महिना दिन नपुग्दै उप्कियो कालोपत्रे

महिना दिन नपुग्दै उप्कियो कालोपत्रे
भोजपुरको टेम्केमैयुङस्थित गुम्बा कोट दिप्सा पाँचधारे सडकखण्डको गुणस्तरहीन कालोपत्रे निरीक्षण गरिँदै।
सुन्नुहोस्

भोजपुर : टेम्केमैयुङ गाउँपालिकाको गुम्बा कोट दिप्सा पाँचधारे सडकखण्डको कालोपत्रे गुणस्तरहीन बनेको छ। कालोपत्रे सडक महिना दिन नपुग्दै उप्किन र घाँस उम्रन थालेपछि काममा लापरबाही देखिएको हो। गत असारमा गरिएको कालोपत्रे काम गरिएको थियो।

एक महिना पनि पूरा नहुँदै कालोपत्रे भत्किन थालेको छ। कालोपत्रे गरिएको अधिकांश सडकमा घाँससमेत उम्रिएको टेम्केमैयुङ गाउँपालिका—६ का वडाध्यक्ष सूर्यप्रसाद नेपालले बताए। सडक निर्माणमा गुणस्तरहीन काम भएपछि निर्माण कम्पनी र ठेकेदारमाथि कारबाहीको माग गरिएको उनले बताए।

‘असारमा गरेको कालोपत्रे साउन लागेपछि उप्किन थालेको छ, धेरैजसो ठाउँको कालोपत्रे सडकमा घाँस उम्रिएको छ। कतिसम्म लापरबाही गरेको त ?’ वडाध्यक्ष नेपालले सुनाए, ‘सडक निर्माण एकदमै गुणस्तरहीन छ, लापरबाही भएको प्रस्ट देख्न सकिन्छ। यस्तो घिनलाग्दो काम गर्ने ठेकेदार कम्पनीलाई आवश्यक कारबाहीको माग गरेका छौं।’ विकासे बजेटको चरम दुरुपयोग भएको उनले बताए। 

सडक डिभिजन कार्यालय तुम्लिङटारअन्तर्गतको आरएनआरआर कम्पनीले गत असारमा कालोपत्रे सडकको शून्य विन्द–६, कोटको गुम्बाबाट करिब डेढ किलोमिटर सडक कालोपत्रे गरेको थियो। टेम्केमैयुङ गाउँपालिकाका चारवटा वडासँगै छिमेकी जिल्ला खोटाङलाई जोड्ने उक्त सडकको कालोपत्रे कामको सुरुवाती चरणमै गुणस्तरहीन काम भएको हो। उक्त सडक कालोपत्रेका क्रममा नाली (ड्रेन)समेत व्यवस्थित नगरिएको कोटका स्थानीय सुन्दर राईले सुनाए।

‘ठेकेदार कम्पनीले सडक कालोपत्रेको बेहाल बनाए, गाउँमा सडक कालोपत्रे हुँदा उत्साहित बनेका गाउँले अहिले यस्तो गुणस्तरहीन कालोपत्रेले निराश हुनुपरेको छ। साह्रै दुःखलाग्दो छ, हुन्छ भने यसको छानबिन गरियोस्’, उनले गुनासो सुनाए। छोटो समयमै उक्त सडकखण्डको विभिन्न स्थानका कालोपत्रे सडकहरू भत्किएको टेम्केमैयुङ—७ का वडाध्यक्ष बालबहादुर खड्काले बताए। गैरजिम्मेवार ढंगले सडक कालोपत्रे गर्ने कम्पनी र ठेकेदारलाई राज्यले कारबाहीको दायरामा ल्याउनुपर्ने उनले बताए। उनले भने, ‘अरू त के भन्नु कालोपत्रे गरेको एक महिनामै हरियो झार उम्रियो, गाउँको विकास मानिएको यो सडकको कालोपत्रे निर्माणमा अत्यन्तै लापरबाही भएको छ,’ ठेकेदार कम्पनीले निर्माणस्थलमा योजना बोर्डसमेत नराख्दा योजनाको बजेटलगायतका विषयमा स्थानीय बेखबर छन्।

सोही सडक जोडिने भोजपुर नगरपालिका—५, बोखिममा पर्ने पिप्ले खाल्डे आहाले दधिपुर सल्लेनी सडकखण्डको कालोपत्रे पनि गत वर्ष मात्रै सम्पन्न भएको थियो। ठेकेदार कम्पनीको चरम लापरबाहीका कारण उक्त कालोपत्रे सडकको पनि तीन महिनामै भत्किएर दुर्दशा भएको थियो। 
ग्रामीण सडक सञ्जाल सुधार आयोजना कार्यान्वयन एकाइ झापाअन्तर्गत नेपाल सरकारको भ्याटसहित साढे १० करोड रुपैयाँ लागतमा बनेको साढे ४ किलोमिटर दूरीको उक्त सडकखण्डको कालोपत्रे काम रौताहा रामसागर बिल्डर्स जेभीले गुणस्तरहीन बनाएपछि स्थानीयको पहलमा सडक बिग्रिएको खण्डमा ठेकेदारले पुनःमर्मत गर्न लगाइएको थियो।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.