उफ, टाउको दुख्यो !
उफ, टाउको दुख्यो ! भन्दै धेरै जना पिरोलिएको देखेको वा अनुभव गरेका हुन्छौं । जीवनमा टाउको दुखाइको समस्या प्रायः सबैले अनुभव गरेका हुन्छौं । टाउको दुखाइका कारण धेरै हुन्छन् । टाउकोमा लागेको चोटपटक, टाउको ठोक्किएको अवस्था वा टाउकोमा चोटपटक लागेर पनि टाउको दुख्न सक्छ । टाउकोसँगैका अन्य अंग आँखा, कान, नाक आदिमा कुनै समस्याले पनि टाउको दुख्न सक्छ । शरीरमा संक्रमण हुँदा, ज्वरो आउँदा, ट्युमर पलाउँदा वा उच्च रक्तचाप आदिको कारणले पनि टाउको दुख्ने हुन्छ । यसका साथै विभिन्न मानसिक रोग जस्तै डिप्रेसन, एन्जाइटी आदिका कारण म पनि टाउको दुख्ने समस्या देखा पर्छ ।
अहिले चर्चा गर्न लागिएको सन्दर्भ तनावपूर्ण टाउको दुखाइ (टेन्सन हेडेक) को हो । यस प्रकारको टेन्सन हेडेकको समस्या दुई प्रकारका हुन्छन् ।
– आवधिक तनावका कारण हुने टाउको दुखाइ ( इपिसोडिक टेन्सन टाइप हेडेक) : यसमा व्यक्तिलाई टाउको दुखाइ ३० मिनेटदेखि एक हप्तासम्म रहन्छ । यस्तो दुखाइ महिनामा १५ दिनभन्दा कम अवधि रहन्छ ।
– दीर्घकालीन तनावका कारण हुने टाउको दुखाइ (क्रोनिक टेन्सन टाइप हेडेक) : यसमा व्यक्तिलाई टाउको दुखाइ घण्टौंसम्म रहन्छ । यस्तो दुखाइ महिनामा १५ दिनभन्दा बढी अवधिसम्म रहन सक्छ । माइग्रेन टाउको दुखाइ पनि यसअन्तर्गत पर्छ ।
कारण के हो ?
वास्तविक कारण यही हो भनेर भन्न नसकिए पनि यसको मुख्य सुरुवाती कारण तनाव (स्ट्रेस) नै हो । टाउको, अनुहार, घाँटी आदिमा रहेका मांसपेशीमा उत्पन्न भएको तनाव आदि टाउको दुखाइका अन्य कारण हुन सक्छन् । दुखाइ कम गर्ने औषधिको प्रयोगले पनि टाउको दुखाइ बढ्छ । त्यसैले चिकित्सकको सल्लाहबमोजिम औषधि सेवन गर्नुपर्छ । अत्यधिक कफी, धूमपान, मापसे र अनियमित वा कम सुताइले पनि टाउको दुख्छ ।
लक्षण के हुन्छ ?
महिनामा प्रायःजसो हल्का भारीपन हुने, साँझपख बढी दुख्ने र सुतेर उठ्दा आराम हुने यसका प्रमुख लक्षण हुन् । प्रायःजसो दुखाइ टाउकाको जुनसुकै भागमा हुन सक्छ । यसको दुखाइ बल्किने वा कडा हुँदैन । र, बान्ता पनि हुँदैन ।
उपचार र रोकथाम के छ ?
यो रोगको उपचार चिकित्सकको सल्लाहमा औषधि सेवनबाट हुन सक्छ । अन्य उपचार विधिमा परामर्श सेवा (काउन्सिलिङ), बायोफिडब्याक टे«निङ, कग्निटिभ विहेभियर थेरापी, रिल्याक्सेसन एक्सरसाइज टेक्निक आदि उपलब्ध छन् ।
स्वस्थ जीवनशैली अपनाउने, रातमा पर्याप्त निद्रा पुर्याउने, मद्यपान, धूमपान नगर्ने, नियमित सन्तुलित भोजन गर्ने, प्रशस्त पानी पिउने र शारीरिक व्यायाम गर्ने बानीले यो रोगलाई रोकथाम गर्न सहायता मिल्छ ।
प्रतिक्रिया दिनुहोस !