नेपालको १००औं टी-२० अन्तर्राष्ट्रिय खेलमा करणलाई कीर्तिमानको मौका
काठमाडौं : नेपालले त्रीदेशीय टी-२० शृंखलाको पहिलो खेलमा आज नेदरल्यान्डसँग खेल्दैछ। स्कटल्यान्डको घरेलु मैदानमा नेपालले आफ्नो १००औं टी-२० अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो।
नेपालले हालसम्म ५५ जित, ३९ हार र २ बराबरी खेल्दा ३ खेल नतिजाविहीन बनेको थियो। नेपालले हालसम्म नेदरल्यान्ड्ससँग ५ पटक खेलेको छ। नेदरल्यान्ड्ससँग नेपाल ३ पटक पराजित भएको छ। २ पटक नेपालले जित निकालेको छ।
टी-२० अन्तर्राष्ट्रियमा नेपालका तर्फबाट ५ वटा शतक बनेका छन्। जसमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले शतक प्रहार गरेका छन्।
त्यस्तै नेपालका लागि करण केसीले टी-२० अन्तर्राष्ट्रियमा ९९ वटा विकेट लिएका छन्। आजको खेलमा उनले नेदरल्यान्ड्ससँग खेल्दै १०० विकेटको कीर्तिमान पूरा गर्ने मौका पाउनेछन्। यसअघि नेपालका लागि सन्दीप लामिछानेले टी-२० अन्तर्राष्ट्रियमा १०० विकेटको कोशेढुंगा पार गरेका छन्।
आजको खेलमा २०१४ यता नेपालको अधिकांश टी-२० अन्तर्राष्ट्रिय खेलेका सोमपाल कामी हुने छैनन्। चोटका कारण टिमबाट बाहिर रहेका सोमपालले १००औं खेलको अनुभव गुमाउनेछन्। सोमपालले भने हालसम्म टी-२० अन्तर्राष्ट्रियमा ७८ खेल खेल्दै ७६ विकेट लिएका छन्। उनी सर्वाधिक विकेट लिने नेपाली बलरको तेस्रो नम्बरमा रहेका छन्।
ब्याटिङतर्फ हालसम्म टी-२० अन्तर्राष्ट्रियमा कुशल मल्लले सर्वाधिक १३७ रनको अविजित पारी खेलेका छन्। उनले मंगोलियाविरुद्ध कीर्तिमानी शतक प्रहार गरेका थिए। उनले ५० बलमा ८ चौका र १२ छक्का प्रहार गर्दै १३७ रन बनाएका थिए।
टी-२० अन्तर्राष्ट्रियमा दीपेन्द्र सिंह ऐरीले ९ बलमा अर्धशतक बनाएका छन्। यो कीर्तिमान भने अकाट्य छ। यो रेकर्ड बराबरीमात्र हुन सक्छ, टुट्न असम्भव छ।
हालसम्म टी-२० अन्तर्राष्ट्रियको एकै इनिङ्समा सर्वाधिक विकेट लिने नेपाली बलरको रेकर्ड भने अभिनास बोहोराको नममा रहेको छ। उनले १९औं एसियन गेम्समा माल्दिभ्सविरुद्ध ३.४ ओभरमा ११ रन खर्चेर ६ विकेट लिएका छन्।
टिमका लागि नेपालले एसियन गेम्समा मंगोलियाविरुद्ध ३१४ रन बनाएको थियो। यो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा सर्वाधिक ठूलो लक्ष्यको दोस्रो स्थानमा छ। नेपालका लागि भने यो हालसम्मको ९९ वटा टी-२० अन्तर्राष्ट्रियमा बनाएको सबैभन्दा ठूलो रन हो।
नेपालले नेदरल्यान्ड्सविरुद्ध २३८ रनको पारी खेलेको थियो। यो नेपाली क्रिकेटको टी-२० अन्तर्राष्ट्रिय इतिहासमा दोस्रो सर्वाधिक रन हो। यो खेलमा नेपालले नेदरल्यान्ड्सलाई १४२ रनले हराएको छ। उक्त खेलमा नेदरल्यान्ड्स १७.२ ओभरमा ९६ रन बनाउँदै अलआउट भएको थियो।
प्रतिक्रिया दिनुहोस !