संसदमा समन्वय समिति बनाउन परराष्ट्रमन्त्री राणासँग महिला सादंसहरूको भेट
काठमाडौं : प्रतिनिधिसभाअन्तर्गत महिला सांसद समन्वय समिति गठनका लागि आवश्यक सहयोग र समन्वय गरिदिन विभिन्न राजनीतिक दलका महिला सांसादहरूले परराष्ट्रमन्त्री आरजु राणा देउवासमक्ष आग्रह गरेका छन्।
प्रमुख राजनीतिक दलका सचेतकहरूसहितका महिला सांसदहरूले सोमबार मन्त्री राणालाई भेटी सो समिति स्थापनाका लागि सरकारमा रहेर समन्वय एवं सहयोग गर्न आग्रह गरे। प्रतिनिधिसभा नियमावलीमा संघीय संसदमा प्रतिनिधित्व गर्ने गरी महिलाहरूको एक समितिका रूपमा महिला सांसद समन्वय समिति रहने व्यवस्था भए पनि प्रतिनिधिसभाको आधा कार्यकाल पूरा भइसक्दा पनि सो समिति गठन हुन नसकेकाले सरकार र संसदलाई दबाब दिनका लागि उनीहरूले सो आग्रह गरेका हुन्।
भेटमा प्रतिनिधिसभामा सचेतकहरू नेपाली कांग्रेसकी सुशीला थिङ, नेकपा एमालेकी सुनिता बराल, नेकपा माओवादी केन्द्रकी रुपा रोशी चौधरी, राप्रपाकी बिना लामा, रास्वपाकी निशा डाँगीसहित सांसद एवं पूर्वमन्त्रीहरू रेखा शर्मा, सीता गुरुङ, विद्या भट्टराईलगायत सहभागी थिए।
मन्त्री राणाले विगतमा पनि संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका महिला सांसदहरू एकजुट भएर नै महिला अधिकारका क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल भएको स्मरण गर्दै आगामी दिनमा पनि सो संस्कारलाई निरन्तरता दिनुपर्ने बताइन्। उनले प्रतिनिधिसभा नियमावलीमा भएको व्यवस्था पनि अहिलेसम्म कार्यान्वयनमा नआउनु दुःखद रहेको बताउँदै महिला समन्वय समिति गठनका लागि संसदमा सबै दलका महिला सांसदहरूको ऐक्यबद्धता आवश्यक रहेको बताइन्।
प्रतिक्रिया दिनुहोस !