विकास गाउँ पस्यो, गाउँले सहर पसे
गोरखा : अजिरकोट–४, सिम्जुङका ५८ वर्षीय कालु गुरुङ सदरमुकाम जानुपरे बिहान चारै बजे घरबाट झोला बोकेर निस्कन्थे। दिनभर पैदल हिँडेर गोरखा बजार पुग्दा साँझ ६ बज्थ्यो। ‘गँगटेको ठाडो उकालो हिँडेको कहिल्यै बिर्सन सकिन्न’, २० वर्षअघिको स्मरण गर्दै उनी भन्छन्, ‘दुई घण्टा ठाडै उकालो हिँड्नुपथ्र्यो। भरे बेलुका नारेश्वर भोगटेनी पुग्दा लखतरान। गोरखा पुगेपछि हल न चल भएर सुत्नुपथ्र्यो।’
अजिरकोट–१, घ्याच्चोकका झन्डै तीन बीस पुगेका अर्का मनु गुरुङको सम्झना पनि उस्तै छ। तर, आजभोलि बिहान सातबजेको बस चढे साढे १० वा ११ बजेतिर गोरखा पुगिन्छ। ‘भालेको डाँकसँगै उठेर झोला बोकेर दिनभरि हिँडेपछि साँझतिर बल्लतल्ल गोरखा पुगिन्थ्यो’, उनी भन्छन्, ‘अहिले त एकै दिनमा गोरखा पुगेर अफिसको काम सकेर भेट्नुपर्ने मान्छे भेटेर साँझ बस चढेर घर आइपुगिन्छ।’ गत वर्षसम्म पनि बाटोको समस्या थियो। ‘पोहोरसम्म पनि हिउँदभरि बस चल्थ्यो। असार लागेपछि बन्द भएको बस दसैं लागेपछि बाटो सफा गरेर मात्र चल्थ्यो’, मनु भन्छन्, ‘यो सालदेखि त रोड पिच भयो। हिउँद बर्खै कतै रोकिन्न।’ पहिले भन्दा अहिले धेरै सजिलो भएको उनको भनाइ छ।
‘अहिले त धेरै सजिलो नि’, मनु भन्छन्, ‘पहिले पाँच, सात घरको बीचमा एउटा धारा हुन्थ्यो। अहिले घरघरै धारा छ। गाग्री, अम्खोरा, ताउलो, खोपिया थन्किसके। गाग्री ताउलोभित्र अहिले माकुराले जालो लगाएका छन्। आँगनमा धारा छ। चाहिएको बेलामा मुख लगाएर पानी खान पाइन्छ। पहिले लघुको बिजुली थियो। बत्ती बाल्न त पुग्थ्यो। अहिले केन्द्रीय लाइनको बिजुली छ। मिलहरू चलाउन पाइएको छ। पहिले फोन गर्न पनि भच्चेक पुग्नुपथ्र्यो। अहिले वाइफाई छ। सबै कुरा हेर्न, सुन्न पाइन्छ।’ सहरको विकास गाउँ पसेको उनको भनाइ छ। ‘पहिले सहरमा मात्र हुने विकास अहिले गाउँ पसेको छ’, उनी भन्छन्, ‘तर मान्छे सहर पसे, क्यार्नु।’
सिम्जुङका नवीन विश्वकर्माको भनाइ पनि यसभन्दा फरक छैन। ‘विकास गाउँ पसेको छ। रोपाइँ गर्न ट्याक्टर छ। दाइँ गर्न थेसर छ। धान पराल बोक्न ट्याक्टर छ’, नवीन भन्छन्, ‘गाउँमा केही गर्छु भन्नेलाई सरकारले पनि हेरेकै छ तर के गर्नु, विकासले सहर जानेलाई तानेन।’ आयआर्जन नभएरै गाउँले सहर झरेको उनको निष्कर्ष छ। ‘पूर्वाधार विकास भएर मात्र हुन्न रहेछ, मान्छेको आर्थिक विकास ठूलो कुरा रहेछ’, उनी भन्छन्, ‘गाउँमा रोजगारीको अवसर खुल्ने हो भने सहर गएका, विदेश गएकाहरू आधाजसो फर्किन्छन्।’
विकास आएर मात्र हुन्न रहेछ, मान्छेबिनाको विकासको कुनै अर्थ छैन भन्छन् अजिरकोट ४ का वडाध्यक्ष जंग गुरुङ। ‘विकास त आयो, सडक, बत्ती, पानी, स्कुल, हेल्थपोस्ट, इन्टरनेट सबै गाउँमा छ। घ्याच्चोकसम्मको बाटो पिच भयो तर पिच रोडमा हिँड्ने मान्छे खोई ? घरघरमा बुढाखाडा मात्र छन्। खेतबारी बाँझै छ’, उनी भन्छन्, ‘पूर्वाधार विकासले मात्र हुन्न रहेछ। जीवन निर्वाह गर्ने बाटो चाहिने रहेछ। सरकारले लगानी गर्छु भन्दा पनि यहाँ काम गर्ने मान्छे छैनन्। त्यसैले अब धेरै गहिरोगरी सोचेर योजना बनाउनुपर्छ नत्र गाउँ केही वर्षभित्र रित्तिन्छ।’ गाउँमै रोजगारी, गुणस्तरीय शिक्षा र स्वास्थ्यको व्यवस्था भयो भने केही हदसम्म भने पनि गाउँमा मान्छे रहने उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !