मार्गदर्शन सहकारी ठगी प्रकरणमा रामहरि सिलवाल पनि पक्राउ
भैरहवा : भैरहवाको मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिनाको आरोपमा प्रहरीले संस्थाको सञ्चालक समितिका सदस्य रामहरि सिलवाललाई पनि पक्राउ गरेको छ।
सिलवाललाई बिहिबार काठमाडौंमा पक्राउ गरिएको रुपन्देहीका एसपी प्रदीप बहादुर क्षेत्रीले बताए। उनका अनुसार काठमाडौंमा पक्राउ परेका सिलवाललाई रुपन्देही ल्याउने तयारी भइरहेको छ।
उनीविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएपछि रुपन्देही प्रहरीले खोजतलास सुरु गरेको थियो। चितवनको राप्ती नगरपालिका–२ का सिलवाल उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)का उपाध्यक्ष समेत रहेको बताइएको छ।
उक्त सहकारीको सेयरधनी तथा बचतकर्ताको ५ करोड ९० लाख ८४ हजार बढी रुपैयाँ हिनामिना भएपछि रुपन्देही प्रहरीले सहकारी ठगी मुद्दामा अनुसन्धान गरेको थियो। बुधबार प्रहरीले सहकारी अध्यक्ष अशोक केसीलाई पनि भक्तपुरबाट पक्राउ गरी जिल्ला अदालत रुपन्देहीमा पेश गरेको छ।
प्रतिक्रिया दिनुहोस !