नाका खुल्यो, बजारसम्म जान पाइएन
गोरखा : केही दिनअघि गोरखा र तिब्बतबीचको दुवै नाका खुले । स्थानीयवासीले बोर्डरपास नवीकरण गरे । तर बीच बाटोमा हाट बजार खडा गरी मुख्य बजारसम्म पुग्न नदिएको स्थानीयवासीले गुनासो गरेका छन् ।
चिनियाँ सरकारले चुमनुब्री गाउँपालिका— १ को रुइला र वडा नं. ७ को मुलाढाज्यान नाका केही महिनाका लागि खुल्ला गरेको हो । सिमाना क्षेत्रका बासिन्दा बोर्डरपास लिएर सीमा क्षेत्रबाट ३० किलोमिटर भित्रसम्म जान सकिने व्यवस्था छ । तर नाका खुले पनि सामान किन्न र पुरानो हिसाब किताब गर्न मुख्य बजार क्षेत्रमा जान नपाएको वडा नं. ७ का दोर्जे लामाले बताए । ‘कोरोना अघिदेखि नै जोङ्गा सहरका साहुजीहरूसँग लेनदेन बाँकी छ’, दोर्जेले भने, ‘तर हामीलाई स्यासम्ममात्र जान दियो । स्यामा एउटा ठूलो सपिङ मल रहेछ । त्यहाँभित्र पसेपछि चापी लगाइदिने रहेछ । बस्ने खाने, सामान किन्ने सबै त्यहीँ मात्र हो । बाहिर निस्केर हिँड्ने, अन्य पसलमा सामान किन्न पोहोरजस्तै यसपटक पनि पाइएन । चाहिएको सामान अर्डर गरेपछि उनीहरूले जोङ्गाबाट ल्याइदिने रहेछ ।’
यसपटक भने व्यवसायीलाई भेटेर वनलसुन, यार्सागुम्बा बेच्न पाएको भन्दै उनले खुसी व्यक्त गरे । जोङ्गामा पुराना व्यवसायीसँग लेनदेन बाँकी रहेको तर भेट्न नपाउँदा मर्कामा परेको उनको भनाइ छ । ‘हाम्रा मान्छेहरूसँग पैसा लिनुपर्नेहरू चाहिँ सपिङ मलमा आए, भेटेर लिनुपर्ने पैसा उठाएर लगे तर हामीले जोङ्गाका मान्छेहरूसँग लिनुपर्नेहरू कहाँ पैसा उठाउन जान पाएनौं’, उनले भने ।
चुमनुब्री—१ का बासिन्दा पनि नाका खुल्ला भएपछि सामान किन्न रुईको हाटबजारसम्म पुगेका छन् । त्यहाँ त्रिपाल टाँगेर अस्थायी हाटबजार निर्माण गरिएको छ । रुई गाउँसम्म पनि जान नपाएको स्थानीय नाङ्स्याल छोदेनको भनाइ छ । ‘रुईभन्दा आधा घण्टाको बाटो यता टेन्ट टाँगेर बनाएको अस्थायी बजारसम्म मात्र जान पायौं’, उनले भनिन्, ‘त्यहाँबाट सामान किनेर बोर्डरसम्म गाडीमा ल्याइदिने रहेछन् । बोर्डरबाट हाम्रो याक, चौरीमा बोकाएर सामान ल्यायौं ।’
सीमा क्षेत्रका बासिन्दाले तिब्बती हाटबाट चिया, कफी, घिऊ, जुत्ता, बक्खु बनाउने धागो, गहुँ टिप्ने मेसिन, गहुँ, करु, सिमेन्ट, रड, काठलगायतका सामान ल्याएका छन् । ‘विगतमा भन्दा यसपटक ल्याउने सामान घटेको छ’, दोर्जेले भने, ‘पहिले चामल, पिठो, नुन, तेललगायत सबै खाद्यान्न तिब्बतबाट ल्याउनुपर्दथ्यो । यसपटक धेरैजसो नेपालबाट लैजाँदा सस्तो पर्ने भएर यतैबाट लैजान्छौं ।’ विगतमा भन्दा यसपटक नेपालीले सामान कम किनेको बारे उताका व्यवसायीले जिज्ञासा राखेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस !