डोटी जिप दुर्घटना : तीन जनाको मृत्यु, पाँच घाइते
डोटी : डोटीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। जिल्लाको आदर्श गाउँपालिका-१ खिरधार धौलामाटी भन्ने ठाउँमा शुक्रबार दिउँसो जिप दुर्घटना भएको हो।
आदर्श गाउँपालिकाको दहबाट दिपायलतर्फ आउँदै गरेको सुपप्र ०१ ००१ ज १३९५ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। जिप घुम्तीमा अनियन्त्रित भएर सडकबाट अन्दाजी २५० मिटर तल भीरमा खसेको प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले बताए।
प्रहरीका अनुसार दुर्घटनामा सायल गाउँपालिका-४ सुण्ड निवासी ४१ वर्षीया हरुदेवी विक, जिप चालक आदर्श गाउँपालिका-७ दडिमानाका २७ वर्षीय सुरेश कार्की र सायल गाउँपालिका-६ कटुवाल गाँउकी ३५ वर्षीया काली कटुवालको मृत्यु भएको हो। मृतक कटुवाल गर्भवती रहेको प्रहरीले जनाएको छ।
विक र जिप चालक कार्कीको घटनास्थलमै मृत्यु भएको हो भने कटुवालको उपचारका क्रममा जिल्ला अस्पताल डोटीमा मृत्यु भएको हो। दुर्घटनामा आदर्श गाउँपालिका-३ नुवाकोटकी १४ वर्षीया अनिता विक, सोही ठाउँकी १६ वर्षीय स्यानु विक, आदर्श गाउँपालिकाका-७ दडिमानाका २२ वर्षीय कैलाश विष्ट, सोही ठाउँका १४ वर्षीय दीपक विष्ट घाइते भएका छन्। त्यस्तै मृतक कटुवालकी ९ वर्षीया छोरी सविता कटुवाल पनि घाइते भएकी छन्।
दुर्घटनाका घाइतेको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ। दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !