विद्यालयको करेसाबारीमा फल्छ तरकारी र फलफूल, वार्षिक एक लाखसम्मको आम्दानी

विद्यालयको करेसाबारीमा फल्छ तरकारी र फलफूल, वार्षिक एक लाखसम्मको आम्दानी
सुन्नुहोस्

बैतडी : सुकिलो टर्नेलभित्र लटरम्म फलेका गोलभेँडा र काँक्रा, छुट्टाछुट्टै टर्नेलमा फरकफरक तरकारी र फलफूल फलेका छन्। दुई रोपनीमा फैलिएको जग्गामा काउली र बन्दा तथा करेला उब्जनी छ। केही खाली जमिनमा बन्दा लगाउन बेर्ना तयार भइसक्यो।

यो हो बैतडीको पाटन नगरपालिका–९ स्थित सरस्वती आधारभूत विद्यालयको सुन्दर करेसाबारी। यस विद्यालयले विगत ५ वर्षदेखि आफ्नै करेसाबारीमा व्यावसायिक तरकारी तथा फलफूल उब्जनी गरिरहेको छ। 

विद्यालयसँग रहेको २ रोपनी जमिनमा मौसमी तथा बेमौसमी तरकारी उत्पादन हुने गरेका छन्। बाह्रैमास उब्जनी भइरहने यहाँका खेतहरूमा आजभोलि गोलभेँडा, तितेकरेला, काँक्रा, आलु, बन्दा, भेडेखुर्सानी र किवी फलेका छन्। विद्यालयका अनुसार फलफूल तथा तरकारीबाट वार्षिक करिब एक लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ। 

‘मौसमी तथा बेमौसमी तरकारी र फलफूल फलाउने गरेका छौँ। वर्षमा एक लाखसम्म आम्दानी हुने गर्छ,’ विद्यालयका प्रधानाध्यापक  केशवबहादुर चन्दले भने। विद्यालयका लागि स्थानीयहरूले उपलब्ध गराएको जमिनलाई सदुपयोग गरिरहेको प्रधानाध्यापक चन्दले बताए।  

विद्यालयले करेसाबारी तयार पारेर तरकारी तथा फलफूल उत्पादन गर्न थालेपछि विद्यार्थीहरूलाई व्यावसायिक शिक्षा प्रदान गर्न पनि सहज भएको शिक्षिका द्रोपती चन्दले बताइन्। स्थानीय पाठ्यक्रम अनुसार विद्यार्थीहरूलाई पनि करेसाबारी ल्याएर तरकारी खेतीसम्बन्धी ज्ञानसीप प्रदान गरिँदै आएको चन्दले बताइन्। 

‘विद्यालयले तरकारीका बेर्ना उत्पादन गरी प्रत्येक विद्यार्थीलाई १०/१० वटा बिरुवाहरू वितरण गरिन्छ। उनीहरूलाई घरमा लगेर अभिभावकको सहयोगमा उक्त बेर्ना लगाउन भन्छौँ,’ शिक्षिका चन्दले भनिन्,‘त्यसपछि विद्यालयले अनुगमन गर्छ र उत्कृष्ट तरकारी उत्पादन गर्ने विद्यार्थीलाई प्रोत्साहन गर्दै आएको छ।’ 

विद्यालयको करेसाबारीमा आर्जन गरेको ज्ञान घर गएपछि व्यवहारिक रूपमा लागू समेत गर्ने गरेको शिक्षिका चन्दले बताइन्। 

दिवा खाजामा करेसाबारीको तरकारी 

विद्यालयको करेसाबारीमा उत्पादन भएको तरकारी दिवा खाजामा प्रयोग गरिँदै आएको छ। बालबालिकाहरूलाई दिवा खाजामा अर्ग्यानिक तरकारी खुवाउने गरिएको प्रधानाध्यापक चन्दले बताए। दिवा खाजाबाट बचेको तरकारी मात्रै बाहिर बिक्री गर्ने गरिएको उनले बताए। 

कक्षा १–५ सम्म सञ्चालनमा रहेको उक्त विद्यालयमा ५१ विद्यार्थीहरू अध्ययनरत छन्। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.