नेपाल-चीन कूटनीतिक सम्बन्धको ७०औं वार्षिकोत्सव

नेपाल-चीनबीचको सम्बन्ध मजबुत बनाउने प्रतिबद्धतासहित उच्चस्तरीय बधाई सन्देश आदानप्रदान

नेपाल-चीनबीचको सम्बन्ध मजबुत बनाउने प्रतिबद्धतासहित उच्चस्तरीय बधाई सन्देश आदानप्रदान
सुन्नुहोस्

काठमाडौं : नेपाल र जनवादी गणतन्त्र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वार्षिकोत्सवको अवसरमा दुवै देशका शीर्ष नेताहरूबीच बधाई सन्देश आदानप्रदान गरिएको छ। दुई देशबीचको ऐतिहासिक पृष्ठभूमि, हालसम्मको प्रगति र भविष्यका सम्भावनाहरूको प्रतिबद्धतासहितका सन्देशहरूले द्विपक्षीय मित्रतालाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ। 

राष्ट्रपति रामचन्द्र पौडेलले चिनियाँ समकक्षी राष्ट्रपति सी जिनपिङलाई पठाएको सन्देशमा दुई देशबीचको पारस्परिक विश्वास, सार्वभौम समानता र शान्तिपूर्ण सहअस्तित्वमा आधारित सम्बन्धप्रति सन्तोष व्यक्त गर्दै सहकार्यलाई अझ फराकिलो बनाउन इच्छाशक्ति व्यक्त गरेका छन्।

त्यसको प्रत्युत्तरमा राष्ट्रपति सी जिनपिङले नेपालका राष्ट्रपतिको नाममा पठाएको सन्देशमा दुई देशबीचको परम्परागत मित्रता, समान व्यवहार र सहअस्तित्वको उदाहरणीय सम्बन्धको प्रशंसा गरे। उनले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरई)मार्फतको संयुक्त निर्माण, पारस्परिक राजनीतिक विश्वास र विभिन्न क्षेत्रमा सहयोगलाई भविष्यमा अझ गहिरो बनाउने अठोट व्यक्त गरे।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली छियाङलाई छुट्टाछुट्टै सन्देश पठाउँदै, विगत सात दशकदेखि नेपाल-चीन सम्बन्ध शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तमा आधारित रही समस्यारहित रूपमा अघि बढिरहेको उल्लेख गरेका छन्।

प्रधानमन्त्री ओलीले २०१९ मा भएको चीन राष्ट्रपतिको नेपालको राजकीय भ्रमण र आफ्ना तीनवटा चीन भ्रमणलाई स्मरण गर्दै उच्चस्तरीय भ्रमणले राजनीतिक विश्वास सुदृढ पार्नुका साथै पूर्वाधार, कृषि, स्वास्थ्य, व्यापार, ऊर्जा, विपद् व्यवस्थापनजस्ता क्षेत्रमा सहयोगलाई गति दिएको बताए। उनले विगतका सम्झौताहरू कार्यान्वयनमा नेपाली पक्षको दृढता दोहोर्‍याउँदै, 'समृद्ध नेपाल, सुखी नेपाली' अभियानमा चीनको साथलाई अवसरका रूपमा लिएको उल्लेख गरे।

चिनियाँ प्रधानमन्त्री ली छ्याङले पनि नेपालका प्रधानमन्त्रीलाई बधाई दिँदै बेल्ट एण्ड रोड सहयोग, रणनीतिक साझेदारी र स्थायी मित्रता निरन्तर अघि बढाउने चाहना व्यक्त गरे। 

त्यस्तै परराष्ट्र मन्त्री आरजु राणा देउवाले चिनियाँ समकक्षी वाङ यीलाई पठाएको सन्देशमा नेपालको विकास प्रयासमा चीनको सहयोगको सराहना गरेकी छन्। उनले सीमापार जलवायु खतराविरुद्ध लचिलोपन निर्माण, पारिस्थितिक र सामाजिक क्षेत्रमा सहकार्यको प्रसार गर्ने लक्ष्य राखिएको उल्लेख गरेकी छन्। चिनियाँ विदेश मन्त्री वाङ यीले नेपालसँगको लामो समयदेखिको पारस्परिक सम्मान र लाभदायक सहकार्यको प्रशंसा गर्दै, दुई देशबीचको रणनीतिक साझेदारीलाई थप गहिरो बनाउने बताएका छन्।

यसैबीच बेइजिङस्थित नेपाली दूतावासले पनि एक विशेष स्वागत समारोह आयोजना गरेको छ। समारोहमा चीनको राष्ट्रिय जन कांग्रेस (एनपीसी) स्थायी समितिका उपाध्यक्ष महामहिम सियाओ जी प्रमुख अतिथिको रूपमा सहभागी भए।

कार्यक्रममा नेपालका राजदूत डा. कृष्णप्रसाद ओलीले दुई देशबीचको ऐतिहासिक, मैत्रीपूर्ण र सहयोगमूलक सम्बन्धबारे प्रकाश पार्दै नेपालले एक-चीन नीतिप्रति पूर्ण प्रतिबद्धता जनाउने र नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने अडान दोहोर्‍याए। उनले शान्तिपूर्ण सहअस्तित्व, पारस्परिक विश्वास र समझदारीमा आधारित सम्बन्ध निरन्तर सुदृढ भइरहेको उल्लेख गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.