माओवादीमा फेरि अन्तरकलह
पार्टी नै फुटको संघारमा पुग्न लागेको चर्चाबीच शुक्रबार प्रचण्डले स्थायी कमिटीको बैठक सुटुक्क बोलाएका हुन्।
काठमाडौंं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र पार्टी उपमहासचिव जनार्दन शर्मा(प्रभाकर)बीच फेरि अन्तरकलह सुरु भएको छ । पार्टीको नेतृत्व हस्तान्तरणका विषयमा लामो समयदेखि उनीहरूबीच विवाद हुँदै आएको छ ।
पार्टी नै फुटको संघारमा पुग्न लागेको चर्चाबीच शुक्रबार प्रचण्डले स्थायी कमिटीको बैठक सुटुक्क बोलाएका हुन् । बुधबार पार्टी मुख्यालय पेरिसडाँडामा अनौपचारिक रूपमा पार्टी अध्यक्ष प्रचण्डले पदाधिकारी बैठक बोलाएको पार्टी प्रवक्ता अग्नि सापकोटाले पुष्टि गरे ।
उनले भने, ‘पार्टीभित्र आन्तरिक एकता थप मजबुत बनाउन स्थायी कमिटीको बैठकमा छलफल हुने छ ।’ प्रचण्ड र प्रभाकरबीचको टकरावले माओवादी पार्टी फुटको संघारमा पुगेको चर्चा छ । त्यसैको सेरोफेरोमा प्रचण्ड हडबढाएर पार्टीको हाईकमाण्डको बैठक बोलाएको चर्चा छ । तर पार्टी प्रवक्ता सापकोटाले पदाधिकारीको बैठकपछि यसबारे पत्रकारले सोधेको प्रश्नमा केही बोल्न मानेनन् ।
प्रचण्ड र जनार्दनबीचको अन्तरसंघर्षबारे सोधिएको प्रश्नमा उनले भने, ‘आन्तरिक एकतालाई मजबुत बनाउनेबारे हरेक बैठकमा एजेन्डा हुन्छन् । जनार्दनजीको बारेमा आजको बैठकमा चर्चा भएको छैन । बैठक संक्षिप्त भएको छ । स्थायी कमिटी बैठक बस्ने बेलामा यसबारे मैले व्यक्तिगत धारणा दिन वाञ्छनीय हुँदैन ।’
माओवादीको पदाधिकारी बैठकले शुक्रबार बस्ने स्थायी कमिटीका एजेन्डाहरू तय गरेको छ । प्रवक्ताले दिएको जानकारीअनुसार बैठकको सुरुमा पार्टी अध्यक्ष प्रचण्डले वर्तमान राजनीति परिस्थितिको बारेमा ब्रिफिङ गर्ने छ । पोखरामा गएर अड्किएको पार्टी अभियानलाई सञ्चालन गर्ने बारे कुरो हुने छ । केन्द्रीय कमिटी बैठकको पनि मिति तय गर्ने छ प्रबक्ता सापकोटाले बताए । उनले भने, ‘अब समाजवादी मोर्चाको बैठक पनि बस्ने छ । सुस्ताएको मोर्चालाई विस्तार गर्दै लैजान्छौं ।’
प्रतिक्रिया दिनुहोस !