तर हेरी) देखि १२ लाख रुपैयाँसम्ममा बिक्री हुन्छ ।
अवैज्ञानिक संकलन र मौसम परिवर्तनले गुणस्तरीय यार्सागुम्बा उत्पादनमा ह्रास आएको छ । अतः वैज्ञानिक तरिकाबाट बहुमूल्य अमृतसमान यार्सागुम्बा संकलन गरी भावी पिँढीलाई पनि संरक्षण गरी राख्नु समयको माग हो । यसको लागि स्थानीय सरकारको भूमिका अत्यन्त प्रभावकारी हुन्छ ।
हाम्रो देश वनमा आश्रित वन वरिपरि बस्ने मानिसको जीविकोपार्जनको मुख्य आधार जडीबुटी पैदावरको संकलन तथा बिक्री वितरणजस्ता क्रियाकलापहरू विगत सयौं वर्षदेखि रहिआएको पाइन्छ । बिना व्यवस्थापन संकलनमात्र गर्नाले प्राकृतिक अवस्थामा रहेको हाम्रो देशको यार्सागुम्बाजस्तो अमूल्य अमृतसमान जडीबुटी पैदावरहरू मासिँदै र नासिँदै गएका छन्् । फलस्वरूप भविष्यमा यसले स्थानीय समुदायको जीविकोपार्जन तथा वातावरण सन्तुलनमा समेत नकारात्मक असर पार्ने निश्चित छ । यसरी वनजंगलमा रहेका महत्त्वपूर्ण अमृतसमान यार्सागुम्बाजस्ता जडीबुटीहरूलाई एकातिर संरक्षण व्यवस्थापन र दिगो उपयोग गर्नुपर्ने देखिन्छ भने अर्काेतर्फ व्यापारी महत्त्वका जडीबुटीहरूलाई उपलब्ध खाली, पर्ती माडी तथा पाटनमा खेती विस्तार गरी व्यवसायीकरण गर्नुपर्दछ । यार्सागुम्बाको खेती विस्तार स्थानीयहरूमा प्रशोधन तथा मूल्य अभिवृद्धिका क्रियाकलाप र उत्पादित पदार्थको उचित बजारीकरणद्वारा बढीभन्दा बढी आर्थिक आम्दानी गरी स्थानीय समुदायलगायत समग्र राष्ट्रकै आर्थिक समृद्धि ल्याउन अति आवश्यक छ ।
हाम्रो देशमा उपलब्ध बहुमूल्य जडीबुटी उचित व्यवस्थापन गर्न अति आवश्यक छ । यार्सागुम्बाजस्तो अमूल्य जडीबुटीलाई वैज्ञानिक व्यवस्थापन गर्ने हो भने प्राकृतिक स्रोतसाधनबाटै हाम्रो देशको आर्थिक विकास र वृद्धिमा फड््को मार्ने अवस्था छ । नेपालको बहुमूल्य जडीबुटीको पथ पदर्शन माध्यमबाट पनि पर्यटन व्यवसायमा आवश्यक टेवा दिन सकिन्छ । नेपालको हिमाली क्षेत्र अमूल्य जडीबुटी उत्पादनको दृष्टिकोणबाट अत्यन्त महत्त्वपूर्ण छ । यस क्षेत्रबाट जडीबुटीको पर्याप्त सम्भावनाको बाबजुद उल्लेखनीय योगदान स्थानीय आम्दानी र राष्ट्रिय ढुकुटीमा पुग्न कठिन भएको छ । यी उपलब्ध जडीबुटीलाई वैज्ञानिक अध्ययन, दिगो विकास, व्यवस्थापन, व्यावसायिक खेती, मूल्य अभिवृद्धि तथा बजार प्रवद्र्धनद्वारा सम्बन्धित समुदायको आयस्थामा उचित वृद्धि, रोजगारी सिर्जना र गरिबी न्यूनीकरणका लागि एउटा मुख्य आधारशिला बनाउन सकिन्छ । सो गर्नको लागि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार तथा सम्बन्धित लक्षित समूह क्रियाशीलको आवश्यकता पर्दछ ।
जडीबुटी प्रवद्र्धनमा जति धरै सम्भावना हुन्छ त्यति नै समस्या र चुनौती पनि नकार्न सकिँदैन । यसको मुख्य समस्यामध्ये स्थानीय उपभोक्त र अन्य सरोकारवालाहरूमा रहेको अनविज्ञ र अपूर्ण जानकारी प्रमुख कारकतत्त्व हो । हाम्रा अमूल्य जडीबुटीबारे नेपाली वा स्थानीय भाषामा लेखिएको जानकारी सामग्रीहरूको उपलब्धताको कमिले जडीबुटी संरक्षणसम्बन्धी उचित ज्ञान दिन सकिएको छैन । अतः यस्ता अमूल्य जडीबुटीसम्बन्धी ज्ञान दिने आवश्यक व्यवस्था सरोकारवालाले बेलैमा दिई यार्सागुम्बाजस्ता अमूल्य जडीबुटी वैज्ञानिक तरिकाबाट संकलन तथा संरक्षण गरी भावी पिँढीलाई हस्तान्तरण गर्नु आजको आवश्यकता हो ।
डा. अधिकारी, गुणस्तर जीवन विषयमा विद्यावारिधि हुन् ।
प्रतिक्रिया दिनुहोस !