ऐना पहरामा स्काइवाक निर्माण

ऐना पहरामा स्काइवाक निर्माण
सुन्नुहोस्

गोरखा : तनहूँ र गोरखाको सीमानामा अवस्थित ऐनापहरामा स्काइवाक निर्माण गरिएको छ । आँबुखैरेनी गाउँपालिका–२ र ४ को सीमानामा पर्ने ऐनापहराको झरनामाथि गाउँपालिकाको १५ लाख लागतमा स्काइवाक निर्माण गरिएको हो ।

स्काइवाक आउँदो नयाँ वर्षदेखि सञ्चालन गरिने आँबुखैरेनी विकास बोर्डका सदस्यसचिव किशोर सुवेदीले जानकारी दिए । ‘गत जेठको अन्तिम सातादेखि स्काइवाक निर्माण कार्य सुरु गरिएको हो । अहिले निर्माण सम्पन्न भएको छ’, उनले भने, ‘अब साउनदेखि नै सञ्चालन गर्नेछौं ।’
खोलाको सतहदेखि ८७ मिटर उचाइमा रहेको स्काइवाक ५० मिटर लामो रहेको उनले बताए । प्रत्येक पाइलाको बीचमा एक फिट खालि रहेको छ । साहसिक पर्यटनका लागि यो अत्यन्त उपयुक्त रहेको उनले बताए ।

स्काइवाकमा हिँड्दा हरियाली, शान्त पहरा र खुला आकाशको बीचमा एक अनौठो साहसिक अनुभव गर्न सकिने सुवेदीले बताए । सुरक्षा उपायसहितको उच्च गुणस्तरीय निर्माण भएकाले डर मान्नुपर्ने अवस्था छैन ।’

ऐना पहरालाई आँबुखैरेनी गाउँपालिकाले पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखेको छ । नयाँ जनप्रतिनिधि आएपछि यहाँ धेरै आकर्षक संरचनाहरू निर्माण गरेको वडाअध्यक्ष दिनेश केशीले बताए । ‘गाउँपालिकाले यसलाई पर्यटकीय केन्द्र बनाउने लक्ष्य राखेर दुई वर्षदेखि यहाँ विभिन्न पूर्वाधारहरू निर्माण गरेको छ’, उनले भने, ‘हामीले यहाँ गणेशको मूर्ति, हात्तीको मूर्ति, आमा छोरीको मूर्ति, जलपरीको मूर्ति, कार्यक्रम गर्ने ठूलो चौर, स्वीमिङ पुल निर्माण गरेका छौं । सबै गरेर अहिलेसम्म दुई करोड रुपैयाँ खर्च भइसकेको छ ।’ चार वर्षभित्र लागत असुल गरिसक्ने लक्ष्य रहे पनि दुई वर्षभित्रै मुनाफा आर्जन गर्ने उनले बताए ।‘यो आर्थिक वर्षमात्र हामीले ८७ लाख आम्दानी गरिसक्यौं’, उनले भने, ‘चार वर्षभित्र लागत उठाएर मुनाफा आर्जन गर्ने लक्ष्य थियो । दुई वर्षभित्र पूरा हुने भयो ।’

पृथ्वीराजमार्गसँगै जोडिएको यस ठाउँ पर्यटकको घुइँचो लाग्ने गर्छ । दैनिक एकहजारदेखि १५ सय जनासम्म पर्यटक यहाँ आउने सुवेदी बताउँछन् । ‘गाउँपालिकाले यहाँ टिकट काट्ने कर्मचारी, सरसफाइ कर्मचारी, सुरक्षागार्ड राखेका छौं’, आँबुखैरेनी विकास बोर्डका सदस्य सचिव सुवेदी भन्छन्, ‘क्याफ्टेरिया बनाएर भाडामा लगाएका छौं । यहाँ प्रवेश गर्ने नेपालीसँग ५० रुपैयाँ, सार्क मुलुककासँग एकसय रुपैयाँ र सार्कभन्दा बाहिरबाट आएकाहरूसँग प्रतिव्यक्ति पाँच सय रुपैयाँ असुल गर्छौं ।’ दैनिक १५ हजारदेखि २० हजार रुपैयाँ आम्दानी हुने उनले बताए ।

यता गोरखाको धार्चे ७ स्थित नौलीखोलाको स्काइवाक बनाउने कार्यक्रमको बजेट भने फ्रिज भएको छ । मुख्यमन्त्री नवप्रवर्धन कार्यक्रमअन्तर्गतको ८० लाख र गाउँपालिकाको ५० लाख लागत साझेदारीमा तय भएको योजनाको बजेट फ्रिज भएको गाउँपालिकाले जनाएको छ ।‘नौलीखोलामाथि सिसाको पुल बनाउन एक करोड ३० लाख रुपैयाँ बजेट आएको थियो । तर ठेकेदारले केही पनि काम नगर्दिँदा बजेट फ्रिज भएको छ’, गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले भने, ‘अब त्यो शीर्षकको बजेट आएन भने गाउँपालिकाले सबै ब्यहोरेर बनाउनुपर्ने हुन्छ ।’ बनाउने भनेर निर्धारण मानसिक रूपमा तयार भइसकेको र डीपीआर पनि भइसकेको कार्यक्रम भएकाले गाउँपालिका स्वयंले पनि बनाउन सक्ने उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.