आर्थिक वर्ष २०८२/०८३ मा विनियोजित १६ वटा योजनाको उपभोक्ता समिति साउन १ गते नै गठन गरि सकिएको छ ।
गोरखा : सधैं असार लागेपछि हतपतमा लतपत गरेर विकास बजेट सक्ने प्रवृत्तिलाई अन्त्य गर्दै सहिद लखन गाउँपालिका वडा नं. ७ ले साउन १ गते नै सबै योजनाको उपभोक्ता समिति गठन गरिसकेको छ । आर्थिक वर्ष २०८२/०८३ मा सो वडाका लागि विनियोजित १६ वटा योजनाका उपभोक्ता समिति साउन १ गते गठन गरिसकेको वडाअध्यक्ष शरण श्रेष्ठले जानकारी दिए ।
‘चालु आर्थिक वर्षका लागि पालिकाले हाम्रो वडाका लागि ५५ लाख रूपैयाँ बराबरका १६ वडा योजनाहरू बिनियोजन गरेको छ’, अध्यक्ष श्रेष्ठले भने, ‘गाउँसभाले बजेट तथा कार्यक्रम घोषणा गरेलगत्तै हाम्रो वडाका जनप्रतिनिधि र कर्मचारी सम्बन्धित टोलमा खटिएर उपभोक्ता समिति गठनको गृहकार्य गर्नुभयो । अनि साउन १ गते एकसाथ सबै योजनाका उपभोक्ता समिति गठन गर्यौं ।’
ती उपभोक्ता समितिलाई केही समयपछि पालिकाले अभिमूखिकरण गर्नेछ । त्यसपछि काम सुरु गर्ने वडा कार्यालयको तयारी छ । ‘असार, साउनको खेतीपातीको काम सकेपछि स्थानीयबासीलाई फुर्सद पनि हुनेछ । कामदार पनि प्रसस्त पाइन्छ’, वडाअध्यक्ष श्रेष्ठले भने, ‘त्यसपछि धमाधम विकास निर्माणको काम सुरु हुनेछ । मङ्सीरभित्र सबै योजना सम्पन्न गरिसक्नेछौं ।’ यसअघि अघिल्ला दुई वर्ष पनि माघ महिनाभित्र सबै योजना सम्पन्न गरेर सो वडा पुरस्कृत भएको थियो ।
सो वडाले विगत दुई वर्ष पनि साउन १ गते नै उपभोक्ता समिति गठन गरिसक्ने र माघ महिनाभित्रै सबै योजना सम्पन्न गरिसक्ने अभ्यास गरेको थियो । ‘समय अगावै विकास निर्माणको काम सम्पन्न गर्ने हामीलाई पुरानो अभ्यास छ’, उनी भन्छन्, ‘समयमै काम सम्पन्न गर्दा काम गुणस्तरीय पनि हुन्छ । कामदार पनि प्रसस्त पाइन्छ । गाउँलेले बेलैदेखि विकास निर्माणको उपभोग गर्न पाउँछन् । फाइदैफाइदा छ ।’ वडाको उद्देश्य र लक्ष्य पुरा गर्न वडाबासी, गाउँ कार्यपालिका, कर्मचारी, जनप्रतिनिधि सबैले साथ, सहयोग र प्रोत्साहन गर्ने गरेको उनको अनुभव छ ।
वडा कार्यालयको समन्वयमा मकैपुर डाँडागाउँ सितल चौतारा बाटो ढलान उपभोक्ता समिति, तलोधारादेखि लामभन्ज्याङसम्म ढलान तथा सिँढीबाटो निर्माण उपभोक्ता समिति, अछामी खोल्साबीच भांगार बर्टुहुँदै कुटमेरे सम्म कृषि सडक स्तरोन्नति उपभोक्ता समिति गठन भएको हो ।
त्यस्तै खेलकुद कार्यक्रम तथा व्यवस्थापन वडा नं. ७ उपभोक्ता समिति, काजी विराज थापा मगरको सालिक निर्माण उपभोक्ता समिति, खाब्दी भञ्ज्याङ गणेश मन्दिर निर्माण उपभोक्ता समिति, कच्ची सडक सरसफाइ उपभोक्ता समिति, महिला आय आर्जन कार्यक्रम उपभोक्ता समिति गठन भएको हो ।
त्यस्तै, चारघरे पीपलछाप महिला समूह अधूरो भवन निर्माण उपभोक्ता समिति, गडापानी, खखण्डे, चालिसे, सार्कीधारा मूल संरक्षण तथा स्तरोन्नति उपभोक्ता समिति, काहुले भंगार खेलमैदान तथा भण्डारी गाउँ शौचालय निर्माण, चारघरे, थुम्का हुँदै सिम्ले ढाँडसम्म कृषि सडक स्तरोन्नति उपभोक्ता समिति, मकैपुर महादेव मन्दिर पुनर्निर्माण उपभोक्ता समिति गठन भएको हो ।
त्यस्तै, तीनखण्डे निम्जुङगाउँभित्र सिँढी स्तरोन्नति उपभोक्ता समिति, महिला नेतृत्व विकास कार्यक्रम उपभोक्ता समिति, लखन किल्ला पर्यटन पूर्वाधार निर्माण उपभोक्ता समिति,बोर्लाङी सामुदायिक भवन ट्रस्ट निर्माण उपभोक्ता समिति, सामुदायिक विद्यालयमा बालमैत्री सामग्री खरिद उपभोक्ता समिति, विपत् व्यवस्थापन उपभोक्ता समिति गठन भएको हो ।
त्यस्तै, मुख्य बजार क्षेत्रमा सडक बत्ति उपभोक्ता समिति, बुंकोट स्वास्थ्य चौकीमा प्रसुती कक्ष स्तरोन्नति उपभोक्ता समिति, रेडक्रस भवन निर्माण उपभोक्ता समिति, मिसनकाली र बालकन्या मन्दिर पुनर्निर्माण उपभोक्ता समिति, सीप विकास तालिम र वडा वार्षिक कार्यक्रम समीक्षा कार्यक्रम उपभोक्ता समिति गठन भएको हो ।
प्रतिक्रिया दिनुहोस !