बाँझो जमिनमा फूल खेती गर्दै विदुर नगरपालिका
नुवाकोट : बाँझो रहेको विभिन्न स्थानका जग्गामा नुवाकोटको विदुर नगरपालिकाले जग्गा सदुपयोग अभियान सञ्चालन गरेको छ।
विदुर नगरपालिका-५ पीपलटारस्थित वडा कार्यालय भवन र विदुर-९ कोलोनीस्थित वडा कार्यालय परिसरको जग्गा सदुपयोग गरि सयपत्री फूल रोपिएको छ। पीपलटारमा दुई र कोलोनीमा ६ रोपनीमा सयपत्री फूलका बिरुवा रोपिएका हुन्।
यसबाट खेर गइरहेको जग्गाको सदुपयोगका साथै पर्यटन प्रवर्द्धन र फूलको निर्भरतामा मद्दत पुग्ने विदुर नपाका मेयर राजन श्रेष्ठले बताए। उनका अनुसार यसलाई व्यावसायिक फूल खेतीका रूपमा विस्तार गर्ने योजना रहेको छ।
विदुर नपा ५ स्थित वडा कार्यालयमा रहेको दुई रोपनी जग्गामा दुई हजार थान सयपत्री फूलका बिरुवा रोपिएको वडाध्यक्ष लीलानाथ न्यौपानेको भनाइ छ। गत वर्ष रोपिएका सयपत्री फूलबाट ३० हजार रुपैयाँ आम्दानी भएकोमा यस वर्ष थप विस्तार गरिएको उनले बताए।
उता, विदुर ९ कोलोनीको ६ रोपनी जग्गामा व्यावसायिक फूल खेती सुरु गरिएको छ। विदुर–९ स्थित वडा कार्यालय परिसरमा रहेको खाली उक्त जग्गामा विदुर नगरपालिकाले सयपत्री र मखमली जातका नौ हजार बिरुवा रोप्न सुरु गरेको हो। उक्त अभियानको मेयर राजन श्रेष्ठ र उपमेयर प्रभा बोगटीले सुरु गरे। हाल रोप्न थालेको बिरुवाको उत्पादन आगामी तिहार पर्वका लागि तयार हुने लक्ष्य रहेको छ।
यान्त्रीकरणको प्रयोग मार्फत ड्याङ बनाई मल्चिङ प्रविधि मार्फत ९ हजारभन्दा बढी सयपत्री र मखमली फूलको बिरुवा रोप्न सुरु गरिएको हो। यहाँबाट उत्पादित फूल आगामी मुख्य चाडपर्वमा व्यावसायिक रूपमा बिक्री गर्ने लक्ष्य लिइएको छ।
प्रतिक्रिया दिनुहोस !