मार्गदर्शन सहकारीका फरार अध्यक्ष भक्तपुरमा समातिए
भैरहवा : रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ (भैरहवा) मा रहेको मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरी फरार रहेका सहकारीका अध्यक्ष अशोक केसीलाई प्रहरीले पक्राउ गरेको छ। अध्यक्ष केसी समेतले उक्त सहकारीका शेयरधनी तथा बचतकर्ताको ५ करोड ९० लाख ८४ हजार बढी रुपैयाँ हिनामिना गरेको आरोप छ।
सहकारीका शेयर धनी तथा बचतकर्ता रकम हिनामिना भएपछि प्रहरीले सहकारी ठगी तथा ठगी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान गरेको थियो। फरार रहेका दोलखा मेलुङ गाउँपालिका-६ का ३४ वर्षीय अध्यक्ष केसीविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएपश्चात बुधबार भक्तपुरको मध्य ठिमी नगरपालिका–३ गठ्ठाघरबाट पक्राउ गरी भैरहवा ल्याइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी गणेश सापकोटाले बताए।
उनका अनुसार पक्राउ परेका अध्यक्ष केसीलाई अदालतमा पेश गरिएको छ। रुपन्देही सिद्धार्थनगर नगरपालिकाका धनमन थारु समेतको जाहेरीले प्रहरीले २३ जनाविरुद्ध मुद्दा दायर गरेको छ। रुपन्देही प्रहरीले गत वैशाख ३० गते अदालतमा मुद्दा दायर गरेको थियो।
जिल्ला सरकारी वकिल मार्फत रुपन्देही प्रहरीले अदालतमा दायर गरेको मुद्दामा रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका ४ जना, तिलोत्तमा नगरपालिकाका ९ जना, सियारी गाउँपालिकाका एक जना, रामेछापका दुई जना र दोलखा, धनकुटा, तनहुँ, भक्तपुर, गुल्मी, काभ्रेपलान्चोक, चितवनका एक/एक जना प्रतिवादी छन्।
अदालतले विशेष मार्ग मुद्दाका रूपमा सुनुवाइ गरिरहेको छ। जिल्ला अदालत रुपन्देहीको वेबसाइटमा उल्लेख भएअनुसार मुद्दाको गत असार १९ गते, साउन ११ गते र साउन १५ गते गरी ३ पटक पूरक पेशी चढेको थियो। जसमध्ये असार १९ गते र साउन ११ गतेको पूरक पेशीमा प्रतिवादीहरूसँग धरौटी माग गर्ने आदेश भएको थियो।
यी हुन् मुद्दाका प्रतिवादीहरू :
१) अशोक के.सी, मेलुङ गाउँपालिका–६, दोलखा
२) अञ्जु भण्डारी, सिद्धार्थनगर नगरपालिका–३, रुपन्देही
३) मोहिनी थापा, सिद्धार्थनगर नगरपालिका–९, रुपन्देही
४) जय शंकर मौर्या, सिद्धार्थनगर नगरपालिका–१०, रुपन्देही
५) सिताराम केवट, सिद्धार्थनगर नगरपालिका–३, रुपन्देही
६) बसन्त पन्थी, तिलोत्तमा नगरपालिका–५, रुपन्देही
७) मालिका भट्टराई, तिलोत्तमा नगरपालिका–१, रुपन्देही
८) लेखनाथ न्यौपाने, तिलोत्तमा नगरपालिका–५, रुपन्देही
९) प्रकाश भुषाल, तिलोत्तमा नगरपालिका–८, रुपन्देही
१०) तुल्सा पाण्डे, तिलोत्तमा नगरपालिका–१, रुपन्देही
११) विपिन पौडेल , तिलोत्तमा नगरपालिका–१, रुपन्देही
१२) मनिष गुरुङ , तिलोत्तमा नगरपालिका–२, रुपन्देही
१३) पार्वती अर्याल, तिलोत्तमा नगरपालिका–१, रुपन्देही ,
१४) विवेक बस्याल, तिलोत्तमा नगरपालिका–१७ ,रुपन्देही ,
१५) रामलखन केवट, सियारी गाउँपालिका–१, रुपन्देही
१६) चेत कुमारी लुंगेल, छथर जोरपाटी गाउँपालिका–७, धनकुटा
१७) गुम बहादुर थापा, ऋषिङ्ग गाउँपालिका–२, तनहुँ
१८) राम सुन्दर कार्की, सूर्यविनायक नगरपालिका–१०, भक्तपुर
१९) रविन्द्र कुमार बोहरा, मन्थली नगरपालिका–९, रामेछाप
२०) अभिलाषा घिमिरे बोहोरा, मन्थली नगरपालिका–९, रामेछाप
२१) उमाकान्त भण्डारी, धुर्कोट गाउँपालिका–५, गुल्मी
२२) प्रविन विक्रम चौलागाई, चौंरीदेउराली गाउँपालिका–५,काभ्रेपलान्चोक
२३) रामहरि सिलवाल, राप्ती नगरपालिका–२, चितवन
प्रतिक्रिया दिनुहोस !