कांग्रेस नेता ढुण्डीराज शास्त्रीको निधन
अर्घाखाँची : पूर्वउद्योगमन्त्री तथा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा समाजवादी चिन्तक ढुण्डीराज शास्त्री (पौडेल) को निधन भएको छ ।काठमाडौंको केएमसी अस्पतालमा उपचारको क्रममा ९० वर्षीय शास्त्रीको आज बिहान ४ बजेतिर निधन भएको हो।
उनका श्रीमती, २ छोरा र २ छोरी छन् । छोराहरू देश बाहिर रहेकाले उनीहरू आएपछि अन्तिम दाह संस्कार गरिने पौडेल परिवारका अशोक पौडेलले जानकारी दिए। अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका -८ निमडाँडामा बुवा खेमराज पौडेल र माता साबित्रा पौडेलको जेठो सन्तानको रूपमा १९९३ सालमा उनको जन्म भएको थियो ।
उनी बनारसमा २०१० मा पढदादेखि नै नेपाली कांग्रेससँग आवद्ध थिए। त्यसपछि पढाइ सकेर घर आएपछि भूमिगतरूपमा नेपाली कांग्रेसको संगठन विस्तारमा लागेका थिए। २०१४ सालमा नेपाली कांग्रेसले सुरू गरेको भद्र अवज्ञा आन्दोलनमा अर्घाखाँचीको अगुवाइ गर्दै पाल्पा तानसेनमा भाग लिएका थिए । २०१५ सालको आम निर्वाचनमा सक्रियरूपमा लागेका २०१७ साल पौष १ गते राजा महेन्द्रले संसद भंग गरी नेताहरूलाई जेल हाल्ने क्रममा गुल्मी अर्घाखाँचीका लडाकु युवाहरूलाई क्रान्तिमा संलग्न गराउने कार्यमा उनले अग्रणी भूमिका निर्वाह गरेका थिए।
बि पी कोइरालाका अनुयायी शास्त्री समाजवादका व्याख्याता हुन् । उनले भूमिगतरूपमा अर्घाखाँची गुल्मीलगायतका जिल्लामा नेपाली कांग्रेसको संगठन विस्तारमा उल्लेख्य भूमिका निर्वाह गरेका थिए। उनले २०३६– र २०४६ सालको जन आन्दोलनमा पनि नेतृत्वदायी भूमिका खेलेको कांग्रेसजन बताउँछन् ।
२०४८ सालमा भएको निर्वाचनमा अर्घाखाँची क्षेत्र नं.२ बाट भारी मतले विजयी भएपछि उनी उद्योग मन्त्री बनेका थिए।
प्रतिक्रिया दिनुहोस !