राति निदाउनै सक्दिनँ, डा. साब !
मध्यमवर्गीय परिवारका एक पुरुष उपचार गराउन मकहाँ आए । के भयो, तपाईंलाई ? मैले सोधें । उनले भने, ‘जति कोसिस गर्दा पनि राति निदाउनै सक्दिनँ, डा.साब ।’
५५ वर्षीय ती पुरुषलाई झैं तपाईंलाई राति मस्तसँग निद्रा लाग्दैन ? निद्राको समस्याले सताएको छ ? निद्रा नलाग्ने अर्थात् अनिद्रा (इन्सोम्निया)को समस्या भएको व्यक्तिलाई राति निदाउन कठिन हुन्छ ।
निद्रा शरीरको एउटा नियमित प्रक्रिया हो । जसले दिनभर शरीरलाई चलायमान र दिमागलाई आराम प्रदान गर्छ । उमेरअनुसार निद्राको आवश्यकता पनि फरक हुन सक्छ । त्यस्तै व्यक्तिअनुसार पनि निद्राको आवश्यकता फरकफरक हुन सक्छ । विशेषगरी बालबालिकाका लागि वयस्कको भन्दा ज्यादा निद्रा आवश्यक हुन्छ । औसत वयस्कका लागि ८ देखि ९ घण्टाको गहिरो निद्रा आवश्यक हुन्छ भने कसैलाई ४ देखि ६ घण्टाको गहिरो निद्रा नै पर्याप्त हुन सक्छ । तर, सबै जनाको लागि रातिको समयमा गहिरो निद्रा हुनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।
के छ कारण ?
अनिद्रा मुख्यगरी दुई प्रकारको हुन्छ, छोटो अवधि र लामो अवधि । छोटो अवधिको अनिद्रा दुई /चार दिनदेखि दुई /तीन हप्तासम्मका लागि हुन्छ । लामो अवधिको अनिद्रा महिनौंसम्म रहन सक्छ । कतिपयलाई निदाइसकेपछि पनि बीचबीचमा निद्रा टुट्ने, बिहान चाँडै निद्रा खुल्ने र फेरि निदाउन समस्या भएको पनि हुन सक्छ ।
कतिपय व्यक्तिलाई अनिद्रामात्रै हुने र अन्य समस्या केही पनि नभएको अवस्था पनि हुन सक्छ । यसलाई प्राइमरी इन्सोम्निया भनिन्छ । अन्य कुनै कारण शारीरिक रोग वा मानसिक रोग (डिप्रेसन, एन्जाइटी डिसअर्डर आदि) को लक्षणका रूपमा आउने अनिद्रालाई सेकेन्डरी इन्सोम्निया भनिन्छ । विशेषतः एन्जाइटी, डिप्रेसनका ५० प्रतिशत बिरामीमा अनिद्राको समस्या आउन सक्छ ।
उपचार छ
निद्राको समयतालिका बनाएर सोहीअनुसार पालना गर्नुपर्छ । सुत्ने र उठ्ने समयतालिका बनाउनुपर्छ । बिदाको समय होस् वा विदेशमा यात्रा गरेको बेलामा होस् । राति सुत्ने समय र बिहान उठ्ने समय भरसक एउटै बनाउने बानी बसाल्नुपर्छ ।
सुत्ने कोठा आरामदायी हुनुपर्छ भने वातावरण शान्त र अँध्यारो हुनुपर्छ । ओछ्यान सुत्नका लागि मात्र प्रयोग गरिएको हुनुपर्छ । सुत्नेबाहेकको समय ओछ्यानमा सकेसम्म नबिताउनु नै राम्रो हुन्छ ।
ज्यादा स्क्रिन टाइमले दिमागलाई उत्तेजित गर्ने हुँदा सुत्नुभन्दा करिब एक, डेढ घण्टा आफूलाई आराम महसुस हुने क्रियाकलापहरू जस्तै पेन्टिङ, ड्रइङ, डायरी लेखन, सिलाइबुनाइ, किताब पढ्ने, संगीत सुन्ने गर्न सकिन्छ । मसाज तथा हल्का शारीरिक व्यायाम अथवा योग पनि गर्न सकिन्छ । आफ्नो सुत्ने कोठामा सकेसम्म आवाज आउने घडी नराखेको राम्रो हुन्छ । सुत्नुअघि मस्तिष्कलाई उत्तेजित पार्ने क्रियाकलाप इन्टरनेट, सामाजिक सञ्जाल, टेलिभिजन आदि प्रयोग गर्नु हुँदैन ।
खानपिनमा रक्सी, चुरोट र कफी सेवन नगर्नु राम्रो हुन्छ । खाना नियमित समयमा खाने, सुत्नुअघि धेरै नखाने र ओछ्यानमा जानुभन्दा दुई घण्टा अगाडि खाने बानी बसाल्नु राम्रो हुन्छ । दैनिक शारीरिक व्यायामअन्तर्गत सकिन्छ भने दिनहुँ एक घण्टा हिँड्ने बानी बसाउनुपर्छ । दिउँसो सकेसम्म सुत्नु हुँदैन ।
यी बाहेक अन्य शारीरिक वा मानसिक समस्या भएको खण्डमा ती अवस्थाको पहिचान गरी चिकित्सकको परामर्शमा औषधि सेवनको आवश्यकता हुन सक्छ । एन्जाइटी वा डिप्रेसनको समस्या छ भने ती रोगको उपचारसँगसँगै अनिद्राको समस्या पनि समाधान हुँदै जान्छ ।
प्रतिक्रिया दिनुहोस !