गुल्मीका स्थानीय तहको बजेट सार्वजनिक : मुसिकोटको सबैभन्दा बढी र इस्माको कम

गुल्मीका स्थानीय तहको बजेट सार्वजनिक : मुसिकोटको सबैभन्दा बढी र इस्माको कम

गुल्मी : गुल्मीका सबै स्थानीय तहहरूले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट ल्याएका छन्। जिल्लाका दुई नगरपालिका र १० गाउँपालिकामध्ये ९ स्थानीय तहले मंगलबार र इस्मा गाउँपालिकाले सोमबार बजेट ल्याएको हो।

जिल्लाका १२ स्थानीय तहमध्ये सबैभन्दा बढी बजेट मुसिकोट नगरपालिकाले ल्याएको छ।  मुसिकोटले ७० करोड १४ लाख ७८ हजार रुपैयाँको बजेट ल्याएको हो।  उपप्रमुख गङ्गा श्रेष्ठले नगरसभामा बजेट प्रस्तुत गर्दै ४८ करोड ५६ लाख ८७ हजार चालू खर्च र २१ करोड ५७ लाख ९० हजार पुँजीगत खर्च विनियोजन गरिएको जानकारी दिइन्। 

त्यस्तै गाउँपालिकामध्ये सबैभन्दा कम बजेट इस्मा गाउँपालिकाले ल्याएको छ। इस्माको कुल बजेट ४९ करोड ५२ लाख ३७ हजार रुपैयाँ रहेको छ। गाउँपालिकाको १८ औँ गाउँसभामा उपाध्यक्ष पार्वती कुँवरले पालिकाले ल्याएको जनमुखी नीति कार्यक्रमलाई टेकेर आगामी वर्षको बजेट ल्याएको उल्लेख गरिन्। इस्माले पुँजीगत तर्फ ३१ करोड ८२ लाख ८८ हजार ८९९ रुपैयाँ र चालूतर्फ १७ करोड ६९ लाख ४८ हजार १८० रुपैयाँ बजेट विनियोजन गरेको छ। बजेटले पालिकाको पूर्वाधार विकास, कृषि सुधारसहित स्वास्थ्य शिक्षा लगायतका क्षेत्रलाई प्राथमिकता दिएको छ। 

त्यस्तै रेसुङ्गा नगरपालिकाले ६७ करोड २१ लाख १० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरप्रमुख खिलध्वज पन्थीले कृषि, पर्यटन, शिक्षा र पूर्वाधारलाई प्राथमिकतामा राखिएको जानकारी दिए। नगरपालिकाले एसइईमा ४ जीपिए ल्याउने विद्यार्थीलाई १ लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने भएको छ भने नगरमै ११ र १२ कक्षा अध्ययन गरेमा थप ५० हजार छात्रवृत्ति प्रदान गर्ने व्यवस्थासहितको बजेट ल्याएको छ। बजेटमा स्वास्थ्य, शिक्षा, कृषि, रोजगारी तथा भौतिक पूर्वाधारलाई प्राथमिकता दिइएको छ। 

यस्तै मालिका गाउँपालिकाले ६१ करोड ८० लाख ८७ हजार ८७० रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। उपाध्यक्ष उपेन्द्र अर्यालले १८ औँ अधिवेशनको तेस्रो बैठकमा आर्थिक र विनियोजन विधेयक पनि सभा समक्ष प्रस्तुत गरेका थिए। गाउँपालिकाले गाँजा उत्पादनलाई वैधानिक बनाउने प्रक्रियालाई अगाडि बढाउने नीति ल्याएको छ। गाँजा खेतीको सम्भावनालाई संघ र प्रदेश सरकारसँग समन्वय गरेर यसबारे अध्ययन गरिने नीति ल्याएको मालिका गाउँपालिकाले जनाएको छ। 

मदाने गाउँपालिकाले ५४ करोड ९४ लाखको बजेट सार्वजनिक गरेको छ। गाउँसभाको १७ औँ अधिवेशनको दोस्रो बैठकबाट गाउँपालिका उपाध्यक्ष सरिता खड्काले आगामी वर्षको बजेट प्रस्तुत गरेकी हुन्।  बैठकमा ‘मदाने गाउँपालिकाको विनियोजन विधेयक २०८२’ र ‘आर्थिक विधेयक २०८२’ पेस गरिएको थियो।  

धुर्कोट गाउँपालिकाले पनि आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ६० करोड ५१ लाख ४ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । १७ औँ गाउँसभामा उपाध्यक्ष सीता गिरीले उक्त बजेट प्रस्तुत गरेकी हुन्।  

कालिगण्डकी गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि कुल ५७ करोड २ लाख ६३ हजारको अनुमानित बजेट ल्याएको छ। जसमा चालूतर्फ ३८ करोड ३४ लाख २० हजार र पुँजीगततर्फ १८ करोड ६८ लाख ४३ हजार रहेको छ। 

सत्यवती गाउँपालिका उपाध्यक्ष निरमाया तरामुले आगामी आर्थिक वर्षका लागिका कुल ५७ करोड ६५ लाख ८५ हजार बजेट सभामा पेस गरेकी छिन्।  

चन्द्रकोटले ५६ करोड २६ लाख ७२ हजार, गुल्मीदरबार गाउँपालिका ५६ करोड ३८ लाख ४० हजार,छत्रकोट गाउँपालिका ५८ करोड ८५ लाख  १६ हजार र रुरुक्षेत्र गाउँपालिका ५५ करोड ६६ लाख १९ हजार बजेट ल्याएका छन् ।  

पालिकाहरूले सार्वजनिक गरेको नीति तथा कार्यक्रम अनुसार बजेट सार्वजनिक गरेका हुन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.