बारामा ब्राउनसुगरसहित युवक पक्राउ
वीरगन्ज :बारामा ठूलो परिमाणमा लागुऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको विश्रामपुर गाउँपालिका वडा नम्बर १ घोडासनहका २२ वर्षीय अजमुल हक अन्सारी रहेका छन् । उनको साथबाट ब्राउन सुगर १४७ ग्राम १८० मिलिग्राम बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
इलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठको नेतृत्वमा खटिएको प्रहरी टोलीले ब्राउन सुगरसहित अन्सारीलाई बाराको फेटा गाउँपालिका वडा नम्बर १ भलुहीबाट पक्राउ गरेको हो । बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार कलैयाबाट प्रसौनीतर्फ पैदल आउँदै गरेका अन्सारीलाई शंका लागेर प्रहरीले खानतलासी गर्दा उनको साथबाट प्लाष्टिकको पुडियामा लुकाएर राखिएको १४७ ग्राम १८० मिलिग्राम ब्राउन सुगर फेला परेको हो ।
भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेको अवस्थामा अन्सारीलाई बुधबार अपरान्ह पक्राउ गरिएको पण्डितले बताए । अन्सारीलाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !