मर्जरको विरोध गर्दै खत्रीटार सहरी स्वास्थ्य केन्द्रमा तालाबन्दी
गोरखा : १० वर्षदेखि सञ्चालनमा रहेको स्वास्थ्य संस्था बन्द गर्ने नगरपालिकाको निर्णयको विरोध गर्दै पालुङटार–७ का बासिन्दाले स्थानीय स्वास्थ्य संस्थामा तालाबन्दी गरेका छन्। सहरी स्वास्थ्य केन्द्र व्यवस्थापन समिति र स्थानीयवासीले खत्रीटार सहरी स्वास्थ्य केन्द्रमा ताला लगाएका हुन्।
स्थानीय रामेश्वर केशीले भने,‘यो स्वास्थ्य केन्द्रको क्षेत्रभित्र करिब तीनसय घरधुरीका बासिन्दा बस्छन्। दैनिक २० जनाभन्दा धेरै बिरामीले यहाँबाट सेवा लिइरहेका छन्। स्वास्थ्य केन्द्रको भवन बनाउन हामीले जग्गा पनि दिएका हौं। तर अहिले नगरपालिकाले स्थानीयवासीलाई जानकारी नदिएरै बन्द गरेर भोटेकाटे स्वास्थ्यचौकीमा मर्ज गर्ने निर्णय ग¥यो। यो हामीलाई मान्य छैन।’
पालुङटार नगर कार्यपालिकाले स्वास्थ्य केन्द्र बन्द गर्ने निर्णय गरेको थियो। यहाँ कार्यरत अहेब बिमला कँडेललाई मिरकोट स्वास्थ्य चौकीमा, अनमी कल्पना त्रिपाठीलाई सेवा स्वास्थ्य केन्द्रमा सरुवा गरेको नगरपालिकाले जनाएको छ। १० वर्षदेखि कार्यरत कार्यालय सहयोगी सुनिता कुमाललाई भने निष्कासन गर्ने नगरपालिकाले जनाएको छ।
वडा नम्बर ६ भोटेकाटेमा स्तरीय स्वास्थ्य संस्था स्थापना गर्ने र खत्रीटार सहरी स्वास्थ्य केन्द्र त्यसमै मर्जर गर्ने कार्यपालिकाको निर्णय रहेको स्वास्थ्य शाखा प्रमुख सिर्जना पोखरेलले जानकारी दिइन्।
प्रतिक्रिया दिनुहोस !