विशेष झोलामा कोकिन बोकेकी महिलालाई पछ्याउँदै जब प्रहरी टोली सिनामंगलको एक होटलमा पुग्यो...
काठमाडौं : डेढ किलो कोकिनसहित भारतीय महिला पक्राउ परेकी छन्। इथियोपियाबाट कतार हुँदै बुधबार नेपाल आएकी ३७ वर्षीया भारतीय महिला रुबिना अव्दुल्लाह शेख पक्राउ परेको प्रहरीले जानकारी दिएको छ।
उनको साथबाट डेढ किलो बढी कोकिन बरामद भएको छ। नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो प्रमुख कृष्ण कोइरालाका अनुसार विशेष प्रकारको ह्याण्डमेड व्याग बनाएर उनले कोकिन बोकेकी थिइन्। निकै होसियारीपूर्वक ह्याण्ड व्यागमा कोकिन लुकाएको प्रहरीको भनाइ छ। उनको गतिविधि शंकास्पद् लागेर प्रहरीले फलो गरेको ब्युरो प्रमुख कोइरालाको भनाइ छ।
कोकिनसहित सिनामंगलको एक होटलमा प्रवेश गरेकी उनलाई प्रहरीले निगरानी गर्ने क्रममा उक्त होटलमा पहिल्यैदेखि बसेका ३३ वर्षीय अर्का भारतीय नागरिक अरुणप्रताप पनि पक्राउ परेका छन्।
ह्याण्ड ब्यागलाई प्लास्टिकको ट्युब बनाएर कोकिन लुकाएकी थिइन्। कोकिन तस्करीकै लागि त्यो ब्याग डिजाइन गरिएको हुनसक्ने प्रहरीको अनुमान छ। भारतमा क्याट्रिङको काम गर्ने ती महिला कोकिन तस्करी गर्नकै लागी इथियोपिया पुगेको हुनसक्ने प्रहरी अधिकारीहरूको भनाइ छ।
प्रहरीसँगको प्रारम्भिक बयानका क्रममा उनले आफूलाई निश्चित पैसा दिने प्रलोभन दिएर एक भारतीय व्यक्तिले नै इथियोपिया पठाएको बताएकी छन्। कोकिन तस्करीमा संलग्न अन्य व्यक्तिको खोजी हुँदैछ।
यसैबीच प्रहरीले नागार्जुन नगरपालिका-३, इचंगुनारायणबाट समेत कोकिन कारोबारमा संलगन रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा इरिट्रेरियन नागरिक ३७ वर्षीय युसुफ एटोम र रसियन नागरिक ४४ वर्षीय एन्ड्रिई मल्सेभ छन्। प्रहरीले शंकास्पद अवस्थामा फेला पारेर पहिले अटमलाई समातेको थियो। त्यसपछि उनी बसेको होटल कोठाबाट रसियन नागरिकसमेत पक्राउ परेका थिए।
प्रतिक्रिया दिनुहोस !