कोदोजन्य परिकार, स्वस्थ जीवनको आधार

राष्ट्रिय कोदो दिवस

कोदोजन्य परिकार, स्वस्थ जीवनको आधार

नेपालका पहाडी र उच्च पहाडी क्षेत्रहरूमा कोदो, फापर, चिनो, कागुनोजस्ता अन्न प्रमुख बालीका रूपमा खेती गरिन्छन् । यी अन्न कम उर्वर भूमिमा पनि फल्ने, कम पानी चाहिने र विभिन्न जलवायु परिस्थितिमा पनि राम्रो उत्पादन दिन्छन् । यी अन्नबाट विभिन्न प्रकारका परिकार बनाइन्छन् । जसले नेपालीको दैनिक आहारमा विविधता ल्याउँछ ।

कोदोको ढिँडो, फापरको रोटी, कोदोको सेलरोटी, चिनोको भात, कोदोको माल्पुवा, कोदोको पुवालगायतका परिकार नेपाली भान्साका अभिन्न अंग हुन् । यी परिकार केवल खानामात्र नभएर नेपाली संस्कृति र परम्परासँग पनि जोडिएका छन् ।

कोदोजन्य परिकारको पौष्टिक मूल्य  :  कोदोजन्य अन्नलाई ‘सुपर फुड’को रूपमा पनि चिनिन्छ । जसमा मानव शरीरका लागि आवश्यक पर्ने धेरै पौष्टिक तत्त्व प्रचुर मात्रामा पाइन्छन् । यिनमा प्रोटिन, फाइबर, भिटामिन बी कम्प्लेक्स (विशेषगरी नायसिन, थायमिन र राइबोफ्लेभिन), फलाम, क्याल्सियम, म्याग्नेसियम, फस्फोरस र जिंक जस्ता खनिज पर्याप्त मात्रामा हुन्छन् ।

उच्च फाइबर  :  कोदो, फापरजस्ता अन्नहरूमा प्रशस्त मात्रामा आहार फाइबर पाइन्छ । फाइबरले पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्छ, कब्जियतको समस्या कम गर्छ र शरीरमा चिनीको अवशोषणलाई ढिलो बनाउँछ । जसले गर्दा रगतमा चिनीको मात्रा नियन्त्रण गर्न सहयोग पुर्‍याउँछ । यसले पेट भरिएको महसुस गराएर अनावश्यक खाना खानबाट रोक्छ, जसले तौल व्यवस्थापनमा पनि मद्दत गर्छ ।

ग्लुटेन–मुक्त :  ग्लुटेन संवेदनशीलता वा सेलिअक रोग भएका व्यक्तिहरूका लागि कोदोजन्य अन्नहरू एक उत्कृष्ट विकल्प हुन् किनकि यिनीहरू ग्लुटेन–मुक्त हुन्छन् ् । गहुँ र जौमा पाइने ग्लुटेनले कतिपय मानिसमा पाचनसम्बन्धी समस्या निम्त्याउन सक्छ । तर कोदो र फापरजस्ता अन्नले त्यस्ता समस्या सिर्जना गर्दैनन् ।
खनिज पदार्थको स्रोत  :  यिनीहरू क्याल्सियम, फलाम, म्याग्नेसियम, फस्फोरसजस्ता महत्त्वपूर्ण खनिजको राम्रो स्रोत हुन् । क्याल्सियमले हड्डी र दाँतलाई बलियो बनाउँछ भने फलामले रगतमा हेमोग्लोबिनको मात्रा बढाएर रक्तअल्पताको जोखिम कम गर्छ । म्याग्नेसियमले मांसपेशी र स्नायु प्रणालीको कार्यप्रणालीमा मद्दत गर्छ ।

एन्टिअक्सिडेन्ट  :  कोदोजन्य अन्नहरूमा एन्टिअक्सिडेन्टहरू पनि पाइन्छन् ् । जसले शरीरमा फ्रि रेडिकलहरूको हानिकारक प्रभावलाई कम गर्न मद्दत गर्छ । विभिन्न दीर्घकालीन रोगहरू जस्तै मुटु रोग, क्यान्सर र मधुमेहको जोखिम घटाउँछ ।

मधुमेह नियन्त्रणमा सहयोगी  :  यिनीहरूको कम ग्लाइसेमिक इन्डेक्स (जीआई)को कारण, कोदोजन्य अन्नहरूले रगतमा चिनीको मात्रालाई बिस्तारै बढाउँछन् । जसले गर्दा मधुमेहका रोगीहरूका लागि यी अन्नहरू निकै लाभदायक मानिन्छन् ।
खाद्य सुरक्षामा कोदोजन्य परिकारको भूमिका
खाद्य सुरक्षा  :   खाद्य सुरक्षा भन्नाले सबै मानिसलाई, सबै समयमा, पर्याप्त, सुरक्षित र पौष्टिक खाना उपलब्ध हुनु भन्ने बुझिन्छ । जसले उनीहरूको सक्रिय र स्वस्थ जीवनशैलीको लागि आवश्यक आहार आवश्यकताहरू पूरा गर्न सकोस् । नेपालमा कोदोजन्य अन्नहरूले खाद्य सुरक्षा सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्छन् ।

जलवायु परिवर्तन प्रतिरोधी बाली :  कोदो, फापरजस्ता अन्न सुक्खा सहने, कम पानी चाहिने र विभिन्न प्रतिकूल मौसममा पनि फल्न सक्ने क्षमता राख्छन् । जलवायु परिवर्तनले कृषिमा पार्ने नकारात्मक प्रभावलाई मध्यनजर गर्दा यस्ता बालीहरू खाद्य संकटको अवस्थामा पनि उत्पादन दिन सक्ने भएकाले खाद्य सुरक्षाका लागि अति आवश्यक छन् । यिनीहरूले माटोको उर्वरतालाई पनि कायम राख्न मद्दत गर्छन्, जसले दिगो कृषि प्रणालीलाई बढावा दिन्छ ।

सीमान्तकृत भूमिको उपयोग  :  नेपालको ठूलो भूभाग पहाडी र उच्च पहाडी क्षेत्रमा पर्छ । जहाँ अन्य प्रमुख बालीहरू जस्तै धान र गहुँको उत्पादन गर्न कठिन हुन्छ । यस्ता सीमान्तकृत र सुक्खा भूमिमा पनि कोदोजन्य अन्नहरू सजिलै उत्पादन गर्न सकिन्छ । जसले कृषि उत्पादनको क्षेत्र विस्तार गरी स्थानीय स्तरमा खाद्य उपलब्धता सुनिश्चित गर्छ ।

आर्थिक सुरक्षा र रोजगारी  :  स्थानीय स्तरमा कोदोजन्य अन्नहरूको खेती र प्रशोधनले ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गर्छ । किसानहरूको आर्थिक अवस्था सुदृढ गर्न मद्दत गर्छ । यसले स्थानीय अर्थतन्त्रलाई टेवा पुर्‍याउँछ र ग्रामीण समुदायलाई आत्मनिर्भर बनाउँछ ।

पोषण सुरक्षा  :  नेपालमा अझै पनि कुपोषण एक प्रमुख जनस्वास्थ्य समस्या हो । विशेषगरी, बालबालिका र महिलाहरूमा कुपोषणको समस्या बढी देखिन्छ । कोदोजन्य अन्नहरूमा पाइने उच्च पोषण मूल्यले कुपोषणसँग लड्न र पोषण सुरक्षा सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । यिनीहरूले आवश्यक सूक्ष्म पोषक तत्त्वहरूको कमीलाई पूरा गर्न मद्दत गर्छन् ।

स्वस्थ जीवनमा कोदोजन्य परिकारको योगदान कोदोजन्य अन्नहरूले विभिन्न स्वास्थ्य लाभहरू प्रदान गरी स्वस्थ जीवनशैली प्रवद्र्धन गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउँछन् । जसमा निम्न 
बुँदाहरू उल्लेख छन् ।

पुरानो रोगहरूको रोकथाम : नियमित रूपमा कोदोजन्य परिकारको सेवनले मधुमेह, मुटु रोग, मोटोपना र केही प्रकारका क्यान्सरजस्ता दीर्घकालीन रोगहरूको जोखिम कम गर्न मद्दत गर्छ । यिनीहरूको उच्च फाइबर, एन्टिअक्सिडेन्ट र कम ग्लाइसेमिक इन्डेक्सले यी रोगहरूका लागि सुरक्षा कवचको काम गर्छ ।
पाचन स्वास्थ्यमा सुधार : फाइबरको उच्च मात्राले पाचन प्रणालीलाई स्वस्थ राख्छ, नियमित आन्द्रा चाल सुनिश्चित गर्छ र कब्जियतजस्ता समस्याहरूबाट मुक्ति दिलाउँछ । यसले आन्द्राको माइक्रोबायोमलाई पनि स्वस्थ राख्छ, जसले समग्र स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ ।

हड्डीको स्वास्थ्य : क्याल्सियमको राम्रो स्रोत भएकाले कोदोजन्य अन्नहरूले हड्डीलाई बलियो बनाउन र ओस्टियोपोरोसिसजस्ता हड्डीसम्बन्धी रोगहरूको जोखिम कम गर्न मद्दत गर्छन् ।

रक्तअल्पताको रोकथाम  :  फलामको राम्रो स्रोत भएकाले यिनीहरूले रक्तअल्पता (एनिमिया)को रोकथाम र उपचारमा महत्त्वपूर्ण भूमिका खेल्छन् । जुन विशेषगरी महिला र बालबालिकाहरूमा सामान्य समस्या हो ।

रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि  :  यिनीहरूमा पाइने भिटामिन र खनिजहरूले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई बढाउन मद्दत गर्छन् । जसले गर्दा शरीर विभिन्न संक्रमण र रोगहरूसँग लड्न सक्षम हुन्छ । 

कोदोजन्य परिकारको महत्त्व बढ्दै गए पनि यिनको उत्पादन, प्रशोधन र उपभोगमा केही चुनौती छन्  : 
जागरुकताको कमी  :  धेरै मानिसलाई कोदोजन्य अन्नहरूको पौष्टिक मूल्य र स्वास्थ्य लाभबारे पर्याप्त जानकारी छैन । सहरी क्षेत्रमा आधुनिक र तयारी खानाको बढ्दो प्रभावले पनि यस्ता परम्परागत अन्नहरूको उपभोग कम भएको छ ।
प्रशोधन र बजारीकरणको अभाव  :  कोदोजन्य अन्नहरूको प्रशोधनका लागि आधुनिक प्रविधि र उपकरणको अभाव छ । साथै, यिनको बजारीकरण र वितरण प्रणाली पनि प्रभावकारी छैन, जसले गर्दा किसानहरूले उचित मूल्य पाउँदैनन् ।
सरकारी नीतिको अभाव  :  परम्परागत अन्नहरूको प्रवद्र्धनका लागि स्पष्ट र दीर्घकालीन सरकारी नीतिको अभाव छ ।

निष्कर्ष : मुलुकको कोदोजन्य परिकार खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार हो । यसले स्वस्थ आहार, पर्यावरणीय अनुकूलता, सांस्कृतिक संरक्षण र आर्थिक सुदृढीकरणमा ठूलो भूमिका खेलेको छ । कोदोका गुण र महत्त्व अनुरूप यसको उत्पादन, प्रवद्र्धन र उपभोग बढाउनु नेपालका लागि दीर्घकालीन खाद्य तथा पौष्टिक सुरक्षा सुनिश्चित गर्ने उत्तम उपाय पनि हो ।



 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.