नयाँ सडक खन्ने कार्यक्रम शून्य हुँदै
गोरखा : गोरखामा नयाँ सडकको ट्र्याक खन्ने कार्यक्रम शून्य हुँदै गएको छ । सडक योजना कार्यालय, पूर्वाधार विकास कार्यालय, स्थानीय पूर्वाधार कार्यालय पोखरा र पालिकाहरूले नयाँ ट्र्याक खन्ने कार्यक्रमलाई न्यूनीकरण गर्दै लगेका हुन् ।
कतिपय पालिकाहरूले गत आर्थिक वर्षदेखि नै नयाँ ट्र्याक खन्ने कार्यक्रमलाई अन्त्य गरिसकेका छन् । सडक सञ्जाल विस्तार नभएका हिमाली भेगको चुमनुब्री र दुर्गम भेगमा पर्ने धार्चे गाउँपालिका बाहेक अन्य पालिकाले आउँदो वर्षदेखि नयाँ ट्र्याक विस्तारको कार्यक्रमलाई शून्य बनाएको जनाएका छन् ।
जिल्लाभर सडक निर्माणको जिम्मा लिएको सडक योजना कार्यालयले गत आर्थिक वर्ष जम्मा ३.७ किलोमिटर नयाँ ट्र्याक निर्माण गरेको छ । सूचना अधिकारी आशिक रिजालका अनुसार ३३.७ किलोमिटर कालोपत्रे र १८ किलोमिटर ग्राभेल गरेको सो कार्यालयले जम्मा तीन किलोमिटर मात्र नयाँ ट्र्याक निर्माण गरेको हो ।
त्यस्तै सडक निर्माणको धेरै काम गरिरहेको पूर्वाधार विकास कार्यालय गोरखाले जम्मा १२ किलोमिटर नयाँ ट्र्याक निर्माण गरेको जनाएको छ । कार्यालय प्रमुख गणेश सुवेदीका अनुसार सो कार्यालयले २१.७ किलोमिटर कालोपत्रे र ९.३६ किलोमिटर ग्राभेल गरेको थियो ।
गोरखा नगरपालिकाले गत आर्थिक वर्ष कुनै पनि नयाँ ट्र्याक निर्माण नगरेको इन्जिनियर प्रकाश ढकालले जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठका अनुसार आरुघाट गाउँपालिकामा पनि नयाँ सडक कत्ति पनि निर्माण भएको छ्रन् । बारपाक सुलिकोट गाउँपालिकाले पनि कुनै पनि नयाँ ट्र्याक निर्माण नगरेको प्रमुख प्रशासकीय अधिकृत सुवास आलेले जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत चित्र अधिकारीले भीमसेनथापा गाउँपालिकामा पनि सडकको नयाँ ट्र्याक निर्माण गरिएन । सिरानचोक गाउँपालिकामा पनि नयाँ ट्र्याक कत्ति पनि निर्माण नगरिएको प्रमुख प्रशासकीय अधिकृत ठाकुर अर्यालले जानकारी दिए ।
‘गत आर्थिक वर्ष १५३ मिटर मात्र नयाँ ट्र्याक खन्यौं’, सहिद लखन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगरले भने, ‘आउँदो आर्थिक वर्ष त नयाँ ट्र्याक खन्ने कार्यक्रम कुनै पनि छैन । बनिसकेका सडकलाई स्तरोन्नति गर्ने कार्यक्रम मात्र छ ।’
पालुङटार नगरपालिकाले भने गत आर्थिक वर्ष २२ सय ७५ मिटर नयाँ ट्र्याक निर्माण गरेको जनाएको छ । १२ सय ५० मिटर सडक कालोपत्रे, २३ सय ४५ मिटर आरिससी ढलान र ४२ सय ८० मिटर सडक ग्राभेल गरेको सो नगरपालिकाले आउँदो वर्ष भने नयाँ ट्र्याक खन्ने कार्यक्रम नरहेको इन्जिनियर नवीन पोखरेलले जानकारी दिए ।
सदरमुकामबाट टाढा रहेको अर्को अजिरकोट गाउँपालिकाले गत आर्थिक वर्ष दुई किलोमिटर सडकको नयाँ ट्र्याक खनेको छ । हिमालपारिको चुमनुब्री गाउँपालिकामा नेपाली सेनाले दुई किलोमिटर नयाँ सडकको ट्र्याक खनेको जनाएको छ । तिब्बती सीमाना जोड्ने लक्ष्यका साथ १६० किलोमिटर सडक निर्माणमा जुटिरहेको नेपाली सेनाले गत आर्थिक वर्ष दुई किलोमिटर ट्र्याक निर्माण गरेको पूर्णचन्द्र ढकालले जानकारी दिए ।
गण्डकी गाउँपालिकाले पनि गत आर्थिक वर्ष ४५ सय मिटर नयाँ सडकको ट्र्याक खनेको छ । त्रिशूलीवारि पृथ्वी राजमार्गको समानान्तर राजमार्ग निर्माण गर्ने बहुवर्षीय कार्यक्रमअन्तर्गत गत आर्थिक वर्ष ४५ सय मिटर ट्र्याक निर्माण गरेको योजना शाखाका गोपी कोइरालाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !