पुष्पलालको जन्मथलोमा मनाइयो स्मृति दिवस
रामेछाप : नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवसको अवसरमा उनको जन्मस्थान रामेछाप नगरपालिका-८ भंगेरीमा बुधवार विशेष कार्यक्रम आयोजना गरिएको छ।
नेकपा (एमाले) जिल्ला कमिटी रामेछाप र राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपाल, बागमती प्रदेश समितिको आयोजनामा तथा एमाले नगर कमिटी रामेछापको व्यवस्थापनमा आयोजित कार्यक्रममा विविध जनवादी सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।
कार्यक्रममा सहभागीहरूले पुष्पलाल श्रेष्ठको सालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए। कार्यक्रम नेकपा (एमाले) जिल्ला अध्यक्ष पुरुषोत्तम कँडेरियाको अध्यक्षतामा सम्पन्न भयो भने पार्टी स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराई प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा बोल्दै डा. भट्टराईले पुष्पलाल श्रेष्ठको योगदानको स्मरण गर्दै देशमा समाजवाद उन्मुख जनताको पार्टी निर्माणमा उनको भूमिका ऐतिहासिक रहेको बताए।
उनले पुष्पलालको स्मृतिमा निर्माण भइरहेको स्मृति पार्क लामो समयदेखि अलपत्र रहेकोप्रति चिन्ता व्यक्त गरे। सरकारले योजनाअनुसार काम छिटो सम्पन्न गर्नुपर्ने उनको भनाइ छ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्मथलो रामेछापको भँगेरीमा निर्माण सुरु गरिएको पुष्पलाल स्मृति पार्कको निर्माण कार्य अलपत्र भएको छ। पार्क निर्माणको काम सरकारको प्राथमिकतामा नपर्दा निर्माणले गति लिन सकेको छैन। पार्कको लागि सरकारले पर्याप्त बजेट नछुट्याएको कारण निर्माणकार्य त्यतिकै रोकिएको छ।
सहरी विकास मन्त्रालयले कम्प्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृतिमा पुष्पलाल पार्कको निर्माण थालेको ५ वर्ष बित्यो। तर, निर्माणको हिसाबले पार्कको सामान्य संरचनाको बनेको छैन। पार्क निर्माणको सबै काम सम्पन्न हुँदा ५५ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। तर, पर्याप्त बजेट विनियोजन गर्दा विस्तृत योजना प्रतिवेदन अनुसार संरचना निर्माणका काम अघि बढ्न सकेका छैनन्।
अन्तर्राष्ट्रियस्तरको सङ्ग्रहालय सहितको पार्क निर्माणको योजना अनुसार सरकारले सो पार्क निर्माणको कार्यक्रम अघि बढाएको थियो। कम्युनिष्टहरुको लागि भँगेरीलाई तीर्थस्थलको रूपमा विकास गर्न सो पार्क निर्माणको अवधारणा अघि सारिएको हो।
प्रतिक्रिया दिनुहोस !