पार्टी पुनर्गठन र पुस्तान्तरणको बहसले माओवादीभित्र फेरि चर्कियो मतभेद
किन बल्झिरहन्छ प्रचण्ड - जनार्दनबिचको विवाद ?
काठमाडौं : माओवादी केन्द्रभित्र पछिल्ला दिनहरूमा नेतृत्वको स्वरूप, संगठनको संरचना र पार्टीको भावी दिशा–निर्देशन बारेको बहस सतहमा आएको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्माबीचको विचारगत अन्तरले नेतृत्व हस्तान्तरण, पार्टी पुनर्गठन र पुस्तान्तरणको बहसलाई थप चरम रूप दिएको छ।
पार्टी महाधिवेशन नजिकिँदै गर्दा यी विषय केन्द्रीय बन्न पुगेका छन्। शुक्रबार सुरु भएको स्थायी कमिटी बैठकमा नेतृत्व हस्तान्तरणको विषय केन्द्रमा छ। उपमहासचिव शर्माले विगतदेखि नै उठाउँदै आएको नेतृत्व सन्दर्भ फेरि एकपटक गहिरिएर बाहिरसम्मै आएको हो। अध्यक्ष प्रचण्ड र शर्माबीचको बहस सार्वजनिक मञ्चमा समेत पुग्न थालेपछि पार्टीभित्रको अन्तरसंघर्ष अब केवल आन्तरिक नरहेर आम चासोको विषय बनेको छ।
विचार, प्रक्रिया र नेतृत्वको बहस
शर्माले स्थायी कमिटी बैठकमा प्रस्तुत गरेको १४ पृष्ठ लामो दस्तावेजमा पार्टी पुनर्गठनको खाका प्रस्तुत गरिएको छ। त्यसमा पार्टीको आन्तरिक संरचना, विधि र नीति निर्माणमा देखिएको अपारदर्शिता, नेतृत्वको एकलाधिकार र सांगठनिक स्खलनबारे गम्भीर प्रश्न उठाइएका छन्। शर्माको तर्क छ— माओवादी केन्द्रले जनताको विश्वास पुन : आर्जन गर्न संगठनभित्र ठूला सुधार आवश्यक छ।
अर्का उपमहासचिव गिरिराजमणि पोखरेलले शर्माले उठाएका सवालमा अध्यक्ष प्रचण्डले परामर्श बैठक बसेर छलफलबाटै निकास निकाल्ने बताए। ‘अध्यक्षले यसअघि नेता शर्माले उठाउनुभएका विषयहरू परामर्श बैठकबाट सम्बोधन गर्नुभयो। पार्टीभित्रको एकतालाई बलियो बनाउन सबैमा अध्यक्षले आग्रह गर्नुभएको छ’, बैठकमा प्रचण्डले बोलेका विषयलाई समेत उद्धृत गर्दै पोखरेलले भने, ‘स्थायी कमिटी बैठकमा सबै नेताहरूले कुरा राख्नुहुन्छ। त्यसमा जनार्दनजीले पनि आफ्नो कुरा राख्नुहोला। त्यसपछि कुनै
निचोड आउने छ।’
मतभेद : आत्मसमीक्षा र अनुशासनबीचको दोधार
अध्यक्ष प्रचण्डले भने सार्वजनिक अभिव्यक्तिमा संयम आवश्यक रहेको तर्क गरेका छन्। स्थायी कमिटी बैठकको सुरुआतमै बोल्दै उनले भने, ‘पार्टीभित्र छलफल र बहसको ठाउँ छ, तर सार्वजनिक मञ्चमा उठाइएका केही अभिव्यक्तिले अनुशासनको सीमा नाघेको देखिन्छ।’
उनले संगठनभित्र अनुशासन कायम राख्दै बहसको सीमा तय हुनुपर्नेमा जोड दिएका छन्। उता शर्माको भनाइमा, बहसबिना परिवर्तन सम्भव छैन। सार्वजनिक छलफल र बहस नै माओवादीको मूल चरित्र हो। यसबीच उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले स्थायी कमिटी बैठकपछि प्रतिक्रिया दिँदै पार्टीमा सुधार र पुनर्संरचनाको खाँचो भएको बताए।
