संघीयभन्दा प्रदेश मातहतका कार्यालयको खर्च प्रगति कम
चालु आर्थिक वर्ष संघीय सरकार मातहतका कार्यालयमा १० अर्ब ७४ करोड ४० लाख ६७ हजार प्राप्त भएकोमा ९ अर्ब ७५ करोड १३ लाख ८ हजार अर्थात् ९०.७५ प्रतिशत मात्रै खर्च
गोरखा : गोरखाका संघमातहतका कार्यालयभन्दा प्रदेश मातहतका कार्यालयहरूको खर्च प्रगति कम देखिएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालयबाट प्राप्त तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/८२ मा संघ मातहतका कार्यालयबाट भन्दा प्रदेश माताहतका कार्यालयबाट कम खर्च प्रगति कम भएको देखिएको हो।
तथ्यांकअनुसार चालु आर्थिक वर्ष संघीय सरकार मातहतका कार्यालयहरूमा १० अर्ब ७४ करोड ४० लाख ६७ हजार रुपैयाँ प्राप्त भएको थियो। जसमध्य ९ अर्ब ७५ करोड १३ लाख ८ हजार रुपैयाँ अर्थात ९०.७५ प्रतिशत खर्च भएको प्रमुख कोष नियन्त्रक इन्द्रप्रसाद पौडेलले जानकारी दिए।
१० अर्बमध्य चालुतर्फ आठ अर्ब १७ करोड ९३ लाख रुपैयाँ प्राप्त भएकोमा सातअर्ब ७७ करोड ६४ लाख ४२ हजार ८०८(९५ प्रतिशत) खर्च प्रगति भएको छ।
त्यस्तै पुँजीगततर्फ जम्मा दुई अर्ब ५६ करोड ४६ लाख ८६ हजार प्राप्त भएकोमा एक अर्ब ९७ करोड ४८ लाख ६५ हजार ५९४ रुपैयाँ(७७ प्रतिशत) खर्च भएको प्रमुख कोष नियन्त्रक पौडेलले जानकारी दिए।
त्यस्तै प्रदेश सरकार माताहतका कार्यालयहरूबाट खर्च गर्ने गरी गोरखामा तीन अर्ब ६९ करोड १३ लाख ११ हजार ४०२ रुपैयाँ प्राप्त भएको थियो। जसमध्य तीन अर्ब ६ करोड ४४ लाख ७७ हजार ६०५ रुपैयाँ अर्थात ८३ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय गोरखाले जनाएको छ। कुल विनियोजित ३ अर्ब ९१ करोडमध्य चालुतर्फ ९० करोड ९९ लाख चार हजार ४०२ रुपैयाँ प्राप्त भएको थियो।
जसमध्ये ६९ करोड ८६ लाख ४८ हजार ६७८ रुपैयाँ (७६.७८ प्रतिशत) खर्च भएको छ। त्यस्तै पुँजीगततर्फ दुई अर्ब ७८ करोड १४ लाख सात हजार रुपैयाँ विनियोजन भएकामा दुई अर्ब ३६ करोड ५८ लाख २८ हजार ९२६ रुपैयाँ (८५ प्रतिशत) खर्च भएको प्रमुख कोष नियन्त्रक पौडेलले जानकारी दिए। प्रदेश सरकार माताहत गोरखास्थित पूर्वाधार विकास कार्यालयले ८१.३२ प्रतिशत मात्र खर्च प्रगति गरेको छ।
चालु वर्ष खर्च गर्नेगरी सो कार्यालयलाई प्रदेश सरकारबाट एक अर्ब ८३ करोड ३७ लाख २५ हजार रुपैयाँ प्राप्त भएको थियो। सो बजेटबाट २५२ वटा योजना सञ्चालन गर्नुपर्ने थियो। जसमध्य एक अर्ब ४९ करोड ११ लाख ३० हजार ८११ रुपैयाँ खर्च गरेको कार्यालयकी सूचना अधिकारी सर्मिला थापाले जानकारी दिइन्। उनका अनुसार सो कार्यालयबाट ३४ करोड २५ लाख ९४ हजार १८९ रुपैयाँ फिर्ता भएको छ।
त्यस्तै प्रदेश सरकार अन्तर्गतकै सिँचाइ डिभिजन कार्यालयका लागि १४ करोड ९७ लाख रुपैयाँ विनियोजन भएको थियो। सो बजेटबाट ७६ वटा कार्यक्रम सञ्चालन गर्नुपर्ने थियो। त्यसमध्य कार्यालयले १३ करोड ५७ लाख ८५ हजार रुपैयाँ (९१ प्रतिशत) खर्च प्रगति गरेको इञ्जिनियर ईश्वर ज्ञावलीले जानकारी दिए। त्यसैगरी प्रदेश सरकार माताहतकै भेटेरीनरी अस्पताल तथा पशु विज्ञकेन्द्रबाट सञ्चालन गर्नेगरी ६ करोड ३० लाख रुपैयाँ प्राप्त भएकोमा चार करोड ४९ लाख ९८ हजार ९६३ रुपैयाँ खर्च भएको लेखा शाखाले जानकारी दिएको छ।
त्यस्तै प्रदेश सरकार माताहतकै खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयबाट खर्च गर्ने गरी चालु आर्थिक वर्ष ६० करोड ४८ लाख रुपैयाँ प्राप्त भएको थियो। जसमध्य ५९ करोड ४२ लाख २४ हजार सातसय रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ। प्रदेश सरकार माताहतकै कृषि ज्ञानकेन्द्र गोरखाका लागि यस आर्थिक वर्ष विभिन्न १३ वटा कार्यक्रम सञ्चालन गर्न ६ करोड ६८ लाख रुपैयाँ विनियोजन गरिएको थियो। त्यसमध्य पाँच करोड ८० हजार (४७.८९ प्रतिशत) खर्च प्रगति भएको सूचना अधिकारी सुमन भट्टराईले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !