ख्वप कलेजले दियो ४४ लाख बढीको छात्रवृत्ति
भक्तपुर : भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजले मंगलबार ९३ जना विद्यार्थीलाई छात्रवृत्ति रकम वितरण गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले कलेजमा स्नातक तहको इन्जिनियरिङ र आर्किटेक्चर शैक्षिक कार्यक्रम २०७७, २०७८, २०७९ र २०८० मा भर्ना भई अध्ययनरत गरिब, जेहनदार तथा अनुशासित विद्यार्थीलाई ४४ लाख २८ हजार बराबरको छात्रवृत्ति रकम हस्तान्तरण गरेका हुन्।
नगरप्रमुख प्रजापति कमजोर विद्यार्थीलाई उत्कृष्ट अंकसहित परीक्षामा उत्तीर्ण गराउनमा शिक्षकको सफलता रहने बताउँछन्। ‘विद्यार्थीलाई न्यून शुल्कमा प्राविधिक शिक्षा प्रदान गर्ने, सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्न र २१औं शताब्दीका लागि योग्य विद्यार्थी उत्पादन गर्ने उद्देश्यले नगरपालिकाले विभिन्न विषयका कलेजहरू स्थापना गरेको हो’, प्रमुख प्रजापति भन्छन्, ‘भक्तपुर नगरपालिकाबाट सञ्चालित कलेजहरू जनताको श्रम र करबाट सञ्चालित सामुदायिक कलेज हो। छात्रवृत्ति प्राप्त विद्यार्थीहरूले जहिल्यै देश र समाजप्रति उत्तरदायी बन्नुपर्छ। हाम्रो शिक्षा विदेशको सेवाको लागि हुनुहुन्न।’
नयाँ पुस्तामा सरकारप्रति अविश्वासले गर्दा नेपाली विद्यार्थी विदेश पलायन हुने प्रवृत्ति विकास भइरहेको बताउँदै उनले विद्यार्थीलाई परीक्षामा उत्तीर्ण मात्र होइन, आफूले अध्ययन गरेको विषयमा विशेषज्ञता हासिल गर्ने ढंगले उच्च शिक्षा अध्ययनमा जोड दिनुपर्ने बताए। साथै इन्जिनियरिङ विषयमा भ्रष्टाचार तथा आर्थिक अनियमितताका विषयहरू धेरै हुने गरेको हुँदा आफ्नो कार्यक्षेत्रमा सतर्कता अपनाएर काम गर्नुपर्ने बताउँदै उनले भने,‘ देशमा इन्जिनियरहरूको कमी छैन, इमानदार इन्जिनियरहरूको अभाव भएको हो।’
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजले आर्थिक वर्ष २०८१/८२ मा कलेजमा अध्ययनरत स्नातक तहका आर्किटेक्चर, सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ र इलेक्ट्रोनिक्स, कम्युनिकेसन एन्ड अटोमेसन इन्जिनियरिङका विद्यार्थीलाई १ करोड ६० लाख ६९ हजार ३ सय २६ रुपैयाँ वितरण गरिएको कलेजले जनाएको छ। त्यस्तै, आर्थिक वर्ष २०८१/८२ मा ख्वप कलेज अफ इन्जिनियरिङमा अध्ययनरत स्नातक तहका सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ र इलेक्ट्रिकल इन्जिनियरिङका विद्यार्थीहरूलाई १ करोड १० लाख ५९ हजार ५ सय ३३ रुपैयाँ वितरण गरिएको जनाएको छ। दुवै इन्जिनियरिङ कलेजको गरी जम्मा २ करोड ७१ लाख २८ हजार ८ सय ५९ रुपैयाँ छात्रवृति रकम वितरण गरिएको हो।
त्यस्तै, छात्रवृत्ति छनोट समितिका सदस्य एवं भक्तपुर–९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले विद्यार्थीले आर्थिक कारणबाट उच्च शिक्षा अध्ययनबाट वञ्चित नहोऊन् भन्ने उद्देश्यले गरिब, जेहेनदार तथा अनुशासित विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्दै आएको बताए।
कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले कलेजले प्रदान गर्दै आएको छात्रवृत्तिको उद्देश्य र प्रक्रियाबारे प्रस्ट पार्दै कलेजको नतिजालाई थप सुदृढ बनाउन कलेजले जोड दिँदै आएको बताए। विद्यार्थीहरूको छात्रवृत्ति सुविधा नभई अवसरको रूपमा प्रदान गरिएको बताउँदै उनले कलेजको आचारसंहितालाई कडाइका साथ पालना गर्न विद्यार्थीलाई अनुरोध गरेका थिए।
प्रतिक्रिया दिनुहोस !