उनले भने, ‘हामी विधि, प्रक्रिया र मूल्यका आधारमा अगाडि बढ्नुपर्छ। तर, पार्टी फुट्ने कुरा बेबास्ता गर्नुपर्छ। हामीभित्र बहस हुन्छ, निर्णय पनि हुन्छ।’
उनको भनाइले पार्टीभित्र परिवर्तनको आवाजलाई अस्वीकार नगरे पनि फुटको सम्भावनालाई अस्वीकार गर्छ। यसै बैठकमा गुटीय गतिविधि अन्त्य गर्न पार्टी अध्यक्षले प्रस्ताव अघि सारेको र त्यसमा नेताहरू एकमत भएको सापकोटाले जानकारी दिए।
केन्द्रीय सदस्य राजु खड्काले लोकतान्त्रिक पार्टीभित्र नेतृत्व हस्तान्तरण, पार्टी भित्रको विधि र नीतिको कुरा हुनु स्वाभाविक रहेको बताए। उनले भने, ‘पार्टीभित्र कुनै पनि विषयमा मत, मतान्तर हुनु स्वाभाविक हो। तर, नेतृत्वको निर्माण तथा नीति परिवर्तन भने महाधिवेशनबाट हुन्छ।’ खड्का भन्छन्, ‘जनार्दनजीले प्रचण्डको विकल्प म हुँ भनेर भन्नुभएको छैन।’ पार्टीको नेतृत्व लिन विचार, सिद्धान्त र नेपाल निर्माणको रोडम्यापसहित आउनुपर्ने उनको धारणा छ।
उनी थप्छन्, ‘प्रचण्डले गणतन्त्र, समावेशी समानुपातिक, धर्म निरिपेक्षताजस्ता विषयमा स्पष्ट नीति, विचार र कार्यनीति लिएर आउनुभयो। त्यसले उहाँ पार्टी अध्यक्ष बन्नुभयो। अब त्यसैगरी अरू पनि आउनुपर्छ। कोरा मान्छेलाई पुस्तान्तरण भन्दै बिना रोड म्याप पार्टीको नेतृत्व हस्तान्तरण गर्ने कुरा हुँदैन।’
पार्टी फुट्ने हल्लाप्रति शर्मासमेत चिन्तित छन्। ‘दुई वर्षदेखि माथिल्लो तहबाटै लगातार पार्टी फुट्छ भन्ने गरिएको प्रचारलाई यतिबेला थप मलजल गर्दै कार्यकर्ता र जनतामा भ्रमको खेती गर्नेहरूप्रति सचेत हुन आग्रह गर्दछु’, उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘गत वर्ष सबै प्रदेशहरूमा भएको परामर्श बैठकपश्चात् केन्द्रीय समितिको बैठकमा भएको बहस र निर्णयअनुसार असारदेखि प्रारम्भ गरेर ६ महिनाभित्र अर्थात् मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको सन्दर्भमा अब पार्टीका एजेन्डा केन्द्रित बहस गरौं। जसले पार्टीको पुनर्गठन, सुदृढ र व्यवस्थित गर्न मद्दत पुग्नेछ।’
महाधिवेशन सार्न पार्टीभित्र आफूविरुद्ध भ्रमकोे खेती नगर्न उनले नेतृत्वलाई चेतावनी दिएका छन्।
नेतृत्व विकल्पको बहस
माओवादी केन्द्रभित्र नयाँ र पुराना पुस्ताबीचको मतभेद बढ्दै गएको संकेत देखिन्छ। केही नेताहरूले लामो समयदेखि एकै नेतृत्वका कारण पार्टीको आकर्षण घट्दै गएको तर्क गरिरहेका छन्। पार्टीको लोकप्रियता विगत दुई दशकमा घटिरहेको जनमतले सँगसँगै देखाएको छ।
