भक्तपुरको वाटर साइक्लिङ विवादमा, नगरपालिकाविरुद्ध मुद्दा

भक्तपुरको वाटर साइक्लिङ विवादमा, नगरपालिकाविरुद्ध मुद्दा
सुन्नुहोस्

भक्तपुर : नेपालमै पहिलोपटक पोखरीमा साइकल सञ्चालन गरेपछि चर्चा कमाएको भक्तपुरको वाटर साइक्लिङ विवादमा परेको छ। सञ्चालक र भक्तपुर नगरपालिकाबीच अहिले विवाद चर्किएको छ। विवादवीच साइक्लिङ सञ्चालन बन्द भएको छ।

वाटर साइक्लिङ सञ्चालक सुजन तिमल्सिना टीएन एड्भेन्चर्स प्रालिले २ महिना ७ दिन साइक्लिङ बन्द गरेको भर्पाइबापतको २ लाख ९२ हजार ४ सय ६५ रुपैयाँ नगरपालिकासँंग फिर्ता मागेको छ। तर नगरपालिकाले त्यो पैसा फिर्ता दिन तयार नभएपछि साइक्लिङ सञ्चालकले नगरपालिकालाई मुद्दा हालेको छ। डुंगा र साइकल मिलाएर वाटर साइकल बनाइएको हो। यो पानीमा मज्जाले माथि तैरिन्छ। २०८० भदौ ९ गतेदेखि भक्तपुरको दूधपाटीस्थ्ति मिनीबस पार्क नजिकको नःपुखु (पोखरी) मा टीएन एड्भेन्चर्स प्रालिले ‘वाटर साइक्लिङ’ सञ्चालनमा ल्याएको थियो। कम्पनीका अनुसार यो नेपालमै पहिलोपटक भित्रिएको हो। भक्तपुर नगरपालिकासँगको सहकार्य र सम्झौतामा परीक्षणको रूपमा वाटर साइक्लिङ सुरु गरिएको थियो।

कम्पनीका सञ्चालक तिल्मिसिनाले २०८१ वैशाख २५ गतेदेखि २०८१ असार ३१ गतेसम्म वाटर साइक्लिङ बन्द गरे पनि बहाल भाडा फिर्ता नदिएकोले विवाद भएको बताए। न पुखुमा पानीको सतह कम भएपछि वाटर साइक्लिङ चलाउने अवस्था नभएपछि बारम्बर भाडा फिर्ता गर्न अनुरोध गरेको तर भाडा फिर्ता गदैनौं, जे छ गर्नुहोस् भनी ठाडो धम्की जस्तै जवाफ आएको उनले सुनाए। ‘हामीले नगरपालिकालाई वाटर साइक्लिङ बन्द नगरी कि चलाउने वातावरण बनाइदिनुस् कि पैसा फिर्ता दिनुस् भन्दा पनि समाधान नभएपछि अहिले विवाद गर्न बाध्य भएका छौं’, उनले भने। 

२०८१ वैशाख २५ गते वाटर साइक्लिङ सञ्चालन समस्या बारेको पत्र नगरपालिकालाई पठाइएको र पटकपटक मौखिक रूपमा पनि समस्या बताए पनि समाधान नगरिदिएको भनी आरोप उनले लगाएका छन्। पोखरीमा पानी कम भएकाले वाटर साइकल सञ्चालन गर्न समस्या परेको नगरपालिकालाई जानकारी दिएको उनले बताए। तर पनि नगरपालिकाले वास्ता नगरेको उनको भनाइ छ। भक्तपुर नगरपालिकाका उपनिर्देशक प्रभाषकुमार चालिसेले सम्झौतामा नभएको कारणले बहाल फिर्ता गर्न नमिल्ने बताए। नगरपालिकाले सम्झौता नभएको काम नियम कार्यान्वयन नगर्ने र गरेमा पनि अख्तियार दुरुपयोगमा पर्न सक्ने उनको भनाइ छ। ‘मुद्दा हालेको पनि थाहा छैन। हामीकहाँ कुनै पत्र आएको छैन’, उनले भने, ‘पानीको सतह कम भएमा नजिकै रहेको भाज्या पुखु, सिद्धपोखरीमा पनि केही महिना सञ्चालन गर्नुस् भनेका थियौं तर उहाँंहरूले सञ्चालन गर्नु भएन।’

वाटर साइक्लिङ चलाउनुअघि नै एउटा खाका तयार पार्नुपर्ने उनको भनाइ छ। पानी कम भएमा के गर्ने ? धेरै पानी परेको अवस्थामा के गर्ने ? भनी सोच्नुपर्ने उनको भनाइ छ। पानी करिब तीन फिट जति भएकोले त्यसमा साइक्लिङ गर्न मिल्ने उनको दाबी छ। पोखरी ६ फिट गहिरो छ। अहिले यो पोखरीलाई चारैतर्फबाट पुरानो शैलीलाई अनुसरण गरेर ढुंगा छापेर संरक्षण र सफा गरिएको छ। साथै पर्खालले घेरिएको छ। वाटर साइकल सञ्चालनमा आएपश्चात आन्तरिक एवं बाह्य पर्यटन प्रवर्धनमा पोखरीले सहयोग पुर्‍याएको थियो। स्वदेशमै विदेशमा सरह मनोरञ्जन र एड्भेन्चर्सको अनुभूति दिने प्रयास गरिएपछि धेरैको चर्चाको विषय पनि बनेको थियो। भक्तपुरमा रहेको ५० भन्दा बढी पोखरीमध्ये इताछें टोलमा रहेको यो नःपुखु पनि एक हो। ​नःपुखु पोखरीसँगै रहेको सिद्धपोखरीमा भक्तपुर नगरपालिकाले बोटिङ सुरु गरेको थियो तर त्यो खासै लोकप्रिय भएन। तर, नयाँ जोस र सोचसहित टीएन एड्भेन्चर्सले सञ्चालन गरेको ‘वाटर साइक्लिङ’ भने छोटो समयमा लोकप्रिय बनेको थियो। यहाँ दैनिक पानी माथि साइकल कुदाउन आउनेहरूको भिड लाग्ने गरेको थियो।

नःपुखु पोखरीमा एक, दुई र तीन सिटर गरी ६ वटा वाटर साइकल सञ्चालन गरिएको थियो। त्यसबाट सातजनाले रोजगारी पाएका थिए। साइकल चढ्न नेपालीलाई दुई सय र विदेशीलाई पाँच सय शुल्क तोकिएको थियो। सञ्चालकले स्थानीयले अझ बढी वाटर साइकलको मज्जा लिऊन् भनेर हप्ताको दुई दिन ५० प्रतिशत छुट दिएका थिए। दुई दिन स्थानीयले एक सय रुपैयाँमै पानीमाथि साइकल कुदाउन पाउँथे। बिदाको दिनमा एक सय जना र अरू दिन ५० जनाले वाटर साइकलको मज्जा लिने सञ्चालकको तथ्यांक छ। वाटर साइक्लिङ हप्ताको सातै दिन बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुन्थ्यो। डुंगा र साइकल मिलाएर बनाइएको यो पानीमा सजिलै तैरिन्छ। साइकल चलाउन नआउनेले पनि यो सजिलै चलाउन सक्छन्। यसमा डुवानको कुनै सम्भावना हुँंदैन वा डुब्दैन।

कम्पनीका अध्यक्ष सूर्यप्रसाद न्यौपानेका अनुसार भक्तपुर नगरपालिकाका मेयर सुनील प्रजाप्रतिको सहकार्यमा नःपुखु पोखरीमा ‘वाटर साइक्लिङ’ सञ्चालन गरिएको थियो। नःपुखु कुनै बेला फोहोरले भरिएको थियो। पानी र रक्सीका बोतल, प्लास्टिकलगायत फोहोरका सामग्रीले ढाकिएको हुन्थ्यो। पोखरीमा पानीभन्दा धेरै फोहोरहरू हुन्थे। नःपुखु वरिपरि पनि त्यस्तै फोहोर थिए। त्यसैले स्थानीयले यो पोखरीलाई ‘गुह्या’ पोखरी पनि भन्थे। परापूर्वकालमा खेतमा काम गरेपछि हात खुट्टा धुन यो पोखरीको पानी प्रयोग गरिन्थ्यो। धेरै पहिले म्ये गाः (राँगा पाल्ने ठाउँ) र पशुहरूलाई नुहाइदिनका लागि पनि यो पोखरीको प्रयोग हुने गरेको बुढापाकाहरू सुनाउँछन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.