हिमाली भेगमा गहुँ काट्ने सिजन सुरु
गोरखा : गोरखाको हिमाली भेगमा प्रमुख बाली गहुँ भित्र्याउने सिजन सुरु भएको छ। स्थानीय धावा छिरिङ लामाका अनुसार गाउँलेले पुज्दै आएका गुम्बाको गहुँ भित्र्याएर कामको सुरुवात गरिएको हो।
पहिलो बुधबार चुमनुब्री ७ लामागाउँस्थित चुमगुम्बाको जग्गाको गहुँ भित्र्याएर कामको सुरुवात गरिएको हो। ‘दुई दिनअघि गाउँलेहरुको सभा बस्यो। त्यहाँ लाप्राङ लामाले दिन जुराउनु भयो’, उनले भने, ‘त्यही अनुसार सबै गाउँलेहरु मिलेर पहिलो दिन बुधबार चुमगुम्बाको गहुँ भित्र्याइयो। अब आजदेखि गहुँ काट्न थालिएको छ।’ गाउँलेहरु मिलेर आलोपालो गरी सबैको गहुँ भित्र्याउने प्रचलन रहेको उनले बताए।
यतिबेला चुम उपत्यकाका फाँट किसानले भरिएका छन्। ‘ङाक्यू, लेरुदेखि गहुँ काट्न सुरु हुन्छ। एक दुई दिन ङाक्यू र लेरुको काटेर सकिन्छ। अर्को एक दुईदिनमा लामागाउँको काटिन्छ’, चुम गुम्बाका प्रमुख लामा पासाङ फुञ्जो लामाले भने, ‘त्यसपछि बुर्जी, लार, पाङदुन, छुले, निलेको काटिन्छ।’
करिब पन्द्र दिनमा सबै गाउँलेले मुख्य बाली गहुँ भित्र्याइसक्ने उनले बताए। चुमनुब्री गाउँपालिका ७ छेकम्पार तिब्बतको सीमा क्षेत्रमा अवस्थित गाउँ हो। ३३०० देखि ३५०० मिटर उचाइमा अवस्थित यहाँ गहुँ पाक्न ११ महिना लाग्ने गर्दछ। ‘गत असोजमा रोपेको गहुँ यतिबेला भित्र्याउन पाइन्छ’, उनले भने, ‘अब खालि बसेको जग्गामा फेरि असोजतिर गहुँ लगाइन्छ। यहाँ गहुँ, फापर र आलु मात्र खेती गर्ने गरिन्छ।’
हिमाली भेगमा पनि खेती प्रणालीमा मेसिनको प्रयोग गर्ने क्रम बढेको छ। ‘सबैले तिब्बतबाट मेसिन ल्याउँछन्। घरघरमा गहुँ काट्ने र कुट्ने मेसिन छ। केही दिन सुकाएपछि गहुँ कुट्न पनि मेसिनकै प्रयोग गरिन्छ’, पासाङ फुञ्जोले भने, ‘१० जना मान्छेले गर्नेजति काम एउटा मेसिनले गर्नसक्दो रहेछ। धेरै सजिलो भएको छ।’ १० वर्षअघि सबैभन्दा पहिले आफूले गहुँ काट्ने मेसिन ल्याएको उनले बताए।
प्रतिक्रिया दिनुहोस !