२०६४ को संविधानसभा चुनावमा पार्टीले ३१ लाखभन्दा बढी समानुपातिक मत पाएको थियो। २०७९ मा त्यो घटेर ११ लाखमा सीमित भएको छ। उपमहासचिव शर्माले यही तथ्यांकको सन्दर्भ दिँदै पार्टीले आत्मसमीक्षा गर्नुपर्ने बताएका छन्।
प्रक्रियागत नेतृत्व हस्तान्तरणको माग
उपमहासचिव शर्माले नेतृत्वमा मात्र होइन, पार्टीको संरचनामा नै निर्वाचन प्रणाली प्रभावकारी रूपमा लागू गर्नुपर्ने माग राख्दै आएका छन्। वडास्तरदेखि शीर्ष नेतृत्वसम्म प्रतिस्पर्धात्मक चयन प्रक्रिया अपनाउनुपर्ने उनले बताएका छन्। उनका अनुसार नेतृत्व परिवर्तन केवल नाम फेरबदल होइन, सोच र कार्यशैली परिवर्तन पनि हो।
केही केन्द्रीय सदस्य भने नेतृत्व परिवर्तन केवल भावना वा असन्तुष्टिले प्रेरित हुनु नहुने धारणा राख्छन्। उनीहरूको भनाइमा, नेतृत्वमा आउने व्यक्ति वैचारिक स्पष्टता, रोडम्याप र जनअपेक्षासँग मेल खाने हुनुपर्छ।
महाधिवेशन : अन्योल र आशंका
२०८१ साउनको केन्द्रीय समिति बैठकले पुसमा महाधिवेशन गर्ने निर्णय गरे पनि त्यसका लागि ठोस तयारी सुरु भएको छैन। महाधिवेशनको मिति टुंगो नलागेकामा शर्माले सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्।
उनले विशेष महाधिवेशन गरेर तत्काल नेतृत्व विषय टुंग्याउनुपर्नेमा जोड दिएका छन्।
उता, अध्यक्ष प्रचण्ड पक्षले विशेष महाधिवेशनको मागलाई पार्टी फुटाउन खोजिएको भनेर व्याख्या गर्ने गरेका छन्। नेताहरूले पार्टी अध्यक्षको ढिलासुस्तीका कारण कार्यकर्तामा अन्योल बढेको बताएका छन्।
भ्रम र विश्वासबीच झुल्दो पार्टी
उपमहासचिव शर्माले विगतदेखि नेतृत्वमा आफूले दाबी नगरेको स्पष्ट पार्दै आएका छन्। तर, विभिन्न अवसरमा उनले नेतृत्वको कार्यशैली र नीतिगत अस्पष्टताको आलोचना गर्दै आएका छन्। उनको भनाइमा, ‘पार्टीको भावी नेतृत्व केवल ट्याग लगाएर दिने कुरा होइन, जिम्मेवारी सहितको प्रक्रियाबाट आउनुपर्छ।’
भिजिट भिसा प्रकरणदेखि पार्टीको सरकारमा सहभागितासम्मका विषयमा उनले असहमति जनाएका छन्। उनले आन्तरिक निर्णयहरूमा गम्भीर आत्मसमीक्षाको खाँचो औंल्याएका छन्।
प्रचण्डको धारणा : समीक्षा र आत्मसुधार आवश्यक
पार्टी अध्यक्ष प्रचण्डले पनि विचार, वर्ग र सिद्धान्तमा समीक्षा आवश्यक रहेको बताएका छन्। गत कात्तिकमा एक कार्यक्रममा बोल्दै उनले भनेका थिए, ‘कम्युनिस्ट पार्टीले आत्मसमीक्षा नगरे आन्दोलन कमजोर हुन्छ। परिवर्तनको प्रक्रिया त्यहीँबाट सुरु हुन्छ।’
उनले नेतृत्व कसैले दिने होइन, वर्गप्रतिका निष्ठा र विचारले निर्माण हुने विषय भएको बताएका थिए। तर, समीक्षासँगै परिवर्तन कसरी र कहिले भन्ने स्पष्टता भने अझै देखिएको छैन।
प्रतिक्रिया दिनुहोस !