भोटेकोशीमा बेपत्ता भएका गोरखाका दुईजनाको आफन्त सम्पर्कमा आएनन्
गोरखा : रसुवाको भोटेकोशीको बाढीमा परी बेपत्ता भएका गोरखाका दुईजनाका आफन्त शव सनाखत गर्न नआएको प्रहरीले जनाएको छ। सो बाढीमा कन्टेनर चालक गोरखा पालुङटार निवासी दिलबहादुर तामाङ र धनबहादुर विश्वकर्मा पुरिएर बेपत्ता भएका भनिए पनि हालसम्म शवको सनाखत गर्न उनीहरुका आफन्त नआएका जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
गत असार २४ गते तिब्बतबाट कन्टेनरमा सामान ढुवानी गरिरहेका बेला अचानक भोटेकोशीमा बाढी आई कन्टेनरसहित ११ जना बेपत्ता भएका थिए। पालुङ्टार ६ गोरखाका भनिएका विक र तामाङ रसुवागढी भन्सार कार्यालय टिमुरेमा कन्टेनर चालकको रुपमा कार्यरत थिए। हाल विभिन्न व्यक्तिहरुको शव फेला परिरहेको र लास जाँच प्रकृति मुचुल्का गरी रसुवा जिल्ला अस्पतालको शव गृहमा राखिएको छ। तर शव सनाखत गर्न गोरखाका कोही पनि सम्पर्कमा नआएका प्रहरी एसपी भरत विकले जानकारी दिए।
शव सनाखत तथा दाबी गर्न कोही पनि नआए पनि जिल्ला प्रहरी कार्यालय गोरखाले सार्वजनिक सूचना जारी गरी यथेस्ट प्रमाण पुग्ने गरी शव दावी गर्न आउन आग्रह गरेको छ। ‘नाम र ठेगानामा पालुङ्टार ६ निवासी दिलबहादुर तामाङ र धनबहादुर विक उल्लेख छ तर अहिलेसम्म कोही पनि सनाखत गर्न आउनु भएको छैन’, एसपी विकले भने, ‘हामीले पालुङटार ६ मा मृतकको घर भए नभएको खोजबीन पनि गर्यौँ तर, कसैले पनि आफन्तजन हराइरहेको दाबी गर्नुभएन।’ ठेगाना फरक भएको पनि हुन सक्ने भन्दै प्रहरीले आफन्त हराइरहेका भए सम्पर्कमा आउन आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस !