चिकित्सकीय लापरबाहीमा उपभोक्ता अदालतको पहिलो फैसला, अस्पताल र डाक्टरबाट ५६ लाख ८१ हजार क्षतिपूर्तिको निर्णय
काठमाडौं : उपचारमा क्रममा भएको चिकित्सकीय लापरबाहीविरुद्ध दायर मुद्दामा उपभोक्ता अदालतले ओम अस्पताल र दुई चिकित्सकबाट ५६ लाख ८१ हजार क्षतिपूर्ति भराउने फैसला गरेको छ। उपभोक्ता अदालतका अध्यक्ष रामप्रसाद शर्मा र सदस्यद्वय गेहेन्द्रराज रेग्मी एवं आनन्दराज पोखरेलको इजलासले उक्त फैसला गरेको हो।
पीडित बसन्त गौतमले चिकित्सकीय लापरबाहीले आफ्नो बिरामी बुवाको ज्यान गएको दाबी गर्दै मुद्दा दायर गरेका थिए। उनले अस्पताल र चिकित्सकबाट आवश्यक गर्नुपर्ने दायित्व र कर्तव्य पूरा नगरी सघन रूपमा परीक्षण नै नगरी परीक्षण भएको कागजात अध्ययन नै नगरी गम्भीर लापरबाही भएको जिकिर गरेका थिए। उनले ५ करोड क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेका थिए।
अदालतले ओम अस्पताल एन्ड रिसर्च सेन्टरबाट ८० प्रतिशत क्षतिपूर्ति भराउने फैसला गरेको छ। अस्पतालले ५० लाख ७० हजार क्षतिपूर्ति दिनुपर्ने फैसला भएको हो। त्यस्तै उपचारमा संलग्न चिकित्सकद्वय सरोजकुमार गोहिवार र सायुज्यराज घिमिरेलाई जनही ३ लाख ५ हजारको दरले २० प्रतिशत क्षतिपूर्ति दिनुपर्ने फैसला भएको अदालतका स्रेस्तेदार शोभाकर खरेलले जानकारी दिए।
के हो घटना ?
२०७९ माघ ५ गते हरिहरप्रसाद गौतम बाथरुममा जाने क्रममा लडी खुट्टा टेक्न नसक्ने अवस्थामा पुगेका थिए। त्यसै दिन परिवारका सदस्यले पितालाई चाबहिलस्थित ओम हस्पिटलमा इमरजेन्सीमा उपचार गर्न लिएर गएका थिए। इमरजेन्सीमा कार्यरत डा. घिमिरेले सामान्य चेकजाँचपश्चात् एक्सरे गर्न सुझाएका थिए। डा. घिमिरे र डा. गोहिवारसमेतले एक्सरे हेरी खासै केही भएके छैन। एक्सरे सामान्य छ भन्दै दुखाइ कम हुने इन्जेक्सन दिएको पीडित पक्षले जनाएको छ। ‘खुट्टा टेक्नै नसक्ने अवस्थामा रहेका पितालाई डाक्टरले डिस्चार्ज भनी लेखिदिनु भयो। आवश्यक लागेमा अर्थोपेडिक जानु भनी घर पठाइदिनु भयो,’ छोरा वसन्तले भने।
घर पुगेर औषधि सेवन गरेको ४ दिनपश्चात् समेत दुखाइ कम नभएपछि ह्याम्स अस्पतालमा जँचाउन लगिएको थियो। ह्याम्सका चिकित्सकले ओम अस्पतालमा गरिएको एक्सरे हेरेपश्चात् फ्र्याक्चर भएको जानकारी दिएका थिए। उनले यतिका दिनसम्म एक्सरेमा फरक आउन सक्छ भन्दै पुन : एक्सरे गर्न सुझाएका थिए। एक्सरे, सिटिस्क्यान गर्दा पहिलेको भन्दा क्षति पुगेको र भाँचिएका हड्डीहरूलाई पुन : मिलाउन र स्थिर बनाउन मद्दत गर्न हड्डीमा शल्यक्रिया गरेर पिन वा तारहरू राख्ने र त्यसमा तौल जोड्ने एक चिकित्सा प्रक्रिया) गर्नैपर्ने बाध्यता भएको बताएका थिए।
चिकित्सकले सो विधि अपनाउँदा वृद्ध अवस्थाको व्यक्तिलाई निमोनियालगायत अन्य स्वास्थ्य जटिलता आउन सक्ने र प्राणघातक पनि हुन सक्ने भनी जानकारीसमेत दिएको पीडित परिवारले जनाएको छ। अदालतमा दायर निवेदनमा भनिएको छ, ‘अस्पताल तथा चिकित्सकहरू सो विषयको प्रज्ञावान् व्यक्तिहरू हुन् भन्ने बुझेकोले डाक्टरहरूप्रतिको विश्वासमा पितालाई भर्ना गरेकोमा चिकित्सकहरूले गरेको हेलचेक्र्याइँको कारणले मेरो पिताको उपचारमा गम्भीर लापरबाही गरी पिताले अत्यन्तै पीडासाथ ज्यान गुमाउन बाध्य हुनु पर्यो। चिकित्सक तथा अस्पतालले हेलचेक्र्याइँ र लापरबाही गरेको डाक्टरहरूले जारी गरेको पर्चाबाट नै देखिएको छ।’
एक्सरे अध्ययन गर्दै नगरी वा अध्ययन गरे पनि फ्याक्चर भन्ने नै नजानी ड्युटी अफ केयर पूरा नगरी भर्ना गर्नुपर्ने बिरामीलाई डिस्चार्ज गरिदिएको कारणले बेलैमा सही उपचार नपाएर मेडिकल नेग्लिजेन्स (चिकित्सकीय हेलचेक्र्याईं तथा लापरबाही)को कारणले पिताको मृत्यु भएको दाबी निवेदनमा गरिएको छ।
प्रतिक्रिया दिनुहोस !